'उपयोगी' ५ नेपाली युट्युब च्यानल

रीना मोक्तान

काठमाडौँ — लकडाउनले सबैको दैनिकी फेरिएको छ । सबैजना सामान्य अवस्थामा फर्कन चाहन्छन् । दिन–दिनै बढिरहेको कोरोना संक्रमणले लकडाउन कति दिन लम्बिएला ? भन्न सकिन्न ।

अनिश्चित लकडाउनले धेरैलाई दिन काट्न पनि गाह्रो परेको होला । यस्तो बेला समय बिताउने राम्रो माध्यम हुनसक्छ, युट्युब । भिडियोको भण्डार हो यो । यसमा सिर्जनात्मक र सकारात्मक भिडियो हेर्दा दिन पक्कै रमाइलो हुन सक्छ ।

हामी यहाँ पाँच नेपाली युट्युब च्यानलबारे चर्चा गर्नेछौं, जसलाई पछ्याउँदा उपयोगी हुन सक्छ ।

सिसन बानियाँ, ट्राभल भ्लगर

पछिल्लो समय युवा दर्शकमा प्रचलित छन्, भ्लगर सिसन बानियाँ । उनी विभिन्न ठाउँ पुगेर रमाइला भिडियो बनाउने गर्छन् । कहिल्यै नदेखेका ठाउँ होस् वा देखिरहेकै सामान्य विषय/ठाउँलाई पनि उनी आफ्नो भ्लगमा रोचक शैलीमा प्रस्तुत गर्छन् । उनको भ्लगमा पूरा नेपाल समेटिएको हुन्छ ।

मनाङको आइस क्लाइम्बिङ होस् या जनकपुरको छठका भिडियो । उनका भ्लगमा नेपाली संस्कृति, नेपालीपन देखिन्छ । पाखा पखेरा, कन्दरा समेटिएको भ्लगमा वास्तविक नेपाल पनि देख्न पाइन्छ । यो उनको भ्लगको विशेषता हो । भ्लगमा उनी सक्दो सबैकुरा अटाउने प्रयास गर्छन् । दर्शकलाई बाँधिरहने विषयवस्तु उनले भ्लगमा समावेश गर्छन् । त्यसैले पनि उनको भ्लग अरुको भन्दा फरक छ ।

उनको भिडियोमा भद्दापन हुन्न । युवा दर्शकदेखि सबैले उनको भिडियो हेरेर मनोरञ्जन लिइरहेका हुन्छन् । भ्लग बनाएर नै सिसनले लाखौं फ्यान कमाएका छन् । चार वर्षदेखि भ्लग बनाउन व्यस्त उनलाई पछ्याउँदै धेरै भ्लगर अगाडि आएका छन् । बुवा उनका व्यस्त सेड्युलसँगै यात्रा गर्न रुचाउँथे । आफूमा त्यही स्वभाव भएकै कारण ट्राभल भ्लग सुरु गरेको सिसन सुनाउने गर्छन् ।

पछिल्लो समय मिस नेपाल श्रृङ्खला खतिवाडाको मिस वल्र्ड इन्ट्रडक्सन भिडियोमा काम गरेकै कारण पनि उनको चर्चा चुलिएको थियो । उक्त भिडियोले नै श्रङ्खलाले मिस वर्ल्ड २०१८ मा मल्टिमिडया अवार्ड जितेको थियो । श्रृङ्खलाले ब्युटी विथ पर्पस जितेको भिडियो पनि उनकै समूहले बनाएको थियो ।

यो लकडाउनमा तपाईँ घरभित्रै थुनिएर बोर हुनुभएको छ भने सिसनको भिडियो उपयुक्त हुन सक्छन् । घरमै बसी तपाईँ सिसनसँगै नेपाल भ्रमणमा निस्कन सक्नुहुनेछ ।

कृसा श्रेष्ठ, फिटनेस इन्स्ट्रक्टर

देश लकडाउनमा भएदेखि धेरैको जिम जाने रुटिन बन्द छ । फिटनेस ट्रेनिङ ‘मिस’ गरिरहेकाका लागि कृसा श्रेष्ठको भ्लग उपयोगी हुनसक्छ । फिटनेस इन्स्ट्रक्टर श्रेष्ठ सन् २०१३ देखि नै युट्युबमा सक्रिय छिन् । आफ्नो युट्युब च्यानलमा जुम्बा, वर्कआउट अनि ‘डाइट प्लान’को भ्लग भिडियो सार्वजनिक गरिरहेकी हुन्छन् उनी । लकडाउनमा घरमा भएका दर्शक लक्षित गरेर उनले घरमै सम्भव वर्कआउट भिडियो युट्युबमा राखेकी छिन् ।

काठमाडौंको कमलादीमा उनको ‘द फिजिक्स वर्कशप’ जिम छ । लकडाउनको समय जिमकै क्लाइन्टका लागि पनि उनले घरमै बसेर गर्न सकिने वर्कआउट भिडियो बनाएकी हुन् । विशेषत उनलाई हिजोआज युट्युबमा महिला दर्शकहरुले शरिर कसरी घटाउने भनेर कमेन्टमा प्रश्न गरिरहेका हुन्छन् । त्यसैले आफूले लकडाउनमा त्यसैअनुरुपको वर्कआउट भिडियो सार्वजनिक गरेको कृसा बताउँछिन् ।

द स्टोरी टेलर्स

‘द स्टोरी टेलर्स’ यस्तो युट्युब च्यानल हो, जहाँ स्थानीय हिरोहरुको दुःख, संघर्ष अनि चुनौतीहरु समेटिएको कथा हुन्छ । विभिन्न क्षेत्रमा योगदान पुर्‍याइरहेकाहरुलाई स्टेजमा उभ्याएर आफ्नो कथा सुनाउन प्रेरित गर्ने यो च्यानलमा नेपालका कुनाकाप्चाका उदाहरणीय ‘नायक’ को प्रेरणाका गाथा समेटिएको छ । ‘कथाहरुमा परिवर्तन र प्रभाव पार्ने शक्ति हुन्छ,’ यही विश्वाससहित यो च्यानल सन् २०१४ देखि सक्रिय छ ।

च्यानलमा विभिन्न व्यक्तित्वको निकै रोचक कथाहरु समावेश छन् । छोटो तर निकै प्रभावित पार्ने कथाहरु यस च्यानलमा सार्वजनिक भएका छन् । च्यानलले सुरु गरेको १२ सिरिजहरुले संगीत, सामाज, मनोरञ्जनलगायतका विभिन्न क्षेत्रका कथाहरु समावेश गरेका छन् । २ लाख ७५ हजार सब्स्क्राइब रहेको यो च्यानलमा अहिलेसम्म ३४४ वटा भिडियो सार्वजनिक भइसकेका छन् । यहाँ फिल्म निर्देशक निश्चल बस्नेतदेखि दलित अधिकार अभियन्ता रीता परियारसम्म अटाएका छन् । यसको मञ्चमा उभिएर आफ्नो कथा सुनाउनेहरुमा कता न कता पीडा, साहस लुकेको हुन्छ ।

‘द स्टोरी टेलर्स’ समय बिताउने बहाना मात्रै होइन कसैको जीवनबाट सिक्ने सुनौलो अवसर बन्न पनि सक्नेछ ।

जेम्स श्रेष्ठ, कमेडी युट्युबर

जेम्स श्रेष्ठले सन् २०१४ देखि युट्युब भिडियोहरु बनाउन थालेका हुन् । उनी विभिन्न भिडियोमा रियाक्सन गरिरहेका हुन्छन् ।

उनका रियाक्सन भिडियो मनोरञ्जनात्मक हुन्छन् । विभिन्न ठाउँ घुमेको ट्राभल भ्लग पनि बनाइरहेका हुन्छन् जेम्स । उनी विभिन्न च्यालेन्जहरु, खेलहरु खेलेको भिडियो बनाएर युट्युबमा राख्छन् । उनले सरोज तामाङमाथि गरेको रियाक्सन भिडियोलाई १० लाख बढीले हेरेका छन् । उनका रमाइला रियाक्सन भिडियोसँगै अन्य भ्लग हेरेर लकडाउनलाई मनोरञ्जनात्मक बनाउन सकिन्छ ।

नेपाली ई–कर्ड्स

घरमा बसेर कोही गीतार सिक्ने प्रयास गर्दैछन् भने उनीहरुका लागि नेपाली ई–कर्ड्स उपयुक्त हुन्छ । जतिबेला पनि यो च्यानलमा गएर आफूलाई सिक्न मन लागेको गीतमा गीतार बजाउन सिक्न सकिन्छ ।

भर्खरै गीतार बजाउन थालेकाहरुका लागि यो एउटा राम्रो अनलाइन कक्षा पनि हुन सक्छ । च्यानलमा नयाँका लागि ‘सिकारु लेसन’ भनेर भिडियोहरु सार्वजनिक गरिएका छन् । त्यसैले लकडाउनको अवधिमा गीतार बजाउन खोज्नेहरुले यो च्यानलको भिडियोबाट सिक्न सक्नेछन् । सन् २०१३ देखि यो च्यानलमा भिडियो सार्वजनिक भइरहेको छ । प्रकाशित : जेष्ठ ५, २०७७ १५:५६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

‘यसपालि पोहोरकै तीज गीतले काम चलाउनुपर्ला’ 

लकडाउनको असर
रीना मोक्तान

काठमाडौँ — अवस्था पहिलेझैं सामान्य भइदिएको भए यतिबेला रेकर्डिङ स्टुडियोहरुमा तीज गीत रेकर्ड गराउनेको भीड हुन्थ्यो । म्यूजिक भिडियोका लागि सुटिङ सुरु भइसकेको हुन्थ्यो । वैशाख/जेठ तीज गीत गाउने सिजन हो ।

तर, यसपाली सिजन सुरु हुन नपाउँदै कोरोनाको प्रवेश भयो । गत वर्षको दृश्य यसपालि दोहोरिन पाएन ।

लोकगायक पशुपति शर्मा देशमा जारी लकडाउनले गर्दा तीज गीतको रेकर्ड सम्भव नरहेको बताउँछन् । ‘गाह्रो छ यसपालि । यतिबेला त गीत रेकर्ड गर्ने समय हो । तर, अहिले त स्टुडियोहरु नै बन्द छन् । स्टूडियो बन्द भएपछि गीत रेकर्ड नहुने भो । गीत नै नभएपछि भिज्युअलको काम पनि हुँदैन । यसपालि तीजका गीत रेकर्ड गर्ने सम्भावना मैले कम देखेको छु,’ उनले भने, ‘कोरोनाको संक्रमण संख्या बढेको देख्दा अब त्यस्तो माहोल नहोला भन्ने मलाई लाग्छ । यसपालि पोहोरकै गीतले काम चलाउनुपर्लाजस्तो मान्या छु ।’

तीज गीतमा व्यस्त हुने गायक शर्मा यतिखेर गृहजिल्ला स्याङ्जातिरै छन् । ‘तीजमात्रै होइन, दशैंपछाडिका सांगीतिक कार्यक्रम नै होला/नहोला टुंगो छैन । कोरोनाले संगीत क्षेत्रलाई एकदमै असर गर्‍यो । यो वर्ष सर्वसाधारण भेला गराएर गर्ने कार्यक्रम पनि कमै होला । मान्छे भेला गर्न नपाइने भएपछि सम्भावना कम देख्छु,’ उनी थप्छन् ।

लकडाउनले विदेशको तीज कार्यक्रममा पनि असर गरेको अर्का गायक दुर्गेश थापा बताउँछन् । गत वर्षको तीजमा गायक थापाले गाएको ‘बीच्चबीच्चमा...’ले वर्चश्व कायम गरेको थियो । ‘अस्ट्रेलियामा तीज कार्यक्रमको लागि जाने पक्का भइसकेको थियो । त्यहाँ आठवटा सो हुने कुरा थियो । अब लकडाउनले त्यो कार्यक्रम पनि हुँदैन होला,’ गायक थापाले भने, ‘तीजमात्रै होइन, यसपाली कोरोनाले दशैं महोत्सवमा पनि असर गर्ने देखिन्छ ।’

उनले यो तीजमा पनि नयाँ गीत ल्याउने सोचेका थिए । अब लकडाउनले गर्दा गीत रेकर्ड गर्ने उचित माहोल नभएको उनी बताउँछन् । अहिले उनी लकडाउनको समय बिताउन बाग्लुङ पुगेका छन् ।

तीज गीतमा अत्यन्तै व्यस्त रहने गायिका राधिका हमाल कोरोनाले गर्दा कलाकारको जीवन नै धरासायी भएको बताउँछिन् । ‘लकडाउनले संगीत क्षेत्रलाई अत्यन्तै असर गरेको छ । स्टेज सोमा भर परेर बाँचिरहेका हुन्छन् कलाकारहरु । रेकर्डिङ र दोहोरी साँझको कलाकारहरु त्यसरी नै बाँचिररहनु भएको थियो,’ उनले भनिन्, ‘अहिले हरेक काम सबै ठप्प हुँदा धरासयी नै छ । कलाकारको जिन्दगी झन महाधरासयी बनेको छ ।’

यो वर्षको तीजमा उनी आफ्नै गीत ल्याउने योजनामा थिइन् । अब त्यो योजना पूरा नहोला भन्ने उनलाई चिन्ता छ । कुनैबेला वर्षमा तीज गीत मात्रै ५३/५४ वटा गाउँथिन् राधिका । अरुका गीतमा स्वर दिन उनलाई भ्याइनभ्याइ हुन्थ्यो । गत वर्ष उनले १३ वटा तीज गीत बजारमा ल्याएकी थिइन् । अरुका ११ वटा तीज गीतमा स्वर दिएर आफैंले ‘जीवनसाथी’ र ‘भाग्यमानी’ बोलको दुइवटा गीत सार्वजनिक गर्न भ्याएकी थिइन् । देशमा लकडाउन नहुँदो हो त अनामनगरमा रहेको उनको स्टूडियो म्यूजिक बैंक नेपालमा अहिले गीत रेकर्डिङ गराउनेहरुको घुइँचो हुन्थ्यो । लकडाउनले गर्दा संगीत क्षेत्र नै ठप्प परेको उनी बताउँछिन् ।

‘यतिखेर गीतको रेकर्डिङ भइरहेको हुन्थ्यो । रेकर्डिङपछि मिक्सिङ र इडिटिङ गरेर असारको अन्तिमतिर बजारमा सार्वजनिक हुन्थ्यो । तयारी चाहिँ पहिल्यैदेखि गर्नुपर्छ । रेकर्डिङपछि पनि भिडियो सुटिङ गर्दा त समय लाग्थ्यो । लकडाउन थपिँदै जाँदा यसपालि गीतसंगीतको काम पनि ठप्प हुने भयो । त्यही पूराना गीत सुन्दै बस्नुको विकल्प छैन,’ राधिकाले सुनाइन् ।

अझै पनि उनको मनमा तीज गीत गाउन पाउँछु कि भन्ने झिनो आशा छ । ‘कोरोना भाइरसबाट जोगिएछ भने फेरि राम्रो भइहाल्ला । आशा त मर्दैन । अझै पनि अवस्था राम्रो भयो भने रेकर्ड गर्न मिलिहाल्छ कि भन्ने छ । बाँचेपछि नाचिन्छ,’ उनी भन्छिन् । हुन त उनका पति कृष्ण पुन संगीत एरेन्ज गर्छन् । नयाँ गीत ल्याउनै परे पतिले नै एरेन्ज गरिदिन्छन् । तर, म्यूजिक भिडियो नै बनाउने अवस्था नरहेपछि उनी गीत रेकर्डिङ गरिहाल्ने मुडमा छैनन् ।

कोरोनाले गर्दा उनले पनि विदेशका धेरै स्टेज सोहरु छाडिन् । हरेक तीजमा विदेशका स्टेज सोमा व्यस्त रहने राधिका यो वर्ष विदेश कार्यक्रम पनि टुंगो नरहेको बताउँछिन् । ‘तीज कार्यक्रमको लागि अस्ट्रेलिया जाने कुरा भइरहेको थियो । अब त जानी कुरा पनि भएन,’ उनले भनिन्, ‘विदेशको कार्यक्रम पनि नेपालबाट गएका एनआरएन दाजुभाईले आयोजना गर्नुहुन्थ्यो । अहिले उहाँहरुले पनि यस्तै अप्ठ्यारो परिस्थिति सामना गर्नुपरेको छ । अब त विदेश कार्यक्रम गर्न गाह्रै पर्ला ।’

तीजको म्यूजिक भिडियोका लागि दौडधुप गर्न व्यस्त हुन्थिन्, मोडल करिश्मा ढकाल । लकडाउनले उनलाई पनि यतिबेला फुर्सदिलो बनाइ दिएको छ । तीजको सिजन सुरु भएसँगै सुटिङ गर्दाका झल्कोले उनलाई सताइरहेको छ । ‘सुटिङ त एकदम धेरै मिस हुँदो रहेछ । यतिबेला हामी एकदमै व्यस्त भइन्थ्यो । घर बस्ने समय हुँदैन थियो । दिनमा ३/४ वटा गीतको सुटिङ हुन्थ्यो,’ उनले भनिन् ।

गत वर्ष करिश्माले ६० भन्दा बढी तीज गीतमा नृत्य गरेकी थिइन् । रातदिन सुटिङ गर्न उनलाई भ्याइनभ्याई हुन्थ्यो । ३/४ दिनमा एकपटक घर आउँथिन् । सुटिङले गर्दा निदाउने समय पाउँथिनन् । खाना खानेबेला झुपुक्क एकछिन निदाउँथिइन् । मेकअप गर्दागर्दै निदाउँथिन् । उनलाई अहिले लाग्न थालेको छ, त्यसरी नै काम गर्न पाएको भए ?

करिश्मालाई पनि लकडाउन चाँडै खुले केही गीतमा काम गर्न पाउने आशा छ । ‘लकडाउन खुल्यो भने भ्याइन्छ कि केही भए पनि भन्ने आश छ । तर खोइ, देशको अवस्था यस्तै छ । योपालिको तीज त यत्तिकै हुन्छजस्तो लागिसक्यो,’ उनले भनिन् ।

लकडाउनले तीजका म्यूजिक भिडियोमा नृत्य गर्ने कलाकारलाई असर परेको उनी बताउँछिन् । ‘तीजमा लगभग १० लाखभन्दा बढी कमाउँथें । मलाई मात्र होइन म्यूजिक भिडियोमा नाच्ने सबैलाई लकडाउनले गर्दा यसपालि बेफाइदा भयो,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २५, २०७७ १९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×