कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निखिल भन्छन्, ‘मेरो करिअरमा कोरोना लागेको तीन वर्ष भइसक्यो’

रीना मोक्तान

काठमाडौँ — ज्याकी च्यानका एक्सन फिल्म निकै मन पराउथे, निखिल उप्रेती । उनका साथीहरु पनि ज्याकीकै फ्यान । ज्याकी फ्यान समूह नै थियो । ज्याकीको एक्सन अभ्यास गर्थे । एकदिन छतमा निखिल आफ्ना साथीहरुलाई ज्याकीका मार्सल आर्ट देखाउनमा मस्त थिए ।

निखिल भन्छन्, ‘मेरो करिअरमा कोरोना लागेको तीन वर्ष भइसक्यो’

मार्सल आर्ट देखेर साथीको घरमा डेरा बस्दै आएका कलाकार पवन मैनालीले झट्ट निखिललाई भने ‘तिमी त खतरा मार्सल आर्ट गर्दो रहेछौ । यही चिज फिल्ममा गर्‍यो भने त गज्जब हुन्छ । मैले फिल्म बनाएँ भने त तिमीलाई लिन्छु ।’

निखिलले पनि सकारात्मक हुँदै भनिदिए ‘हुन्छ नि, मिल्यो भने फोन गर्नु न । म त मुम्बईतिर हुन्छु ।’

नम्बर साटासाट भयो ।

सन् १९९३ मा उनी फिल्म पढ्न मुम्बई पुगेका थिए । रानी मुखर्जी, रोहित सेट्टीसँग एउटै कक्षामा निर्देशन पढ्थे । डेढ वर्षे निर्देशन कोर्ष सकाएर बलिउडमा काम थाले । निर्देशन पढ्दै गर्दा पनि कति द्वन्द्व निर्देशकले उनलाई सहायक कामका लागि अफर गर्थे । तेक्वान्डोमा ब्ल्याक बेल्ट, त्यहीमाथि ज्याकीको मार्सल आर्ट ।

बलिउडमा मात्र होइन, दक्षिण भारतीय फिल्ममा पनि साहयक भएर काम गर्ने अवसर पाए ।

‘यदि मेरैबारे मैले भन्नु पर्‍यो भने म मिहेनती मान्छे हुँ । भनौं न एउटा गधा, गोरु र ममा धेरै समानता छ । निरन्तर मिहेनत गरिरहन्थें, नतिजा जस्तोसुके आओस् । मिहेनती छ, काम गर्छ, भनेर एक्सन डिरेक्टरहरुले मलाई बोलाउँथे,’ उनले भने ।

तस्बिर : सरोज बैजु

पढ्दै गर्दा पनि एक्टर स्टुडियोमा एक्सन कक्षा लिन्थे उनी । अर्कोतिर बलिउडमा स्टन्ट पनि गर्थे । स्टन्ट गर्नु रिस्क काम थियो, दुःख पनि उस्तै । बलिउडमा टिक्नकै लागि खुब दुख गरे ।

‘महाराणा प्रताप’ भन्ने टेलिश्रृंखलाबाट निखिलले द्वन्द्व निर्देशनमा सहायक भएर बलिउडमा काम सुरु गरेका थिए । बिस्तारै बलिउडमा सहायक द्वन्द्व निर्देशक भएर भिज्न थालेका के थिए अचानक एक दिन तिनै पवनले नेपालबाट उनलाई फोन गरे । आफूले फिल्म ‘पिंजडा’ बनाउन लागेको खबर सुनाउँदै फिल्ममा निखिललाई अफर पनि गरे । त्यसपछि निखिलको यात्रा मोडियो । उनी नेपाल फर्किए ।

नेपाल आएर निर्देशकलाई स्टन्टका कन्सेप्ट सुनाए । सुरुमा नौ तल्ले धरहराबाट फाल हान्ने योजना सुनाए । पुरातत्विक विभागबाट अनुमति पाएनन् । त्यसपछि कान्तिपुर पब्लिकेशनको सातौं तल्लाबाट हामफाले । यसबीच उनको चर्चा एकाएक चुलियो । अर्थात्, अभिनयभन्दा सात तलाबाट हाम्फालेको कारण उनले नाम कमाए ।

‘नेपाल यस्तो ठाउँ हो, जहाँ सात तल्लाबाट हामफाल्दा हिरो भइन्छ । दुई दिन थिएटरमा जाँदा हिरो भइन्छ । एउटा कलेजमा गएकै भरमा हिरो भइन्छ । यहाँ हिरो बन्नु नौलो कुरा होइन । मुख बङ्ग्याउन जानियो भने चर्चित हुन सकिन्छ,’ उनले व्यंग्य कसे ।

बलिउडमा गरेको दुःखले ‘पिंजडा’ मा डेब्यु गर्न मद्दत गरेको बताउँछन् उनी । यस फिल्मको पारिश्रमिकबारे यसो भन्छन्, ‘डेढ लाखमा सम्झौता भएको थियो तर हातमा १ लाख ३५ हजार मात्र पर्‍यो । डबिङ गर्न भ्याइनँ, १५ हजार पाइनँ ।’

त्यतिबेला धेरैले उनको आवाजलाई नराम्रो भनेर उडाउँथे । त्यसकारण उनलाई डबिङ गर्न मन पर्दैनथ्यो । ‘पिंजडा’ हिट भएपछि उनलाई लगातार नेपाली फिल्महरुको अफर आउन थाल्यो । उनी नेपाली फिल्मको सुटिङ सक्नासाथ बलिउड फर्कन्थे ।

नेपाली फिल्ममा काम गर्नु उनको लागि कहिल्यै ठूलो विषय भएन । किनकि उनले बलिउडका ठूला स्टारलाई बम्बईमा काम गर्दा देखेका थिए । त्यहाँको सेट, त्यहाँको प्रविधि, टिम सबै ठूलो ।

‘मलाई मुम्बई छोड्नुको दुःख थिएन । नेपालको कलाकार हुँदा त्यति उत्साहित पनि थिइनँ । बलिउडमा काम गरिरहेको भएर होला नेपालको उद्योग सानो लाग्थ्यो । मुम्बईमा त बलिउडका ठूला स्टारहरुलाई देख्थें,’ उनी पूराना दिन सम्झँदै सुनाउँछन्, ‘नेपालमा भने गफ ठूलो । नेपाल भनेको बलिउडको साइड इफेक्ट थियो । राम्रो पक्षको भन्दा पनि बिरामी पक्षको । सँधै कपी गरेर फिल्म बनायो ।’

निखिलले आफू कलाकार बन्छु भनेर कहिल्यै सोचेका थिएनन् । दुर्घट्नाबस कलाकार भएको स्वीकार्छन् निखिल । ‘साँच्चै भन्ने हो भने म नराम्रो तरिकाले हिरो भएको हो । म यस्तो तरिकाले हिरो भएँ कि मलाई सास फेर्ने फुर्सद थिएन,’ उनले आफ्ना व्यस्त दिनहरु सम्झे । आफ्ना ३५ फिल्मले हलमा ५१ दिन मनाएको बताउँछन् उनी ।

पछिल्लो ३ वर्षयता निखिलको हातमा कुनै फिल्म छैन । तीन वर्षअघि नै आफ्नो फिल्म करियरमा कोरोना लागिसकेको बताउँछन् उनी । ‘फिल्ममा कोरोना लाग्नुअघि नै मेरो फिल्मी करियरमा कोरोना लागिसकेको छ । किनभने मैले तीन वर्षदेखि काम गरेकै छैन । फिल्मकर्मीसँग पनि भेटेको छैन । मेरो एउटै उदेश्य हो कि त आफैं फिल्म बनाउँछु नत्र म कामै गर्दिनँ,’ उनले भने ।

नेपाली फिल्म उद्योगलाई उनले धेरै एक्सन फिल्महरु दिएका छन् । तर पछिल्लो समय एक्सन फिल्महरु कमै बन्न थालेका छन् । सिमित निर्माताले यो विधामा फिल्म बनाउँदा पनि उनीहरुको लगानी डुबेको छ । दर्शकले हल्काफुल्का कमेडी रुचाउन थालेपछि एक्सन फिल्म पछाडि परेको तर्क गर्छन् उनी ।

‘एक्सन फिल्म बनाउनलाई खर्च लाग्छ । कमेडी फिल्ममा खर्च हुँदैन । एक्सन फिल्ममा मिहेनत गर्नुपर्छ । जब मिहेनत नगरी गफ दिएको भरमा फिल्म चल्छ भने कल्ले मिहेनत गर्ने ?’ उनले भने, ‘नेपालीले हल्काफूल्का कमेडी मात्र हेर्न थाले । बलिउडका एक्सन त उहाँहरुले हेर्न छुटाउनुहुन्न । त्यही भएर मैले एक्सन फिल्म गर्ने आँट नगरेको हो ।’

प्रकाशित : वैशाख १५, २०७७ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?