कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउडमा ‘ब्राउनफेस’ संक्रमण !  

एजेन्सी

सन् २०१९ को बलिउड फिल्म ‘बाला’मा अभिनेत्री भूमि पेड्नेकर फरक अवतारमा देखिइन् । पर्दामा उनलाई ठम्याउनै गाह्रो पर्थ्यो । कालो वर्णकै कारण रंगभेदको सामाना गर्ने पात्रको अभिनय गर्न उनलाई अचाक्ली काली देखाइएको थियो । 

बलिउडमा ‘ब्राउनफेस’ संक्रमण !  

धेरैले उनको अनुहारमा पोतिएको मेकअपमा चित्त बुझाएनन् । फिल्मको ट्रेलर हेरेपछि अधिकांशले भूमिको आलोचना गरे । भूमिको अनुहारको रंग असामान्य देखाएकै कारण यसका निर्देशक अमर कौशिक पनि विवादमा तानिए ।

निर्देशक कौशिकले उक्त भूमिकाका लागि कालो वर्णको कलाकारलाई लिने सोचे पनि भूमि चरित्रमा फिट देखिएपछि उनलाई लिएको विभिन्न संचार माध्यमलाई बताएका थिए ।

‘बाला’ प्रतिनिधि फिल्म मात्रै हो । पछिल्लो समय बलिउडले धेरै फिल्ममा गोरा कलाकारलाई कालो बनाउने (ब्राउनफेस) को अभ्यास गरेको पाइन्छ । ब्राउनफेस अभ्यासबारे ‘मसान’ निर्देशक नीरज घेवानले सिएनएनलाई भनेका छन्, ‘यो वास्तवमा जातिवाद हो ।’

विशेष गरी सिमान्तकृत समुदायका पात्रको अभिनय गर्नुपर्दा कलाकारको छालाको रंग कालो बनाइन्छ । अभिनेता मिथुन चक्रवर्ती, नवाजुद्दिन सिद्दिकी र रेखाले छालाको रंगकै कारण बलिउडमा भेदभाव सहनु परेको समय समयमा बताएका छन् ।

कालो वा गहुँ गोरो रंगका थुप्रै राम्रा कलाकार हुँदाहुँदै पनि बलिउडले ‘ब्राउनफेस’ को अभ्यास छोड्न सकेको छैन । गत वर्ष रिलिज भएका ऋतिक रोशनको ‘सुपर ३०’ र रणवीर सिंहको ‘गली बोइ’मा ब्राउनफेसको अभ्यास गरिएको छ । फिल्ममा यी दुवैको अनुहार कालो बनाइएको छ । ‘बाला’जस्तै यी दुवै फिल्म बक्स अफिसमा हिट भएका थिए । यस्ता ठूलो बजेटको फिल्ममा कालो वर्णको कलाकारको भूमिका गोरो वर्णका कलाकारलाई किन गर्न लगाइन्छ बलिउडमा ?

निर्देशक घेवान भन्छन् ‘कालो वर्णको भूमिकामा गोरा कलाकारलाई लिने/नलिने फिल्मको बजेटमा पनि भर पर्छ । बलिउडले यसरी नै सोच्ने गर्छ सँधै ।’ जातीयताको गलत प्रस्तुतिले पनि बलिउडमा विविधताको कमी रहेको घेवान बताउँछन् ।

‘द हिन्दु’ पत्रिकाले सन् २०१४ मा २ वटा फिल्मले मात्रै दलित कलाकारलाई प्रमुख भूमिकामा प्रस्तुत गरेको तथ्यांक सार्वजनिक गरेको थियो । भारतीय समाजमा व्याप्त जातिय विभेद नै बलिउडमा देखिने गरेको घेवान तर्क गर्छन् । सन् १९५७ को फिल्म ‘मदर इन्डिया’मा एक किसानको भूमिका गर्न अभिनेता सुनिल दत्तको छाला कालो बनाइएको थियो ।

ब्राउनफेस र ब्ल्याकफेसको अवधारणा अमेरिकामा १९ औं शताब्दीतिर थियो । कुनै अल्पसंख्यक, कालाजाति अथवा अन्य जातिको चरित्र निभाउनु पर्‍यो भने त्योबेला गोरो वर्णका कलाकारले मेकअप गरेर आफ्नो अनुहार कालो बनाउँथे । किनकि त्यो बेला कालो वर्णका कलाकारलाई इन्डस्ट्रीमा काम गर्न निषेधित थियो । यो अभ्यास बेलायतमा पनि थियो, जब निर्देशकले सेक्सपियरको नाटकमा अल्पसंख्यक पात्रका लागि गोरो वर्णका कलाकार रोज्थे । केही दशकअघिसम्म पनि ‘ओथेलो’ को भूमिका गोरो वर्णका कलाकारले आफ्नो अनुहारको रंग कालो बनाएर नै निभाउँदै आएका थिए ।

यो अभ्यास हलिउडबाट पनि हटिसकेको छैन । अभिनेता ड्यान अकोर्डले सन् १९८३ को फिल्म ‘ट्रेडिङ प्लेस’मा होस् या रोबर्ट डाउनी जुनियरले सन् २०१२ को फिल्म ‘ट्रपिकथन्डर’मा अभिनय गर्दा होस्, आफ्नो अनुहारलाई कालो बनाएका थिए ।

छाला गोरो बनाउने उत्पादनलाई बलिउडको समर्थन

जातीयता र छालाको रंगको आधारमा हुने भेदभाव बलिउडमा मात्रै सिमित छैन । भारतीय समाजमा अझै मानिसले रंगभेदको सामना गर्छन् । मुम्बईमा हुर्केकी सिमा हरिले विद्यालयमा धेरैले छालाको रंग कालो भएकै कारण मजाक उडाउने गरेको तीतो यथार्थ सुनाएकी छिन् । ‘मलाई मान्छेहरुलाई आफ्नो मुख देखाउन मन लाग्दैन थियो । तर त्यस्तो अवस्थामा पनि म डिप्रेसनको सिकार भइनँ,’ लस एन्जलसमा सफ्टवेयर इन्जिनियरिङ गरिरहेकी सिमाले आफ्नो बाल्यकाल सम्झिइन् ।

रंगभेद विरोधी अभियानसमेत चलाउने सिमा बलिउडमा मात्रै होइन फार्मेसीदेखि ठूला बजारहरु छाला गोरो बनाउने उत्पादनले भरिएको देख्दा अझै विभेद कायम रहेको स्पष्ट पार्ने बताउँछिन् ।

बलिउडका स्टारहरु छाला गोरो बनाउने क्रिमहरुको विज्ञापनमा गरिरहेका हुन्छन् । ती विज्ञापनमा जातीय विभेद लुकेको भए पनि स्टारको अनुहारले त्यसलाई सामान्य बनाइदिने गरेको सिमा सुनाउँछिन् । समाजले गोरा अनुहारलाई प्राथमिकतामा राख्न थालेपछि सौन्दर्य सामाग्रीको व्यापार पनि भारतमा बढ्दो छ ।

केही बलिउड स्टारले यस्तो उत्पादनको प्रचार नगर्ने निर्णय पनि लिएका छन् । केही स्टार अझै यस्ता कम्पनीहरुसँग आबद्ध देखिन्छन् । बलिउड स्टार शाहरुख खान वर्षौंदेखि ‘फेर एण्ड हृयान्डसम’को प्रचारमा देखिँदै आएका छन् ।

यस्ता विभेदकारी विज्ञापनविरुद्ध सन् २०१३ मा उजुरी पनि परेको थियो । एड्भर्टाइजिङ स्ट्यान्डर्ड काउन्सिल अफ इन्डियाले सन् २०१४ मा कालो छाला भएको मानिसलाई विज्ञापनमा उदास र विपन्न देखाउन नपाइने नियम बनाएको कुरा सिएनएनले उल्लेख गरेको छ । अहिले यस्तो विज्ञापनमा सुधार देखिएको कान्सिलले बताएको छ ।

बलिउडमा काम गर्नकै लागि पनि कतिले छाला गोरो बनाउने ट्रिटमेन्ट गराउने गरेको छाला रोग विशेषज्ञ डाक्टर सुजाता चन्दाप्पा बताउँछिन् ।

‘हामीकहाँ अनुहार उज्यालो बनाउने ट्रिटमेन्टका लागि धेरै मानिसहरु आउँछन् । अधिकांश त बलिउडमै काम गर्न रुचाउनेहरु हुन्छन्,’ उनले भनिन् । उनलाई उपचारका लागि आउनेहरुले सोध्ने गर्छन्– कसरी कालो वर्णको कलाकार बलिउडमा उज्यालो देखिन्छन् ?

उनलाई लाग्छ, बलिउड प्रवेशको लागि छालाको रंग गोरो हुनुपर्ने कुरा मानिसको दिमागमा गढेर बसेको छ । यद्यपि रंगका विषयमा सोचाई फरक हुँदै गएको छ ।

दश वर्ष अगाडि एउटा गैरसरकारी संस्थाले ‘डार्क इज ब्यूटिफूल’ नामक अभियान नै चलाएको थियो । उक्त संस्थाले शाहरुख खानले प्रबर्द्धन गरेको ‘फेर एण्ड हेन्डसम’ क्रिमविरुद्ध अदालतमा निवेदन दिएको थियो ।

संस्थाकी प्रवक्तासमेत रहेकी कलाकार नन्दिता दास अरबौंको सौन्दर्य सामाग्री उपभोग हुने इन्डस्ट्रीमा कालो छालाको कलाकारलाई प्रमुख भूमिकामा लिन अझै समय लाग्ने बताउँछिन् ।

(सिएनएनबाट ।)

प्रकाशित : जेष्ठ १, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?