फिल्म कहाँ रिलिज हुन्छ, त्यसले कलाकारलाई फरक पार्दैन : नवाजुद्दिन

काठमाडौँ — बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी ओटीटी (ओभर दि टप)मा फिल्म हेर्दा हलको जस्तो सिनेम्याटिक अनुभव नहुने बताउँछन् । शुक्रबारमात्रै उनी अभिनित फिल्म ‘घुमकेतु’ डिजिटल प्लेटफर्म जीफाइभमा प्रदर्शन भयो । 

फिल्म कहाँ रिलिज हुन्छ, त्यसले कलाकारलाई फरक पार्दैन : नवाजुद्दिन

‘ल्यापटप र आइप्याडमा फिल्म हेर्दा हलमा जस्तो खास मज्जा आउँदैन । यदि तपाईँ ल्यापटप र आइप्याडमा फिल्म हेर्दा रमाइलो मान्नुहुन्छ भने त्यो मज्जा तपाईँकै वरपर सिमित हुन्छ,’ उनले दैनिक भास्करलाई भनेका छन् । पछिल्लो समय लकडाउनले गर्दा फिल्म हल ठप्प भएसँगै बलिउडले ओटीटीमा फिल्म प्रदर्शन गर्न थालेका छन् ।

अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित ‘गुलाबो सितावो’ पनि जुन १२ मा अमाजोन प्राइममा प्रदर्शन हुने पक्का भएको छ ।

अभिनेता सिद्दिकीले फिल्ममा अभिनय गर्ने क्रममा त्यो फिल्म कुन माध्यमबाट कसरी प्रदर्शन होला भनेर नसोचिने बताउँछन् । ‘आफूले काम गरेको फिल्म टेलिभिजन, हल या ओटीटी जहाँ रिलिज भए पनि कलाकारलाई त्यसले फरक पार्दैन,’ उनी भन्छन्, ‘हाम्रो काम इमान्दारीपूर्वक अभिनय गर्ने हो । पात्रलाई न्याय हुने गरि काम गर्ने हो । म सधैं यही कुरामा फोकस हुन्छु ।’

फिल्म प्रचार र प्रदर्शनको जिम्मेवारी विशुद्ध निर्मातामा निहित हुने उनी बताउँछन् । ‘फिल्म कहाँ प्रदर्शन गर्ने, प्रदर्शन मितिको काम वितरक र निर्माताको हो । यसमा मेरो केही सरोकार हुन्न,’ उनले भने ।

हुन त उनको फिल्म पक्कै सिनेमा घरलक्षित गरेर बनाइएको थियो । तर लकडाउनले फिल्म निर्माण टिमले ओटीटीको माध्यम रोज्यो । फिल्म प्रदर्शनको समयमा सिनेमा हल मिस भएको छैन भन्ने प्रश्नमा उनले भने, ‘छैन । यो अवस्थामा ओटीटी नै उपयुक्त माध्यम हो ।’

अहिले पूरा विश्व घरमा बसेर फिल्म हेरिरहेको अवस्थालाई मध्यनजर गर्दा भविष्यमा ओटीटीका दर्शक बढ्ने अनुमान लगाउँछन्, नवाजद्दिन । लकडाउनको दौरान उनी स्वयमले घरमै डिजिटल प्लेटफर्ममार्फत ९० बढी फिल्म हेर्न भ्याइसकेको बताउँछन् । ‘लकडाउनमा दर्शकलाई अहिले संसारभरको फिल्म हेर्ने मौका मिलेको छ,’ उनले भने, ‘त्यसैले हामीले हाम्रो फिल्मको गुणस्तर पहिले भन्दा झन् सुधार्नुपर्ने चुनौती थपिएको छ । तपाईं अब जति राम्रा फिल्म बनाउनुहुन्छ पूरा संसारले त्यसलाई हेर्नेछ ।’

प्रकाशित : जेष्ठ ११, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?