महामारीमा ‘संगीत थेरापी’

सर्जकहरू भन्छन्, ‘कोरोनाले समाज बिथोलिएका बेला मानसिक स्वास्थ्य र आत्मबल दह्रिलो बनाउन संगीतले योग–साधनाकै काम गर्न सक्छ ।’
सुशीला तामा‌ङ

काठमाडौँ — कोरोना महामारीका कारण समाजको लय बिथोलिएको छ । लकडाउन केही खुकुलिए पनि त्रास घटेको छैन ।

मानिसहरू घरभित्रै गुम्सिएका छन् । यस्तोमा मानसिक शान्ति बिथोलिने जोखिम पनि उत्तिकै रहन्छ । त्यसैले विज्ञहरू शारीरिक तन्दुरुस्तीसँगै आत्मबल पनि दह्रो बनाउन सुझाइरहेछन् । तर, आत्मबल बढाउने कसरी ?

‘संगीत पनि आत्मबल बढाउने बलियो माध्यम हुन सक्छ,’ गीतकार कृष्णहरि बराल भन्छन् । उनका अनुसार संगीतमा मनको गहिराइसम्म पुगेर भावनालाई तरंगित बनाउने शक्ति हुने भएकाले यसले मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न पनि भूमिका खेल्छ ।

त्यसो त संगीतको ताल र धुनमा नझुम्ने मनहरू विरलै हुन्छन् । साधकहरूले त्यसलाई विज्ञ–दृष्टिले हेर्छन्, श्रोताहरूले केवल मनोरञ्जन लिन्छन् । फरक यत्ति हो ।

लामो सांगीतिक यात्रामा बरालले मनहरूलाई झकझक्याउने थुप्रै राष्ट्रिय, आधुनिक गीत तथा गजल सिर्जना गरिसकेका छन् । शब्द र ध्वनि जुनसुकै माध्यमले भए पनि संगीतलाई मनसँग जोडे मानसिक स्वास्थ्यलाई अनुकूल हुने उनी बताउँछन् ।

सर्जकको खुबी नै हो, समयअनुसारको अनुभवलाई शब्दमा उतार्नु । बरालले यो परिस्थितिलाई आफ्नो सिर्जनामा यसरी ढालेका छन्–

‘अँध्यारो छ भित्र, अँध्यारै छ बाहिर

मेरो जिन्दगीमा खुसी छैन सायद

सबै भन्दछन् घामछायाँ हो जीवन

म भन्छु तर यो पनि हैन सायद...।

‘कोरोनाको त्रास र लामो लकडाउनले मानिसको जीवन अस्तव्यस्त भएको छ, अँध्यारोले मानिसहरूको खुसी विलय हुन थालेको छ,’ उनले भने, ‘यस्तो परिस्थितिमा संगीत नै एक मात्र सहारा हुन सक्छ ।’

संगीतकार राजु सिंह संगीतलाई ध्यान र साधनाका रूपमा लिन्छन् । उनी भन्छन्, ‘म चुप लागेर बस्दा पनि संगीतसँग हुन्छु, उत्साहमा संगीतको तालमा रमाउँछु दुःख–आवेगमा यसकै सहरामा भुल्ने गर्छु ।’ सिंहको बुझाइमा संगीत जीवनलाई सही मार्गनिर्देशन गर्ने र पाठ सिकाउने अलौकिक शक्ति हो । स्वास्थ्यका दृष्टिले हेर्ने हो भने यो एउटा योग नै हो ।

अर्का संगीतकार तथा गायक तिलकसिंह पेला संगीतलाई नैराश्यबाट छुटकारा दिलाउने सशक्त माध्यम मान्छन् । ‘मन र शरीरलाई एकत्रित गराउन संगीतले थेरापीको काम गर्छ,’ उनले भने, ‘मानिसको खालिपनमा सांगीतिक धुनले आनन्द भरिदिन्छ ।’

मानिसले विभिन्न प्राकृतिक विपत्तिको सामना गरिरहनुपर्छ । यस्तोमा मानसिक स्वास्थ्य बिथोलिन नदिन संगीतले महत्त्वपूर्ण भूमिका खेल्ने पेलाको बुझाइ छ । पहिले प्रायः समय प्रशिक्षार्थीहरूसँग बिताउने उनी अहिले पनि आफूलाई एक्लो महसुस गर्दैनन् । संगीतको धुनसँगै दिन बित्छ । ‘म अधिकांश समय संगीतमै रमाउँछु । मलाई यसैमा आनन्द मिल्छ र आत्मालाई छुने गर्छ’, उनी भन्छन् ।

गीतकार बराल संगीत प्रकृतिबाट पनि सुन्न सकिने बताउँछन् । ‘चराचुरुंगीको चिरबिर, खोलानाला, झरना, विभिन्न वस्तुका आवाजबाट पनि मानिसले संगीतका धुन सुनिरहेका हुन्छन्,’ उनले भने, ‘प्रकृतिका यी धुनले पनि मानिसको पीडामा धेरै राहत मिल्न सक्छ, अहिलेको सबैभन्दा उत्तम विकल्प नै संगीत हो ।’

बरालकै धारणामा सही थप्दै गायक तथा संगीतकार राजनराज शिवाकोटी संगीतलाई समयविशेषमा सिर्जना गरिएको धुनमा मात्र सीमित गर्न नहुने बताउँछन् । उनको बुझाइमा मानिसले दुःख पर्दा, खुसी र उत्साहमा पनि संगीतको सहारा खोजिरहेको हुन्छ । लकडाउनमा पनि आफूलाई संगीत सिर्जना र गीत रेकर्डिङमा ‘इंगेज’ राखेका शिवाकोटी भन्छन्, ‘संगीत मनलाई छुन सक्ने र मानसिक सन्तुलन कायम गर्न सक्ने माध्यम हो । त्यसैले अहिले फुर्सदमा पनि यसैको सहारामा छु ।’

संगीतकार सिंह संगीतको कुनै सिमाना नहुने भएकाले यो जीवनका अनुभूति बटुल्ने र विश्वपरिवेश नियाल्ने माध्यमसमेत रहेको ठान्छन् । नेपाली गीतसंगीतले माटो सुहाउँदो स्तरसँगै विश्वमा पनि जानुपर्ने उनको राय छ । ‘संगीतलाई जति फराकिलो र स्तरीय बनायो त्यति नै यसमा चिन्तन र जीवनको शान्ति मिल्छ,’ सिंहले भने ।

गीतकार बरालले उनको कुरामा सही थपे, ‘संगीतको सामर्थ्यले मनको आवेगलाई नियन्त्रण गर्दै सत्य भावनात्मक कुरा जागृत गराउन सक्छ ।’

प्रकाशित : असार १२, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्

जोखिम क्षेत्रका बस्ती अझै त्यहीँ

विशेषज्ञ टोलीले २०७२ को भूकम्पबाट अति प्रभावितमध्ये पाँच जिल्लाका डेढ लाख घर पहिरोको उच्च जोखिममा रहेको औंल्याउँदै उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने सुझाएको थियो ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा पहिरोको समस्या निम्तिन थालेको छ । वर्षभरिमा ८० प्रतिशत वर्षा मनसुन अवधि (साढे तीन महिना) मा हुने भएकाले पनि यो बेला पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च हुन्छ ।

राष्ट्रिय विपद् व्यवस्थापन जोखिम न्यूनीकरण प्राधिकरणले पछिल्लो एक सातामा ३४ ठाउँ पहिरो गइसकेको जनाएको छ । नेपाल भौगोलिक समाजका अध्यक्ष नरेन्द्रराज खनालका अनुसार पहाडमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्पलगायत हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा, भू–उपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।

‘भूकम्पले बढी हल्लाएको र धाँजा पारेका स्थान अहिले पनि पहिरोको जोखिममा छन्,’ उनले कान्तिपुरसित भने, ‘९९ प्रतिशत पहिरो मनसुनमा जाने भएकाले खतरा धेरै छ । बाहिर ठीकठाकजस्तो जमिन देखिए पनि भित्री भाग कमजोर हुने भएकाले पहिरोको जोखिम उत्तिकै हुन्छ ।’

२०७२ सालको भूकम्पले बढी प्रभावित १७ वटा जिल्ला अहिले पनि पहिरोको जोखिममा रहेको उनको विश्लेषण छ । ‘भूकम्पको कयौं वर्षपछिसम्म पहिरोको जोखिम उत्तिकै हुन्छ, खनाल भन्छन्, ‘जोखिमयुक्त भनेर पहिचान गरिएका स्थानको जोखिम न्यूनीकरण गर्नेतिर बेलैमा ध्यान दिइएन भने विकराल स्थिति आउँछ ।’

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले भूकम्पलगत्तै विशेषज्ञ परिचालन गरी सबभन्दा बढी प्रभावित जिल्लाका बस्तीबारे विस्तृत अध्ययन गरेको थियो । अध्ययनले अति प्रभावित पाँच जिल्लामा डेढ लाख घर पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । अध्ययनको निष्कर्ष थियो– गोरखा, धादिङ, दोलखा, रसुवा र सिन्धुपाल्चोकका १ लाख ५५ हजार २ वटा घर पहिरो र ‘डेभ्रिज’को उच्च जोखिममा छन् । यही आधारमा विज्ञहरूले तत्काल सतर्कता अपनाउन सरकारलाई सुझाएका थिए । तर ५ वर्षसम्म जोखिम पहिचान भएका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छैन ।

प्राध्यापक खनालसहित अरुणभक्त श्रेष्ठ, समजवलरत्न वज्राचार्य र युनिभर्सिटी अफ एरिजोनाका जेफ्री एस कार्गेललगायत विशेषज्ञ उक्त अध्ययनमा सहभागी थिए । ‘ती जिल्लामा पहिरो, डेभ्रिजको जोखिम अहिले पनि छ,’ खनाल भन्छन्, ‘बस्ती सुरक्षित स्थानमा स्थानान्तरण नगरिएसम्म समस्या भइरहन्छ, पहिरो छैन भनेर चुप लागेर बस्ने होइन ।’

उक्त अध्ययनअनुसार धादिङका री, झार्लाङ, दार्खा, दोलखाको गौरीशंकर, गोरखाका काशीगाउँ, केरौंजा, लाप्राक र लापु, रसुवाका लाङटाङ, गोलजुङ, राम्चे र डाँडागाउँ तथा सिन्धुपाल्चोकका भोताङ, धुस्कुन, राम्चे, तातोपानी, अत्तरपुर, गुन्सा, महाँकाल र थाकनीका ५० प्रतिशतभन्दा बढी घर धेरै जोखिममा छन् ।

ती स्थानमा अहिले पनि भीमकाय पहिरो जाने तथा आसपासका नदीसमेत थुनिने र ताल फुट्दा ठूलो धनजनको क्षति हुन सक्ने आँकलन गरिएको छ । भूकम्पपछि इसिमोडले प्रभावित १७ जिल्लामा ५ हजार १ सय ५९ वटा पहिरो पहिचान गरेको थियो । जसअनुसार धादिङमा गोल्छिना र झार्लाङ, दोलखामा मैलुङ, गोरखामा कुलगाउँ, रामेछापमा घ्याप्चे, रसुवामा राम्चे र लाङटाङ, सिन्धुपाल्चोकको मार्मिङमा ठूला पहिरोको सम्भावना छ ।

बस्तीसँगै ठूला संरचना, विद्युत् आयोजनासमेत पहिरोको जोखिममा छन् । जसअनुसार धादिङको आँखुखोला, सिन्धुपाल्चोकका बराम्ची खोला, भैरव कुण्ड, माथिल्लो भोटेकोसी, तल्लो चाकु, सुनकोसी, मध्य चाकु, सानिमा, माथिल्लो चाकु र माथिल्लो हाँडीखोला तथा लमजुङको राधीखोला, स्युरीखोला र रसुवाको मैलुङखोला जलविद्युत् आयोजना उच्च जोखिममा छन् ।

मनसुनको अवधिमा भूकम्पले प्रभावित नदेखिएका उच्च पहाडी जिल्लाका बस्ती, सडक र भौतिक संरचनामा पनि पहिरो जान सक्ने विज्ञहरूको भनाइ छ । विपद् व्यवस्थापनमा विद्यावारिधि गरेका पूर्वमन्त्री गंगालाल तुलाधर विशेषज्ञहरूले पहिरोका हिसाबले असुरक्षित बस्ती पहिचान गरेका स्थानमा अझै पनि मानिसहरू बसिरहेकाले जोखिम बाँकी नै रहेको बताउँछन् । ‘भूगर्भविद्, भूगोलविद र इन्जिनियर परिचालन गरेर सबै जिल्लामा असुरक्षित बस्ती पहिचान त गरिएको छ,’ उनले भने, ‘तर उनीहरूलाई अन्यत्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छैन । ५ वर्ष भइसक्दा पनि सरकारले बस्ती व्यवस्थित गर्न नसक्नु दुःखद हो ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने भूकम्पका कारण जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने काम चलिरहेको बताएको छ । ‘गृह मन्त्रालयले जोखिम पहिचान गरेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ,’ प्राधिकरणका कार्यकारी सदस्य ध्रुव शर्माले भने, ‘सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूलाई जग्गा खरिद गर्न अलग्गै रकम सहयोग गरिरहेका छौं, अब केही स्थानमा मात्र बाँकी छ ।’ प्राधिकरणले ५ हजार परिवारमध्ये करिब ४५ सयलाई स्थानान्तरण गरिएको दाबी गरेको छ ।

विशेषज्ञहरू जोखिम न्यूनीकरण गर्न सरकारका निकायलाई सुझाए पनि कार्यान्वयन पक्ष फितलो भएको गुनासो गर्छन् । ‘जोखिमयुक्त स्थानबारे सरकारले अध्ययन र अनुगमन गर्दै स्थानीयलाई बेलैमा सुसूचित गर्नेतिर ध्यान दिनुपर्छ,’ खनालले भने । उनका अनुसार सन् २०१० को कास्कीको तप्राङ र सन् २०१४ को सिन्धुपाल्चोकको जुरे पहिरो अचानक गएका थिएनन् । तप्राङको पहिरो सन् १९३३ देखि सुरु भई १९४६, १९५२, १९८५ र १९९३ मा बढ्दै गएर २०१० मा रूप लिएको थियो । त्यस्तै, सुनकोशीको जुरेमा सन् १९८७ बाट सुरु भएको पहिरो सन् २०१४ को मनसुनमा विकराल बनेको थियो ।

पहिरो र पहिरोले बनाएको ताल फुटेर आउने बाढी विशेषतः उच्च पहाडी क्षेत्रमा नियमितजसो भइरहने प्राकृतिक प्रकोप हुन् । यसले तल्लो तटीय क्षेत्रलाई पनि उत्तिकै पिरोलिरहेको हुन्छ । मनसुनबाहेकमा पनि नदी थुनिएर फुट्ने पानीका कारण धेरै स्थानमा क्षति हुने गरेको छ । सन् २०१२ मा कास्कीमा आएको सेती बाढीले यस्तै क्षति निम्त्याएको थियो ।

इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकाल भूकम्प र पहिरोका दृष्टिले नेपालको भूगोल बढी नै संवेदनशील भएको र विकास पर्यावरणमैत्री नहुँदा मानव बस्ती जहिल्यै जोखिममा रहेको बताउँछन् । ‘सकेसम्म हाम्रा पहाडलाई नकाट्नु नै राम्रो हो । विकास कार्यका लागि काट्नु नै परे पनि अवैज्ञानिक हिसाबले काट्नुचाहिं मुर्ख्याइँ हो,’ उनले भने, ‘बर्सेनि पहिरोको क्षति बढ्दै जानुमा पहाडभरि यत्रतत्र छरिएका बस्ती तथा तिनमा आधारभूत आवश्यकताका चिज र विकास गतिविधि पुर्‍याउनुपर्ने मानवीय कारण प्रमुख हुन् ।’

छरिएका बस्तीमा सडक सञ्जाल विस्तार गर्ने क्रममा पहाड जथाभावी काटिँदा प्राकृतिक सन्तुलन गुम्न गई पहिरो जाने क्रम बढेको ढकालको विश्लेषण छ । ‘यसको समाधानको प्रमुख उपाय भनेको एकीकृत बस्ती विकास गर्नु नै हो,’ उनले भने, ‘बढी जोखिमयुक्त पहाडी बस्तीलाई जोखिमरहित अथवा न्यून जोखिम भएको स्थानमा एकीकृत गर्नु अति आवश्यक छ । यसो गर्दा विकास खर्च पनि धेरै हदसम्म घटाउन सकिनेछ  ।’

नेपालमा सन् १९६७ यता १४ वटा ठूला पहिरो गएका छन् । बाढी–पहिरोकै कारण सन् १९८३ देखि २०१० सम्म २ सय ३२ मिलियन अमेरिकी डलरबराबरको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ । २०६८ सालयता बाढी, पहिरो, डुबान तथा मनसुनजन्य प्रकोपबाट देशभर १ हजार ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा १८ अर्ब ३२ करोड ४७ लाख ५८ हजार २ सय २५ रुपैयाँबराबरको सम्पत्तिमा क्षति पुगेको तथ्यांक छ ।


नेपालमा मनसुन अवधिमा गएका ठूला बाढी–पहिरो र क्षति

  • गोरखामा सन् १९६७ काशीगाउँनजिकै पहिरोले बूढीगण्डकी थुनेर बनाएको ताल फुट्दा आठ जनाको ज्यान गएको थियो ।
  • गोरखाकै लापुबेसीमा सन् १९६८ पहिरोले बूढीगण्डकी चार घण्टा थुनिएर बनेको ताल फुट्दा १० माइल तलको आरुघाटबजारमा २४ घर र एक पुल बगाएको थियो ।
  • रूपन्देहीमा सन् १९७० मा तिनाउ नदी थुनिएर फुट्दा ९२ जनालाई बगाएको थियो ।
  • रसुवामा सन् १९७१ मा फलान्गखु खोला थुनिएर फुट्दा पाँच जनाको ज्यान जानुका साथै एक घर र एक घट्ट बगाएको थियो ।
  • बागलुङमा ७ जनाको ज्यान जानुका साथै पशु र पुल बगाएको थियो ।
  • सिन्धुपाल्चोकमा सन् १९८२ मा बलेफी खोला थुनिएर फुट्दा ९७ जनाको ज्यान जानुका साथै १५ घर बगाएको थियो ।
  • रसुवामा सन् १९८५ मा त्रिशूलीको बाँध फुटेर ६ गुणा ठूलो बाढी आएको थियो ।
  • नुवाकोटको तादीमा सन् १९८६ मा पहिरोले घ्याङ्फेदी खोला थुनिएर फुट्दा ३१ जनाको ज्यान गएको, १ सय ७३ जनावर, २४ घर र पुल बगाएको थियो ।
  • सिन्धुपाल्चोकमा सन् १९८७ मा सुनकोसी नदी थुनिएर फुट्दा ९८ जनाको ज्यान गएको, २ सय २९ घर, ३ सय ९ जनावर, जलविद्युत् आयोजना र राजमार्ग बगाएको थियो ।
  • म्याग्दीमा सन् १९८८ मा म्याग्दी खोला पहिरोले थुनिँदा १०९ जनाको ज्यान गएको, ९४ घर र ४४ जनावर बगाएको थियो । उक्त बाँध ब्लास्टिङ गरेर भत्काइएको थियो ।
  • बझाङमा सन् १९८९ मा तरुण खोलामा पहिरोले बनाएको बाँध ब्लास्टिङ गरी भत्काइएको थियो । उक्त घटनामा १६ जनाको ज्यान जानुका साथै २५ जनावर र ४ घर बगेका थिए ।
  • सिन्धुपाल्चोकमा सन् १९९६ मा लार्चा खोला थुनिएर आएको बाढीले ५४ जनाको ज्यान जानुका साथै १८ घर र एउटा पुल बगाएको थियो ।
  • कास्कीमा सन् २०१० मा तप्राङनजिकै मादीनदी ५ घण्टा थुनिँदा ५ जनाको ज्यान जानुका साथै १८ परिवार विस्थापित भएका थिए ।
  • सिन्धुपाल्चोकमा सन् २०१४ को जुरे पहिरोले १ सय ५६ जनाको ज्यान गएको थियो । पहिरोले सुनकोसी थुनिँदा बनेको ३ किमि लामो र ४७ मिटर गहिरो ताल ब्लास्टिङ गरी खोलिएको थियो । उक्त घटनामा १५५ घर, २ किमि सडक, दुई जलविद्युत् आयोजना र एक विद्यालयमा क्षति पुगेको थियो ।

प्रकाशित : असार १२, २०७७ ११:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×