कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालो नयाँ मिस नेपालको

कान्तिपुर संवाददाता

काठमाडौँ — नयाँ संस्करणका लागि मिस नेपालको खोजी सुरु भएको छ । दि हिडन ट्रेजरले मिस नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस वर्ल्ड, मिस युनिभर्स, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रानेसनलमा प्रतिस्पर्धी तयार पार्दै आएको छ । सन् २०२० को मिस नेपालका लागि सहभागीले चैत १४ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ । 

राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा गरिएको पत्रकार सम्मेलनमा हिडन ट्रेजरले अफिसियल वेबसाइटमार्फत पनि नि:शुल्क आवेदन भर्न सक्ने व्यवस्था मिलाएको यसका अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । पछिल्लो तीन वर्षदेखि लगातार सहभागिता जनाइरहेको मिस युनिभर्समा भने यस वर्ष मिस नेपालका सुन्दरीले सहभागिता नजनाउने बताइएको छ । यस वर्ष मिस युनिभर्सको लाइसेन्स प्राप्त नभएको हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्रीले जनाए । खास कारण नबताए पनि आगामी वर्ष सहकार्यका लागि लाइसेन्स प्राप्त गर्न सक्ने ढोका खुला रहेको क्षेत्रीले बताए ।


हिडन ट्रेजरले स्थानीय र प्रदेशमा रहेका युवतीलाई पनि सहभागी गराउने उद्देश्यले फागुन २५ देखि चैत ११ सम्म धनगढी, नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र बिर्तामोडमा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइएको छ । अन्तिम अडिसनका लागि भने होटल अन्नपूर्णमा चैत १५ मा हुने राजकर्णिकारले बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने बताइएको छ । लुकेका प्रतिभा मिस नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै जाने अध्यक्ष राजकर्णिकारले जनाए ।


पत्रकार सम्मेलनमा मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ रिया बस्नेत, मिस नेपाल इन्टरनेसनल मीरा कक्षपती र मिस नेपाल सुप्रानेसनल रोज लामा पनि थिए । उनीहरूले मिस नेपालजस्तो सुन्दरी प्रतियोगिता गरेर हिडन ट्रेजरले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे ।


यस वर्षका विजेताले २ लाख ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । कान्तिपुर टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने मिस नेपाल २०२० को ग्रान्ड फिनाले जेठ २ मा हुने बताइएको छ । प्रकाशित : फाल्गुन १४, २०७६ ०७:४९

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आठबिसकोटले बनायो दुई पाइलट

हरि गौतम

(रुकुम पश्चिम) — स्कुले बेलामा उनलाई ‘ठूलो भएर के बन्ने’ भनेर कसैले सोध्यो भने झट्ट जवाफ दिन्थे– ‘पाइलट बन्छु, हवाईजहाज उडाउँछु ।’ जब उच्चशिक्षाका लागि काठमाडौं आइपुगेर कलेज टेके, त्यसपछि के बन्छु भन्ने प्रश्नमा उनको उत्तर अलमलियो किनभने उनलाई पाइलट बन्न लाग्ने खर्च हाल्न आमाबुवाको क्षमता थिएन । 

राजधानीमा बीएस्सी पढ्दै गरेका रुकुम पश्चिमको आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीका बाल्यकालका सपना समान थिए र आर्थिक हैसियत पनि उस्तै । गाउँमा कुरा चल्यो । जनप्रतिनिधिसम्म कुरा पुग्यो । त्यसपछि नगरपालिकाले उपाय निकाल्यो– उच्चशिक्षा पढ्न चाहनेलाई सघाउने ।

यतिबेला भण्डारी र केसीले भर्खरै पाइलटको कोर्स पूरा गरेका छन् । अध्ययन र तालिमका लागि नगरपालिकाले एक करोड रुपैयाँ ऋण सहयोग गरेपछि १४ महिने कोर्स पूरा गर्न सम्भव भएको हो । फिलिपिन्सबाट घर फिरेका उनीहरू अब हवाईसेवा कम्पनीले पाइलट माग्दा जान तयार छन् । ‘सानैदेखि पाइलट बन्ने रहर थियो, पैसा थिएन,’ भण्डारीले भने, ‘नगरपालिकाले सहयोग गरेपछि मेरो सपना पूरा गर्न सम्भव भएको हो ।’

भण्डारी र केसीले फिलिपिन्सको रोयल फ्लाइट ट्रेनिङ एकेडेमीबाट पाइलट कोर्स गरेका हुन् । नगरपालिकाले उनीहरूलाई ५०/५० लाख रुपैयाँ ऋण दिएको छ । स्थानीय आठबिसकोट बचत तथा ऋण सहकारी संस्थामार्फत बिनाब्याज ऋण पाएपछि पाइलट पढ्न पाएका हुन् । पाइलट पढ्न चाहनेका लागि दिइने ऋण धितो जमानीमा दिने व्यवस्था गरिए पनि लिनेले ब्याज तिर्नु पर्दैन । पढेर जागिरमा जोडिएपछि ऋण तिर्ने किस्ता सुरु हुन्छ ।

अब उनीहरूले नेपालमा नागरिक उड्डयन प्राधिकरणको उडान अनुमतिसम्बन्धी परीक्षा दिनुपर्छ । त्यो पास भएपछि नेपाली आकाशमा उडानका लागि योग्य हुने केसीले बताए । ‘नगरपालिकाले बिनाब्याज ऋण दिएर ठूलो गुन लगाएको छ,’ उनले भने, ‘त्यति पैसा नजुटेको भए पढ्न जान सम्भव थिएन । काममा लागेपछि मात्रै ऋण तिर्न सुरु हुने भएकाले धेरै ठूलो गुन लाग्यो ।’ तालिमका क्रममा दुवै जनाले २ सय २० घण्टा विमान उडाएको उनले बताए ।

पढेर पाइलट भएर घर फर्किएका दुवैलाई गाउँमा सम्मान गरिएको छ । आठबिसकोट नगरप्रमुख गोर्खबहादुर केसीले गत आर्थिक वर्षदेखि विभिन्न क्षेत्रमा पठनपाठनका लागि ऋण सहयोग गर्ने नगरपालिकाको नीतिअनुसार दुई युवाले पाइलट बन्ने अवसर पाएको बताए । ‘पाइलटमात्र होइन, हाम्रो सहयोगमा इन्जिनियर र स्वास्थ्यकर्मी पनि पढ्दै छन्,’ उनले भने, ‘यसबाट नगरपालिकाका युवालाई रोजगारीमा अवसर दिनेछ ।’

मनमा पाइलट बन्ने रहर भए पनि आर्थिक अभावले उनीहरू दुवैजना रुचि नलागेको विषय पढ्दै थिए । ‘आर्थिक अवस्था कमजोर भएपछि घरपरिवारबाट बीएस्सी पढ्नु भन्ने जोड थियो,’ केसीले भने, ‘नगरपालिकाले हाम्रो इच्छा बुझेर पढायो, खुसी लागेको छ ।’

सम्पूर्ण कोर्स सक्न करिब ८५ लाख खर्च भए पनि नगरपालिकाले ५० लाख बिनाब्याजको ऋणले धेरै राहत भएको उनको भनाइ छ । नगरपालिकाले कार्यविधि नै बनाएर अध्ययनका लागि ऋण तथा आर्थिक सहयोग गर्ने कार्यक्रम ल्याएको छ । नगर प्रमुख केसीका अनुसार पहिलो वर्ष दुई पाइलट, दुई डाक्टर र दुई इन्जिनियर उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

नगरपालिकाको रोहवरमा संस्थाबाट ऋण लिएर पढेकाले जागिर नपाउँदासम्म ब्याज लाग्दैन । जागिर सुरु भएपछि ६ प्रतिशत ब्याज लाग्ने कार्यविधि बनाइएको छ । ऋण चुक्ता गरिसक्ने अवधि भने नतोकिएको सहकारीका अध्यक्ष हरिप्रसाद शर्माले बताए । घर, जग्गा धितो राखेर ऋण दिने र धितोको मूल्यांकन थोरै भए सामूहिक जमानीमा ऋण दिने नियम रहेको शर्माले बताए ।

‘जागिर सुरु भएको दिनदेखि ६ प्रतिशत ब्याज लाग्छ । पहिलो पटक भएकाले किस्ता तिर्न कसैले सुरु गरेका छैनन्,’ शर्माले भने, ‘धितो नपुगेकालाई सामूहिक जमानीमा दिने व्यवस्था पनि छ ।’
नगरपालिकाकै सहयोगमा इन्जिनियरिङ, एचए र नर्सिङ पनि पढिरहेका उनले बताए । अध्ययनका लागि निर्ब्याजी ऋण तथा छात्रवृत्ति सहयोग गरेको केसीको भनाइ छ ।

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×