लकडाउनमा 'नोस्टाल्जिक' कलाकार 

रीना मोक्तान

काठमाडौँ — लकडाउनको समय अधिकांश कलाकारले व्यस्त जिन्दगीबाट फुर्सद पाए । पुराना दिनहरु केलाउने समय पनि पाए । अधिकांशले लकडाउनको समय परिवारसँग बिताए । धेरैले पुस्तक पढ्न, फिल्म हेर्न गज्जबको फुर्सद पाए ।

अभिनेत्री केकी अधिकारीले भने यी सबसँगै फुर्सदको यो समयलाई सरसफाइका लागि प्रयोग गरिन् । यही बहानामा हराएका सामानहरु खोज्दा पुरानो एल्बम भेट्टाइन् । जसले उनलाई बाल्यकालमा फर्काइदियो । एक्कासि नोस्टाल्जिक बनाइदियो ।

'सरसफाइको काम गर्दै थिएँ । आफ्नो हराएको कुरा खोजौं भन्ने भयो । अरु बेला व्यस्त भइन्थ्यो । त्यतातिर ध्यान पनि जाँदैन थियो । अहिले लकडाउनले फुर्सद हुँदा थाहा भयो जीवनमा धेरै चिजहरु हराएका रहेछन्,' उनले सुनाइन् ।

भेटिएको पुरानो एल्बममा विद्यालयको रिपोर्ट कार्ड, सर्टिफिकेट थियो । ती कुराहरुले उनलाई विद्यालयका पुराना दिनमा पुर्‍यायो । बाल्यकालका ती अविष्मरणीय क्षणमा पुर्‍याइदियो जहाँ उनले आफ्नो मन मिल्ने साथी भेटेकी थिइन् । युक्ता प्रधान, उनीसँग केकीले कक्षा १ देखि पाँचसम्म सँगै पढेकी थिइन् । कक्षा पाँचपछि युक्ता अर्को विद्यालय गइन् ।

अचानक सरसफाइ गर्दै जाँदा केकीको हातमा युक्ता र उनको तस्बिर पर्‍यो । त्यसपछि उनीसँग बिताएको बाल्यकालका सम्झना झलझली उनको आँखा अगाडि नाच्न थाल्यो । हुन त केकीलाई बाल्यकालका अन्य यादहरु खासै सम्झनामा छैन । तर, युक्तासँग बिताएको त्यो रमाइला यादले भने लामो समय केकीलाई सताइरह्यो । त्यसैले केकीलाई लाग्यो, लकडाउन युक्तालाई खोज्ने उपयुक्त समय होला ।

केकी अधिकारी बाल्यकालकाे तस्बिर नियाल्दै

'अरुबेला समय छैन भन्ने बहाना भइरहन्थ्यो,' केकीले भनिन्, 'अब त २० वर्षभन्दा बढी समय बितिसकेको छ । के कस्तो परिवर्तन भयो होला, फेसबुकमा उनलाई खोज्न थालें । म्युचल फ्रेन्डले गर्दा साथीलाई फेसबुकमा भेटें । विद्यालयको नाम पनि परिवर्तन गरिसकेकी रहिछिन् ।'

फेसबुकमा दुईले खुब कुराकानी गरे । सेलिब्रेटी भइसकेकी साथीले आफूलाई नचिन्ने पो हो कि भन्ने शंकाले गर्दा इन्देणी(युक्ताको नयाँ नाम)ले पनि केकीसँग कहिल्यै बोल्न प्रयास गरेकी रहिनछिन् । 'सबैभन्दा दु:ख लाग्दो कुरा हामी अनुमान गर्छौं नि त । त्यही अनुमानमा सम्बन्ध अलमलिएको हुन्छ,' केकीले सुनाइन् ।

अभियनतिर व्यस्तता बढेपछि अभिनेत्री केकीले धेरै सम्बन्धहरुसँग दूरी बढेको अनुभव गरेकी छिन् । स्नातक अध्ययन गर्दै गर्दा केकीले फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् । हरेक कार्यक्रममा उपस्थित हुने केकी त्यसपछि भने बिस्तारै साथीहरुले बनाएको कार्यक्रम सहभागी जनाउन भ्याइनन् । कामलाई प्राथमिकता दिँदा साथीहरु छुटिँदै गए । 'जिन्दगीमा कति कुरा पाउँदै जाँदा कति कुरा छुट्दै जाँदो रहेछ । त्यतिबेला त्यो महसुस हुँदैन । तर अहिले याद गर्दाखेरी पाउनु/गुमाउनु भन्दा पनि साथीहरुसँग ती यादहरु मैले बनाउन पाइनँ भन्ने कुराले मन अमिलो हुन्छ,' उनले सुनाइन् । त्यसैले केकीले वर्षौंपछि आफ्नो मिल्ने साथीलाई लकडाउनमा खोजिन् । भेट्टाउँदाको खुसी अझै ताजै छ । आफ्नो युट्युब अकाउन्टमा युक्तासँगका ती दिनहरु सम्झँदै भिडियोसमेत बनाएकी छिन् ।

बाल्यकाल अन्तरमुखी स्वभावकी थिइन् केकी । 'हेर्दा सोझी देखिए पनि मनको बाठ्ठी थिएँ । विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि अगाडि नै थिएँ । जहिल्यै पनि पहिलो हुनुपर्छ भन्ने सोच राख्थें । तर अहिले त्यो चिजहरुले जिन्दगीमा खास अर्थ राख्दैन रहेछ भन्ने महशुस भएको छ,' केकील भनिन् ।

सानोमा दयाहाङ राई साथीहरूसँग

लकडाउनले केकीलाई मात्रै होइन थुप्रै कलाकारलाई बाल्यकालका दिनहरुमा पुर्‍याइदियो । कलाकारहरु राजेश हमाल, दयाहाङ राई, आर्यन सिग्देल, स्वस्तिमा खड्का, लक्ष्मी बर्देवालगायत थुप्रै कलाकारले नोस्टाल्जिक हुँदै बाल्यकालका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट पनि गरे ।

अभिनेता सिग्देलले केही दिनअघि फेसबुकमा आफ्नो बाल्यकालको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, 'एकादेशमा मिस्टर हरिश सिग्देल ।' विद्यालय पोसाकको उक्त तस्बिर पक्कै अभिनेता सिग्देललाई पनि विद्याल जीवनमा पुर्‍याएको हुनुपर्छ ।

त्यस्तै सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दयाहाङले पनि आफूले एसएलसी परीक्षा दिँदाको तस्बिर सार्वजनिक गरेका थिए । 'एउटा सुन्दर सम्झना..एसएलसी परीक्षा सकिएपछि साथीहरू सरोज राई र दिवान राईसँग म अन्नपूर्ण माविको प्राङ्गणमा । पछाडि ट्याम्के डाँडा, त्यसैको मुनि मैले नै छेकेको मेरो गाउँ,' उनले लेखेका छन्, 'अहिले एसईई परीक्षा रोकिएको यो अवस्थामा तपाईं सम्पूर्ण विद्यार्थी साथीहरू शारीरिक र मानसिक रुपमा तयार रहनुहोला । किनभने तपाईंहरूले एउटा युग हाँक्नुछ ।'

अभिनेत्री लक्ष्मी बर्देवा लकडाउनले बाल्यकालका स्मृतिहरु ताजा गरेको बताउँछिन् । 'मलाई बाल्यकालमा कसैले नियन्त्रण गर्न खोजेको मन पर्दैन थियो,' उनी सम्झिन्छिन्,'म आमाको कुटाइ खाइरहन्थें । चकचके थिएँ । जिज्ञासु थिएँ । सानो कुरा पाएँ भने चित्तबुझ्दो जवाफ नआएसम्म उत्तर खोजिरहन्थें । पढाइ राम्रै थियो ।'

उनी बहिनीहरुको निकै हेरचाह गर्थिन् । वास्ता गर्थिन् । आफू जता गए त्यतै लिएर हिँड्थिन् । तिहारमा पिङ खेलेर लड्दाको घट्ना उनी कहिल्यै बिर्सन्नन् । 'म सानोमा गौरीघाट संगमचोक बस्थें । त्यो बेला दशैंमा पशुपतिमा पिङ हाल्थ्यो,' उनले सम्झिन्, 'मलाई पिङ एकदमै मनपर्ने । पिङबाट लडेर दुर्घटना भएको खबरहरु सुनेर आमा पिङ खेल्न जान दिनुहुन्थेन । तर म दुई बहिनीहरु कल्याणी र आश्विनीलाई लिएर पिङ खेल्न पुगिहाल्थें ।'

लक्ष्मी बर्देवा सानी छँदा

उनीहरु पिङ छेउ नपुग्दै त्यसदिन बाँदरले उनीहरुलाई आक्रमण गर्‍यो । बाँदरको आक्रमणबाट बच्न खोज्दा लडेर बहिनीलाई चोट लाग्यो । 'त्यतिबेला आमाले कुटाइ खाएँको थिएँ । उहाँले त नजा भन्नु भएको थियो नि त,' उनी पूराना दिन सम्झिन्छिन् ।

आमाले पिङ खेल्न जान नदिएपछि घरको छतमा उनले लुगा सुकाउने डोरी झुण्डाएर पिङ बनाइन् । सबै बहिनीहरु त्यसमा झुण्डिएर पिङमा मच्चिन्थे । तर लक्ष्मी पालोमा त्यो डोरी चुँडिएर टाउको फुटेको थियो ।

'पिङ जस्तो बनाएर एक हातले त्यो डोरी समातेर तुर्लुङ्ग झुण्डिन्थ्यौं,' उनले सम्झिइन्, 'म झुण्डिएको समयमा डोरी चुँडिएर मेरो टाउको फुटेको थियो । धन्न बहिनीहरुलाई केही भएन । त्यो क्षण सम्झँदा अहिले हाँस उठ्छ । साँच्चै कति रमाइला थिए ती बालापन !' प्रकाशित : जेष्ठ २९, २०७७ १५:२२

प्रतिक्रिया
पठाउनुहोस्

नेपाली फिल्मको डिजिटल प्रदर्शन  सम्भव छ ?

लकडाउन लम्बिँदै गएपछि सिनेमा घरको विकल्पमा भरपर्दो डिजिटल प्लेटफर्म खोज्दै निर्माता/निर्देशक
रीना मोक्तान

काठमाडौँ — लकडाउनले गर्दा प्रत्यक्ष मारमा परेका फिल्महरुका प्रदर्शन अझै अलमलमा छन् । कोरोना महामारीले गर्दा हलिउडदेखि बलिउडका फिल्म प्रदर्शन मिति पछाडि धकेलिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा लकडाउन अनिश्चित हुँदै गएको छ । यस्तो अवस्थामा बलिउडका केही फिल्मले प्रदर्शनका लागि डिजिटल माध्यम रोजेका छन् ।

अक्षय कुमारको 'लक्ष्मी बम्ब'देखि अमिताभ बच्चनको 'गुलाबो सिताबो' डिजिटल प्लेटफर्ममा प्रदर्शन हुने पक्का भइसकेको छ । लकडाउनले असर पारेको नेपाली फिल्म उद्योगमा पनि पछिल्लो समय डिजिटल प्लेटफर्मबारे गाइँगुइँ सुनिन थालेको छ । के नेपालमा डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन सम्भव छ त ?

'अवश्य पनि सम्भव छ । हामीसँग डिजिटल प्लेटफर्म छ । हामी विश्व बजारमा नेपाली फिल्म लिएर जान तयार छौं । निषेधित केही देशबाहेक अन्य ठाउँमा पैसा तिरेर फिल्म हेर्न सक्ने प्लेटफर्म हाम्रो छ,' फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्कीले भने, 'मेरो विचारमा अहिले फिल्मका निर्देशक/निर्माता/वितरकले यो प्लेटफर्ममा फिल्म प्रदर्शन गर्ने ठूलो आँट गर्न जरुरी छ । यस्तो भयो भने लगानी उठाउन सक्नेमा म विश्वस्त छु ।' 'फोपी' नेपाली फिल्म प्रदर्शन गर्न मिल्ने डिजिटल एप हो ।

फोपीका कार्यकारी निर्देशक प्रशान्तराज कार्की

अहिले लकडाउनले अधिकांश हल बन्द छन् । केही देशहरुमा मनोरञ्जनका क्षेत्र खुले पनि हलहरु खुल्न सकेको छैन । यस्तो अवस्थामा सामाजिक दूरी कायम गरेर फिल्म हेर्न डिजिटल प्लेटफर्म नै उपयुक्त ठान्छन् प्रशान्तराज ।

तर, नेपाली फिल्मका निर्माताहरु भने नेपालमा गतिलो डिजिटल माध्यम नै नरहेको तर्क गर्छन् । त्यसैले अधिकांश फिल्मकर्मीहरु अवस्था सामान्य हुने पर्खाइमा छन् । निर्माता अर्जुन कुमार भन्छन्, 'नेपालजस्तो देशमा डिजिटल प्लेटफर्मको कल्पना नगरे हुन्छ ।'

त्यस्तै अर्का निर्माता सन्तोष सेनले नेपालका डिजिटल प्लेटफर्मले फिल्मको लगानी बराबरको रकम नदिएको बताउँछन् । लकडाउनले गर्दा प्रदर्शन स्थगित भएको उनको फिल्म 'प्रेमगीत ३'मा ५ करोड लगानी भएको दाबी गर्छन् सेन । भर्खरै मौलन थालेको डिजिटल प्लेटफर्ममा लगानी उठ्न समय लाग्ने प्रशान्त बताउँछन् । 'यो आफैमा परिपक्व उद्योग पनि होइन । कुनै पनि उद्योग बन्नलाई सयौं वर्ष लाग्छ । हामी सुरुवाती अवस्थामा छौं,' उनले सुनाए, 'परिपक्व नभएको उद्योगले नै लगानी उठाउनुपर्छ भन्नु चाहिँ मुर्खता हो । तर, हामीले कुनै कुरामा लगानी गरेको छ भने त्यसले कालन्तरमा रिटर्न दिने हो । यो बुझेर अहिले फिल्मकर्मीले सामुहिक रुपमा यो प्लेटफर्म प्रयोग गर्ने आँट गर्नुपर्छ ।'

सन्तोष सेन

नेपालमा 'फोपी'बाहेक 'भिडियो पसल' र 'सिनेमा घर'जस्ता प्लेटफर्म छन् । सायद यी प्लेटफर्म सक्रिय हुँदो हो त यस्ता प्लेटफर्ममा निर्माताको विश्वास बढ्ने थियो । तर, अवस्था ठिक उल्टो छ । लकडाउनले गर्दा दर्जन फिल्मको प्रदर्शन रोकिएको छ । यस्तो अवस्थामा निर्माता डिजिटल प्लेटफर्मलाई बलियो मान्दैनन् ।

'डिजिटल प्लेटफर्ममा फिल्म प्रदर्शन गर्नु राम्रो कुरा हो । तर त्यो गर्नको लागि नेटफ्लिक्स, अमाजोन प्राइमजस्ता बलियो एप्सहरु नै छैन नेपालमा । त्यसैले फिल्म प्रदर्शनको अवस्था तुरुन्तै देखिएको छैन। मेरो फिल्म त थियटर प्रदर्शन हुन्छ होला,' निर्देशक सुदर्शन थापा सुनाउँछन् ।

नेपालमा यस्ता प्लेटफर्मको पकड बलियो नभएको स्वीकार्छन् फोपीका प्रशान्तराज । 'हो, हामीकहाँ फिल्म हल जतिको पहुँच भएको डिजिटल प्लेटफर्म छैन । त्यसको कारण चाहिँ इन्टरनेटको पहुँच मात्र होइन, डिजिटल लिट्रेसी पनि हो,' उनले भने, 'नेपालको डिजिटल प्लेटफर्मले अन्तर्राष्ट्रिय प्लेटफर्मसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यहीमाथि नेपाली फिल्मकर्मीको पुरातनवादी सोच छ, उहाँहरु डिजिटल भन्ने साथ युट्युब बुझ्नुहुन्छ । पहिला त झन लामो समयपछि मात्र डिजिटल प्रदर्शन गर्नुपर्छ भन्ने मान्यता थियो ।' डिजिटल प्लेटफर्ममा सिर्जना चोरी हुने जोखिम रहेको निर्माता सन्तोष सेन बताउँछन् ।

'लक्का जवान'का निर्माता किरण केसी भन्छन्, 'डिजिटल प्लेटफर्ममा फिल्म चोरी हुने जोखिम हुन्छ । डिजिटलतिर प्रदर्शन गर्दा २२/२५ लाख आउला, त्यतिले केही हुँदैन । हाम्रो फिल्ममा त २ करोड १५ लाख खर्च भएको छ । ठीक छ नयाँ प्रविधिबाट १ करोड सामान्य तरिकाले आइहाल्ने र बाँकी रकम पछि पाउने अवस्था हुन्छ भने प्रदर्शन गर्न तयार छौं । तर यहाँ त्यस्तो अवस्था छैन । त्यसैले डिजिटल माध्यममा जाने सोचेनौं ।'

किरण केसी

लकडाउनले अधिकांश फिल्मकर्मीलाई डिजिटल प्रदर्शनतिर सकारात्मक बनाएको प्रशान्तराजको बुझाइ छ । पछिल्लो समय मात्रै धेरै फिल्मकर्मीले उनीसँग फोपी प्रदर्शनका लागि कुराकानी अगाडि बढाएका छन् ।

हल खुल्ने छैन टुङ्गो

लकडाउन लम्बिँदै गएको छ । लकडाउन खुकुलो बनाउँदै लैजाने सरकारले योजना बनाइरहे पनि तत्काल सिनेमा घर भने खुलाउने पक्षमा छैन ।

फिल्म प्रदर्शनको लागि लामो समय कुर्नुपर्दा निर्मातालाई घाटा हुने अर्जुनकुमार सुनाउँछन् । 'फिल्म हल चल्नलाई ६ महिनादेखि १ वर्ष त लाग्ला । चपली हाइट-३ मा मेरो लगानी त्यस्तै १ करोड ५० लाख हो,' उनले भने, '२ वर्ष यसरी डेढ करोड लगानी गरेर चुपचाप बस्दा त घाटा हुने भयो नि । समयमै फिल्म रिलिज हुन पाएको भए चपली हाइटले झैं यो फिल्मले कमाउने आशा थियो । लकडाउनले निर्माता मात्र बर्बाद भएको हो । निर्माता डुबेको हो ।'

उनले विदेशमा पनि फिल्मको अधिकार बिक्री गरिसकेका थिए । अब विदेश प्रदर्शन पनि टुङ्गो नभएको उनी बताउँछन् । उनी थप्छन्, 'हामीलाई त घाटा भइसक्यो । दु:ख छ । अब संसारभर नै यो महामारी लागेको छ, दुख मानेर पनि के गर्नु ।'

'चपली हाइट ३' गत चैत २८ मा नै प्रदर्शन गर्ने तयारी थियो । तर लकडाउनले गर्दा फिल्मको प्रदर्शन सम्भव भएन । सरकारले लकडाउन घोषणा गर्नुअघि उनको टिम फिल्मको मिक्सिङ सक्ने तयारीमा थियो । तर, मिक्सिङको काम बाँकी रह्यो ।

'लकडाउनको पहिलो पीडित हामी हौं । यो महामारीले गर्दा हाम्रो फिल्मको प्रदर्शन रोकियो ,' निर्देशक सुदर्शन अवस्था सामान्य भएपछि नै फिल्म प्रदर्शन गर्ने तयारीमा छन् ।

त्यस्तै तोकिएको मितिमा फिल्म प्रदर्शन गर्न नपाउँदा निर्माता सेनलाई पनि घाटा भएको छ । 'मेरो त ठूलो बजेटको फिल्म हो यो । अहिले फिल्मको ओभरसिज ठप्प भयो । विदेशको वितरकलाई पनि घाटा अनि लगानी गरिसकेपछि रिलिज हुन नपाउँदा त मलाई पनि घाटा । फिल्म जति दिन होल्ड भयो त्यति दिन घाटा हुन्छ निर्मातालाई,' उनले भने, 'चित्त बुझाउने के छ भने संसार नै अहिले यस्तो अवस्थामा छ । हामी मात्रै होइन । अहिले रोइकराई गरेर केही फाइदा छैन ।'

सुदर्शन थापा

निर्माता किरण केसीको फिल्म 'लक्का जवान' गत चैत २१ गते प्रदर्शन गर्ने तय भएको थियो । तर, अन्य फिल्मकर्मीका फिल्मलाई झैं उनको फिल्मलाई कोरोना लाग्यो । यस्तो अवस्थामा निर्माताले घाटा बेहोर्नु परेको उनी बताउँछन् । 'समग्रमा हामीले त घाटा बेहोर्नु पर्‍यो नि । भनेको समयमा फिल्म रिलिज भएको भए अहिले सम्म फिल्मको नाफा घाटा सबै थाहा हुन्थ्यो । अब कहिले, कसरी लाग्छ फिल्म ? लगानी गरेको पैसा त्यतिकै फ्रिज भएको छ ।'

सिनेमा घर कहिले खुल्ने भन्ने नभएपछि निर्माता सन्तोष सेनले फिल्म प्रदर्शनको अर्को बाटोतिर आफ्नो पाइला चालेका छन् । नेटफ्लिक्समा 'प्रेमगीत ३' प्रदर्शन गर्ने प्रयास थालिसकेको उनी सनाउँछन् । 'नेटफ्लिक्समा प्रस्ताव पठाएका छौं । त्यहाँबाट उहाँहरुले टिजर मन पराइदिनु भएको छ, ' उनले भने, 'वानलाइनमा छलफल गर्न चाहनु भएको छ । तर वानलाइन लिएर जान पनि आवतजावत गर्न मिल्ने अवस्था हुनुपर्‍यो । त्यसैले अहिले मेरो टेक्निकल टिम पोस्टमा प्रपोजल बलियो बनाउने काम गरिरहेको छ ।'

उनका अनुसार 'प्रेमगीत ३'को नेटफ्लिक्स प्रदर्शनका लागि बम्बईको एक फिल्मकर्मीले कुरा अगाडि बढाइदिएका छन् । 'हामी अन्तर्राष्ट्रिय प्लेटफर्म कुरिरहेका छौं । मिल्छ कि भन्ने आशा छ । फिल्मको अंग्रेजीमा सबटाइटलको काम भइरहेको छ । हामी ट्राइ गर्दैछौं । डिजिटल माध्यममा कसरी नेपाली फिल्म अगाडि बढाउने भन्ने तिर हाम्रो सोच गइरहेको छ,' उनले सुनाए ।

उनको टिमले लकडाउनअघि चित्त नबुझेको दृश्यको रि–सुट र गीतहरुको छायांकन सकेको थियो । लकडाउनले गर्दा फिल्मको अन्तिम पोस्ट प्रोडोक्सनको काम रोकिएको उनी बताउँछन् । हुन त उनले आफ्नो फिल्म हल केन्द्रित गरेर नै निर्माण गरेका थिए । तर, दर्शकसमक्ष चलचित्र कहिले पुग्‍ने भन्ने टुङ्गो छैन । त्यसैले डिजिटल माध्यमको उपायतिर उनले आफ्नो कदम चालेका छन् ।

'अब हल खुले पनि ६ महिनादेखि १ वर्षसम्म त हलमा दर्शक आउला जस्तो लाग्दैन । पहिलाको जस्तो दर्शकको भीड हलमा देख्न नपाएला,' सेनले भने, 'डिजिटलमै जाने भन्ने पक्का त होइन । तर हामीले त्यतातिर जाने कोसिस गरेका छौं । अब लगानीको नजिक पुग्यौं भने पनि डिजिटल जोखिम लिन कोसिस गरिरहेका छौं । त्यसकै प्रोसेसमा अघि बढ्ने तयारी छ । हेरौं के हुन्छ ।'

प्रकाशित : जेष्ठ २३, २०७७ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×