‘जीवन एक पाठशाला’- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जीवन एक पाठशाला’

सुशील पौडेल

काठमाडौँ — ‘गाउँका छोरी बिग्रिए हिरोइन, सहरका छोरा बिग्रिए पप गायक’ बुबा एकनाथले भन्ने यस्तै कुरा सुन्दै हुर्किएका हुन्, सुगम पोखरेल । २०३६ सालमा विराटनगरको मंगलबारेमा जन्मेका उनलाई हिन्दी फिल्म र गीतको चस्का थियो । बुबाका साथी थिर दाइसँग भिडियोमा फिल्म हेर्न जान्थे । पोखरेलका मिथुन र रजनीकान्त फेवरेट हिरो थिए । अनि हिरो बन्ने भूत नचढ्ने कुरै भएन ।

‘फेरि दाजु (सुनील पोखरेल), भाउजू (निशा शर्मा) पनि नाटक, टेलिफिल्ममा देखिन थाल्नुभएको थियो । मलाई हिरो बन्ने रहरले छोयो,’ यही रहर देखेर होला, सात कक्षा पढ्दादेखि सुनील पोखरेल, सूर्यमाला खनाललगायतको टिमले बनाउन लागेको टेलिसिरियल ‘लछुमनिया’ मा उनले हिरोको बच्चा बेलाको भूमिकामा खेल्न पाउने भए ।


‘तर एउटै कुरा ५० चोटि गर्नुपर्ने, अनि चर्को लाइटले आँखै खाएपछि हिरो बन्ने रहर छोडिदिएँ,’ भर्खरै ‘श्वेत हंसिनी’ नामक सरस्वती बन्दना ल्याएका गायक पोखरेल निकै गफिए । उनले संगीतलाई नै पेसा बनाउँछु भनेर कहिल्यै सोचेका रहेनछन् । ‘सानोमा रेडियो नेपालबाट बज्ने गीतले प्रभाव पारिरहेको हुन्थ्यो । अर्थ नबुझे पनि गाउँथेँ । साथीभाइले स्वर राम्रो भनेर हौस्याउँथे,’ सुगम बाल्यकाल सम्झन्छन् । त्यसबेला भर्खरै हरिश माथेमाले ‘स्वप्निल रंगमा,’ सञ्जय प्रधानले ‘माया मेरी माया’ जस्ता पप गीत गाएर सांगीतिक क्रान्ति गरिरहेका थिए ।


‘उहाँहरूका गीत बज्न थालेपछि बल्ल आफ्नो स्वाद भेटेजस्तो लाग्यो । क्यासेट नै किनेर सुन्न थालेँ ।’ एसएलसी सकेपछि अरू धेरैजस्तै उनी पनि काठमाडौं आए २०५२ मा । संयोग, रत्न राज्यलक्ष्मी क्याम्पसमा क्लासमेट भेटे सुदिन पोखरेल । सुदिन विराटनगरे नै भए पनि चिनजानी काठमाडौंले गरायो । संगीतप्रतिको रुचिले दुवैलाई घनिष्ठ बनाइदियो । कक्षाकोठामा घण्टौं बेन्च ठटाएर गाउन थाले । यस्तैमा पहिलो गीत आयो, ‘म माया गर्छु.।’ ‘त्यसपछि त हामीलाई रातारात सुपरस्टार भयौंजस्तो भयो,’ त्यो बेलाको उत्साह सम्झँदै उनले भने, ‘एफएममा पनि गीत लगेर दियौं । एक/दुई महिनासम्म कान थापेरै सुन्यौं तर कहीं पनि बजेन ।’


दोस्रो गीतका लागि सुगम र सुदिन जेम्स दाइ (प्रधान) कहाँ पुगे । ‘दोस्रो गीत निकाल्यौं, त्यो पनि एक/दुई ठाउँमा मात्रै फाट्टफुट्ट बज्यो । त्यसपछि महसुस भयो, अलि राम्रोसँग नै गर्नुपर्ने रहेछ,’ उनले भने । तर त्यही बेला सुदिन पढ्न विराटनगर नै फर्किए । सुगम पनि रेडियो सगरमाथामा काम गर्न थाले, कार्यक्रम प्रस्तोताका रूपमा । ‘बुबाले जहिल्यै भन्नुहुन्थ्यो, बको ध्यानम् ।’ हुन पनि सुगमले देखेका थिए, भारतको एनएसडीमा त्यत्रो पढेर आएका सुनील दाइ नै फिल्ममा नआई नाट्य क्षेत्रमै अडिग भई बसेका थिए । जब कि त्यसबेला सँगैका सरोज खनालको फिल्ममा जगजगी थियो । सुगमले थपे, ‘मलाई पनि महसुस भयो, सजिलै केही नहुने रहेछ । भित्रैबाट लगाव चाहिने रहेछ । एउटा एल्बम बनाउँछु भन्ने थियो तर पेसा नै यही बनाउला भन्ने थिएन ।’ रेडियोमा छँदा चल्तीका गीतहरू किन चल्छन् ? श्रोताले कस्ता गीत रुचाइरहेका हुन्छन् भन्ने जान्ने मौका पाए सुगमले । त्यसपछि नयाँ गीत ‘मेरो संसार तिमी नै हौ...’ ट्युनर इफेक्ट्स हालेर तयार पारे । त्यो इफेक्ट्स यहाँ नयाँ थियो’ ।


अनि वान म्यान ब्यान्ड (वान एमबी) को नाममा गीत ल्याए । गीत सबैले बजाइदिए । ‘सफलताले आँट पनि आयो । सँगसँगै कतिपयले इफेक्ट्सले गर्दा चलेको हो पनि भनिदिए । एकपल्ट आफूलाई प्रमाणित गर्नुपर्ने भयो,’ त्यसपछि ‘फेरि त्यो दिन सम्झन चाहन्नँ...’ ल्याए । नसोचेको सफलता पाए । ‘त्यसपछि एल्बम निकाल्ने आँट आयो तर अन्तिम दुई गीत रेकर्ड गर्न पैसा पुगेन । पत्नीको सुनको चुरा बेचेर एल्बम निकाल्ने भएँ । ७०/८० हजार रुपैयाँ जति खर्च भएको थियो, म्युजिक डटकमलाई ९७ हजार रुपैयाँमा बेचिदिएँ,’ सुगमले सुनाए । पहिले ‘मेरो संसार...’ को भिडियोमा आफैं खेलेर फ्लप भएका उनी भिडियोमा पुन: देखिन चाहन्नथे । तर ‘फेरि त्यो दिन...’ मा आलोक नेम्वाङले एल्बमको कभरमा भएको सुगमको फोटो हेरेर यही केटोले खेल्यो भने मात्र भिडियो बनाउँछु भनिदिए । खेल्न करै लाग्यो । त्यो गीत हिट भयो ।


कुपण्डोलमा भाडामा बस्थे पोखरेल दम्पती । ‘मलाई थाहा छ, जति नै सफल भए पनि जमिनमा नै टेक्नुपर्छ । बीचमा म धेरै उडेँ पनि । महसुस भयो, टेक्ने जमिनै रहेछ । उड्नु भ्रम मात्रै रहेछ ।’ बीचमा उनी कुलतमा पनि फसे । कुलत छोडेकै दुई वर्ष भइसक्यो । ‘सफल हुन गाह्रो त हो, तर सफलतालाई जोगाइराख्न अझ गाह्रो रहेछ,’ उनले भने, ‘बीचमा म धेरै माथिसम्म बिग्रिएँ ।’ पछि स्वास्थ्य नै बिग्रिन थालेपछि, भोकलमा समस्या आउन थालेपछि भने सुगम डराए । जब पक्राउ परे, झस्किए । त्यसपछि कुलत छाडे । सुगम सुनाउँछन्, ‘मान्छेलाई सफलताले घमण्डी बनाउँछ । घमण्डले अरूलाई आदर गर्न छोड्छ । कसैको डर हुँदैन । अनि कुलतमा लाग्दो रहेछ । मेरो जीवन नै मेरा लागि पाठशाला भएको छ ।’ पाठशाला बन्यो ।’

प्रकाशित : माघ १९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

डेब्यु परीक्षामा विराज

सुशील पौडेल

काठमाडौँ — फिल्म ‘खुकुरी’ बाट फिल्मी–यात्रा थालेका विराज भट्ट त्यसको एक दशक नेपाली दर्शकमाझ निकै चले । पछिल्लो २०६९/७० मा मात्रै उनका १६ फिल्म प्रदर्शनमा आएका थिए । त्यही बेला भट्ट नेपाल छोडेर भोजपुरी फिल्म खेल्न भारत गए । उता पनि चले । 

साढे तीन वर्षपछि फेरि ‘जय परशुराम’ बाट कमब्याक गरेका भट्टले यसमा भने सोचेजस्तो सफलता पाएनन् । त्यसपछि उनले केही फिल्म खेल्न सम्झौता नगरेका होइनन् तर ती फिल्म रिलिजसम्म नै आइपुगेनन् । यतिबेला फेरि उनले ‘साङ्लो’ मार्फत अर्को प्रयास गर्दै छन् । आफ्नै निर्माण, निर्देशन र अभिनयसहित ।

‘लामो ग्याप लिन त चाहेको थिइनँ,’ फिल्म नचल्दाको त्रासले पनि काम गरेको स्विकार्दै अभिनेता भट्टले भने, ‘पक्कै पनि, त्यसले पनि सोच्न बाध्य बनाएकै हो । एउटा कलाकारले आफ्नो तरिकाले मिहिनेत गर्छ नै तर फिल्म नै उत्कृष्ट हुन त्यसको कथावस्तु, पटकथा, गीत/संगीत र प्रस्तुति सबै राम्रो हुनुपर्छ ।’

कुनै बेला स्टारडमको भ्यालु थियो । राम्रो/नराम्रो जेजस्तो भए पनि मासले आएर फिल्म हेरिदिन्थे । ‘अहिले त्यस्तो छैन । चलेका फिल्मले एकदमै राम्रो व्यापार गरिरहेका छन् भने नचलेका फिल्म डिजास्टर नै भएका छन् । फिल्म चल्न त्यसको प्रस्तुतीकरण चुस्त हुनुपर्छ । फिल्म सबै एक्सन, लभस्टोरी, फ्यामिली ड्रामा, कमेडी, थ्रिलर जनरामै बसेर सबैले बनाइरहेका हुन्छन् तर प्रस्तुति नयाँ दिन सक्नुपर्छ,’ अभिनेता भट्टले तर्क गरे । कमेडी फिल्मको लहर चलिरहेका बेला एक्सनप्रधान देखिएको ‘साङ्लो’ को अवस्था कस्तो होला त ? भट्टले भने, ‘यहाँ एउटा फिल्म चल्यो भने त्यस्तै खालका बनाउने लहर नै चल्छ । कमेडी चलिरहेको छ भन्दैमा एक्सन फिल्म नचल्ने भन्ने होइन । दक्षिण भारतका एक्सन फिल्म युट्युब ट्रेन्डिङमा हुन्छन् । एक्सन फिल्मका दर्शक नभएका होइनन् । हामीकहाँ एक्सन गर्ने मान्छेको कमी भएर विदेशी फिल्म हाबी भएको हो ।’

‘साङ्लो’ बाट निर्देशनमा डेब्यु गरेका विराजले फिल्ममा अभिनेत्रीका रूपमा निकिता चण्डकलाई अवसर दिएका छन् । २०१७ की मिस नेपाल चण्डकले यसअघि ‘रानीमहल’ बाट अभिनय–यात्रा थाले पनि उक्त फिल्म निर्माणकै क्रममा अड्कियो । ‘मैले जे चिज चाहेको छु, त्यो घुमाइफिराइ मात्रै पाएकी छु । सिधै केही पाएकै छैन,’ चण्डकले ‘साङ्लो’ बाट डेब्यु गर्न पाउँदा बढी खुसी लागेको सुनाइन् ।

अभिनेत्री बन्न राम्री हुनुपर्ने हो वा क्षमता हुनुपर्ने हो ? प्रश्नमा उनी केहीबेर हाँसिन् र भनिन्, ‘मान्छेहरू त मलाई राम्री भन्दैनन् ।’ हुन पनि उनलाई आफ्नो लुक्स सामान्यत: राम्री केटीको जस्तो लाग्दैन रे । ‘अलि फरक छ तर म मेरो क्षमताका कारण आत्मविश्वासी छु ।’ उनी सानैदेखि मन परेको नायिकाका इमोसनल डायलग एक्लै कौसीमा बसेर प्राक्टिस गर्ने सुनाउँदै थपिन्, ‘‘साङ्लो’ मा पनि इमोसनल सिन सजिलै गरेँ तर अरू सामान्य संवादका सिनमा भने बिगारेर गाली खाएकी छु ।’ अहिले भने उनी फिल्मको प्रदर्शन मिति औंला भाँच्दै कुरिरहेकी छन् ।

‘साङ्लो’ खेल्ने भएपछि उनका नजिकका साथीभाइले नगर भनेर सल्लाह दिएका रहेछन् । चण्डकले सम्झिइन्, ‘उहाँहरूले विराजजस्तो पाको कलाकार, एज ग्याप पनि धेरै भएकाले त्यसको सट्टामा योङस्टरसँग डेब्यु गर भन्नुहुन्थ्यो तर यति अनुभवीसँग काम गर्दा मैले जति सिक्ने मौका पाएँ, सायद त्यो योङस्टरसँग पाउने थिइनँ ।’ उनले आफू एक वा दुई फिल्म खेलेर हराउने गरी नआएको जिकिर गर्दै भनिन्, ‘मलाई फिल्म क्षेत्रमै हुर्किनु, बढ्नु छ । त्यसैले सिक्न चाहन्छु ।’

प्राय: फिल्ममा अभिनेत्रीलाई सो–पिसका रूपमा मात्रै प्रस्तुत गर्ने रोग छ । अझ स्टारका फिल्म वा एक्सनप्रधान फिल्ममा त यस्तो अझ बढी हुन्छ तर चण्डक भने फिल्ममा आफ्नो भूमिका महत्त्वपूर्ण र मार्मिक रहेको दाबी गर्दै दर्शकले आफूलाई सो–पिसका रूपमा नपाउने बताउँछिन् ।

यति बेला फिल्महरू चलिरहेका छैनन् । ‘साङ्लो’ चल्न सक्ने आधार के देख्छन् त भट्ट ? भन्छन्, ‘असफल भएका फिल्म पनि कसरी असफल भएका छन् भने तिनले हाइप नै बनाउन सकेनन् । न त निर्माण क्रममा, न ट्रेलर वा गीतबाट नै दर्शकमाझ चर्चा चलाउन सके । त्यस्ता फिल्म हलमा पनि चल्दैनन् । यदि ‘साङ्लो’ को पनि ट्रेलर, गीत नचलेको भए मलाई पनि फिल्म चल्छ भन्ने आशा मरिसकेको हुन्थ्यो तर दर्शकले जसरी रुचाइराख्नुभएको छ, त्यसले आशा जगाएको छ ।’ उनलाई एउटा जमातले आएर फिल्म हेर्छ भन्ने लागेको रहेछ । थपे, ‘त्यसपछि उहाँहरूले कत्तिको इन्जोय गर्नुहुन्छ ? के लिएर हलबाट निस्किनुहुन्छ ? त्यही वर्ड अफ माउथअनुरूप फिल्म चल्ने हो ।’

‘साङ्लो’ सबैखाले दर्शकले सजिलै बुझ्न सक्ने र रमाउन सक्ने फिल्म भएको भट्टको जिकिर छ । आफैं निर्माता, आफैं निर्देशक अनि अभिनेता भएपछि त्यस्तो फिल्ममा अभिनेत्री वा अन्य कलाकार छायामा पर्ने सम्भावना त हुन्छ होला नि । भट्टले अस्वीकार गर्दै तर्क गरे, ‘हो, हरेक फ्रेममा विराज भट्ट देखिनुपर्छ भन्ने मान्यता राखेर पनि फिल्म बनाइन्थे तर त्यस्ता फिल्म सफल पनि हुँदैनन् । फिल्म बनाउँदा हरेक चरित्रलाई उत्तिकै महत्त्व दिनुपर्छ । हरेक चरित्र आफ्ना ठाउँमा बलियो भएन भने फिल्म नै बलियो हुँदैन । म आफैंले बनाएँ भनेर फिल्मभरि म मात्रै हाबी हुनु हुँदैन ।’ फिल्म प्रदर्शनको पूर्वसन्ध्यामा यसो भनिरहँदा भट्ट कत्तिको ओभानो छन्, त्यो त माघ २४ पछि दर्शकले थाहा पाउने नै छन् ।

प्रकाशित : माघ १६, २०७६ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×