अमेरिकन आइडलमा उपविजेता भए दिवेश पोखरेल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा उपविजेता बन्न सफल भएका छन् । शोको उपाधि जस्ट स्यामले जितेकी छन् ।उत्कृष्ट पाँचमा पुगेका अन्य प्रतियोगीभन्दा धेरै भोट पाएपछि स्यामलाई विजेता घोषणा गरिएको हो । कोरोना भाइरसको त्रास छाइरहेका बेला दिवेशको यो उपलब्धिले नेपाली समुदायमा उत्साह छाएको छ ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै दिवेशले चर्चा बटुलेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दाँजेका थिए । अर्का निर्णायक लुक ब्रायनले पहिल्यै भनिसकेका थिए– ‘मेरो विचारमा दिवेश हामीले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्छन् ।’

हाल अमेरिकाको कान्सास, विचिटामा बस्ने दिवेशको स्टेज नेम ‘आर्थर गन’ हो । यो शो एबिसी टेलिभिजनबाट प्रसारण भएको थियो । कोभिड–१९ का कारण सबै प्रतियोगीले घरबाटै प्रस्तुति दिएका थिए ।

को हुन् दिवेश ?

दिवेश काठमाडौंमै जन्मिए, हुर्किए, उनी बच्चैदेखि गुन्गुनाउँथे, गिटार बजाउन खोज्थे, जबकी उनको परिवार र आफन्त कोही संगीत क्षेत्रमा थिएनन् । उनले भनेका छन्, ‘मैले मेरो पहिलो गिटार आमाबाट पाएँ । रेडियो, टिभी जहाँ जुन गीत सुने पनि सँगै गाइहाल्थें । त्यहीँबाट गाउने सपना सुरु भयो ।’

उनको परिवार सन् २००८ मा अमेरिका बसाइँ सर्‍यो तर पढाइका कारण उनीचाहिँ सन् २०१४ तिर अमेरिका गए । जतिबेला उनले गायनलाई गम्भीर रुपमा अँगालिसकेका थिए ।

धेरैलाई थाहा नहुनसक्छ, दिवेशले पब र कफिसपमा पनि गाएका छन् । सन् २०१८ मा उनले डेब्यु एल्बम ‘ग्रहण’ सार्वजनिक गरे । यसमा आठ नेपाली गीत छन् । अर्को वर्ष ‘खोज’ एल्बम ल्याए । यसको शिर्षसहित ‘म...’ र ‘कर्णाली...’जस्ता गीतले धेरथोर चर्चा कमाए । बब डिलन, निक डार्क र बुक्का ह्‍वाइटलगाएतका संगीतकर्मी उनका आर्दश हुन् । उनले संगीतको औपचारिक शिक्षा भने लिएका छैनन् ।

दिवेशले स्टेज नेम ‘अर्थर गन’ दुई वर्षअघि आफैंले जुराएका हुन् । त्यतिबेला उनी अठारौं शताब्दीका प्रभावशाली कवि अर्थर रिमवोडका कविताहरु पढ्दै थिए । ‘मलाई अर्थरका शब्दहरु निकै आधुनिक लाग्यो र उनकै नामबाट स्टेज नेम राखें । यो नाम सजिलो पनि छ जस्तो लाग्छ,’ दिवेशले प्रस्ट्याएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘हामीले नचिनेको फुटबल’

एएफपी

बर्लिन — फुटबल भनेपछि हुरूक्क हुनेका लागि जर्मनीले शनिबार खुसी उपहार दिएको छ भन्दा हुन्छ । किनभने बन्द रंगशालामै सही, मैदानमा फुटबल त फर्केको छ । कोरोना भाइरस संक्रमणको महामारीका कारण पूरा विश्वमा फुटबल रोकिएको स्थिति थियो । यसैक्रममा जर्मनी फुटबल फर्केको पहिलो ठूलो खेलको देश पनि रह्यो । तर यो फुटबल रह्यो, हामीले नचिनेको, यसअघि हामीले नदेखेको । कस्तो रह्यो त पहिलो दिनको खेल ? एएफपीले तयार पारेको रिपोर्ट ।

हल्यान्डले राखे सामाजिक दूरी

अचेल इर्लिङ ब्रट हल्यान्डलाई फुटबलको भाषामा ‘वन्डर किड’ भन्ने गरिन्छ । यिनै खेलाडीले जर्मनीमा दुई महिनापछि फर्केको फुटबलको पहिलो गोल गरे । थोरगन हेजार्डको लो–क्रसलाई उनले गोलमा परिणत गरे, खेलले लगभग आधा घण्टा छोएको बेला । उनी भर्खर १९ वर्षका भए । उनले जम्माजम्मी बुन्डेसलिगामा ९ खेल खेलेका छन् । तर उनले गरेको गोलसंख्या १० पुगेको छ । त्यसको मदतले बोरुसिया डर्टमन्डले साल्के ०४ माथि सजिलै ४–० को जित रच्यो ।

अरू बेला भए खुसीले उनलाई अन्य खेलाडीले आफ्नो अँगालोमा बेरिसक्थे । तर हल्यान्ड सचेत थिए, त्यसैले उनले आफ्ना साथीसँग दूरी कायम राख्न बिर्सेनन् । आखिर खेल सुरु गर्ने सर्तमै यस्तो आचारसंहिता तयार पारिएको थियो । यो नियम नै भने थिएन ।

साल्केले छिरायो ५ सब्स्टिच्युट

डर्टमन्डमा भएको त्यो खेलमा साल्केले ५ सब्स्टिच्युट खेलाडी मैदान उतारेको थियो । महामारीबीच सुरु यस फुटबलमा ५ अतिरिक्त खेलाडी प्रवेश गर्न पाउने नियम थियो । यसक्रममा साल्के ५ अतिरिक्त खेलाडी प्रयोग गर्ने पहिलो टिम बन्यो । यसका लागि प्रशिक्षक डेविड वाङगरले खेल सकिन तीन मिनेटअगाडि टिमो बेकरले एभरटनबाट ऋणमा आएका जान्जोए केनीलाई सब्स्टिच्युट गरे । तर साल्केले लुसियन फाभरेको टिमलाई गोल गर्नबाट भने रोक्न सकेन । उनी आफैंले पनि चार सब्स्टिच्युट खेलाडी प्रयोग गरे । हल्यान्डको सुरुआती गोलपछि राफेल गुरेरोले दुई गोल गरेका थिए । उनी खेलका म्यान अफ द म्याच पनि रहे ।

खेलको अन्त्यतिर उनकै स्थानमा मार्सेल स्मुलेजर मैदान छिरे । उनी बने टिमले प्रयोग गरेको चौथो सब्स्टिच्युट । महिनाको अन्तरमा फुटबल हुन लागेको हुनाले लामो समय खेल्दा खेलाडी चोटग्रस्त हुन सक्ने सम्भावनाबीच ५ अतिरिक्त खेलाडी मैदान प्रवेश गर्न पाउने नियम भएको हो, यसैपल्टका लागि मात्र ।

डगआउटमा मास्कम्यान

खेलका क्रममा अहिलेसम्म कहिल्यै नदेखिएका केही दृश्य पनि देखिए । पहिलो त दर्शकदीर्घा खाली खाली थियो । नत्र, जर्मनीमा रंगशाला पूरा भरिनु सामान्य जस्तै हो । क्लबका समर्थकले यसपल्ट घरमै बसेर खेल हेरे, टीभीको माध्यमबाट । अतिरिक्त खेलाडी र पदाधिकारी रहेको डगआउटको दृश्य पनि कम्ता दुर्लभ थिएन । जति खेलाडी त्यहाँ थिए, सबै मास्क लगाएर बसेका थिए । मैदानबाहिर रहेका खेलाडीले मास्क लगाउनुपर्ने त आचारसंहिता नै बनाइएको थियो । अझ साल्केका अतिरिक्त खेलाडी त सामाजिक दूरी कायम राखेर बसे ।

अग्सवर्गका समर्थकको दुःख

पूरा विश्वका फुटबलप्रेमी खुसी थिए, फेरि एकपल्ट फुटबल सुरु भएकामा । त्यो पनि दुई महिनापछि । तर अग्सवर्गका समर्थक भने फेरि फुटबल सुरु भएको दुःखी थिए । अझ उनीहरूले त अहिलेको नाजुक स्थितिमा किन फुटबल खेलाउनुपरेको हो भनेर प्रश्न पनि गरे । दर्शकबिहीन रंगशालामा तिनै समर्थकले ब्यानर पनि राखे । त्यसमा लेखिएको थियो, ‘फुटबलले जीवन दिन्छ, तर सबै बिरामी व्यवसायमै छन् ।’

यता खेलमा पनि अग्सवर्ग उल्भ्सवर्गको हातबाट २–१ ले पराजित रह्यो । यो हारले क्लबको रेलिगेसन तनाव अझ बढेको छ ।

कृपया सफा बल

जर्मनीमा फुटबल सुरु गर्न अगाडि सरकारले बनाएको एउटा नियम थियो । खेलका क्रममा नियमित अन्तरमा बल सफा गरिरहनुपर्छ, भाइरसको संक्रमणबाट टाढा राख्न । यस्तै पोस्ट म्याच अन्तर्वार्ताका क्रममा पत्रकार र खेलाडीबीच पनि दूरी कायम गरिएको थियो । बल सफा गर्न भने केहीलाई मैदानमा खटाइएको थियो र तिनका हातमा पञ्जा थिए । यी विशेष काम पाएकाको जिम्मेवारी थियो, नियमित अन्तरमा बल ‘डिस्इन्फेक्टेड’ गर्ने ।

डर्टमन्डलाई सजिलो, लेप्जिगलाई गाह्रो

डर्टमन्डले लिग उपाधिको होडमा आफ्नो सम्भावना जीवन्त राख्न पनि सफल रह्यो । जितपछि डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको दूरी १ अंकमा छोट्याएको छ । खेल सुरु हुनुअगाडि तेस्रो स्थानमा रहेको लेप्जिगले भने फ्रेइबर्गसँग १–१ को बराबरी खेल्यो । बायर्नको ५५ अंक छ । यस्तै डर्टमन्डको ५४ र लेप्जिगको ५१ अंक भएको छ । यस्तोमा बराबरी खेल्नु लेप्जिगका लागि महँगो साबित भयो नै । दिनका सबै खेल सकिँदासम्म लेप्जिग चौथो स्थानमै झरेको थियो । किनभने बोरुसिया मोन्चेनग्लाडब्याचले दिनको अन्तिम खेलमा इन्ट्राक्ट फ्रान्कफर्टलाई ३–१ ले हरायो । यो जितपछि मोन्चेनग्लाडब्याचको ५२ अंक भयो र तेस्रो स्थानमा उक्लन सफल रह्यो ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×