कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘जीवन एक पाठशाला’

सुशील पौडेल

काठमाडौँ — ‘गाउँका छोरी बिग्रिए हिरोइन, सहरका छोरा बिग्रिए पप गायक’ बुबा एकनाथले भन्ने यस्तै कुरा सुन्दै हुर्किएका हुन्, सुगम पोखरेल । २०३६ सालमा विराटनगरको मंगलबारेमा जन्मेका उनलाई हिन्दी फिल्म र गीतको चस्का थियो । बुबाका साथी थिर दाइसँग भिडियोमा फिल्म हेर्न जान्थे । पोखरेलका मिथुन र रजनीकान्त फेवरेट हिरो थिए । अनि हिरो बन्ने भूत नचढ्ने कुरै भएन ।

‘जीवन एक पाठशाला’

‘फेरि दाजु (सुनील पोखरेल), भाउजू (निशा शर्मा) पनि नाटक, टेलिफिल्ममा देखिन थाल्नुभएको थियो । मलाई हिरो बन्ने रहरले छोयो,’ यही रहर देखेर होला, सात कक्षा पढ्दादेखि सुनील पोखरेल, सूर्यमाला खनाललगायतको टिमले बनाउन लागेको टेलिसिरियल ‘लछुमनिया’ मा उनले हिरोको बच्चा बेलाको भूमिकामा खेल्न पाउने भए ।


‘तर एउटै कुरा ५० चोटि गर्नुपर्ने, अनि चर्को लाइटले आँखै खाएपछि हिरो बन्ने रहर छोडिदिएँ,’ भर्खरै ‘श्वेत हंसिनी’ नामक सरस्वती बन्दना ल्याएका गायक पोखरेल निकै गफिए । उनले संगीतलाई नै पेसा बनाउँछु भनेर कहिल्यै सोचेका रहेनछन् । ‘सानोमा रेडियो नेपालबाट बज्ने गीतले प्रभाव पारिरहेको हुन्थ्यो । अर्थ नबुझे पनि गाउँथेँ । साथीभाइले स्वर राम्रो भनेर हौस्याउँथे,’ सुगम बाल्यकाल सम्झन्छन् । त्यसबेला भर्खरै हरिश माथेमाले ‘स्वप्निल रंगमा,’ सञ्जय प्रधानले ‘माया मेरी माया’ जस्ता पप गीत गाएर सांगीतिक क्रान्ति गरिरहेका थिए ।


‘उहाँहरूका गीत बज्न थालेपछि बल्ल आफ्नो स्वाद भेटेजस्तो लाग्यो । क्यासेट नै किनेर सुन्न थालेँ ।’ एसएलसी सकेपछि अरू धेरैजस्तै उनी पनि काठमाडौं आए २०५२ मा । संयोग, रत्न राज्यलक्ष्मी क्याम्पसमा क्लासमेट भेटे सुदिन पोखरेल । सुदिन विराटनगरे नै भए पनि चिनजानी काठमाडौंले गरायो । संगीतप्रतिको रुचिले दुवैलाई घनिष्ठ बनाइदियो । कक्षाकोठामा घण्टौं बेन्च ठटाएर गाउन थाले । यस्तैमा पहिलो गीत आयो, ‘म माया गर्छु.।’ ‘त्यसपछि त हामीलाई रातारात सुपरस्टार भयौंजस्तो भयो,’ त्यो बेलाको उत्साह सम्झँदै उनले भने, ‘एफएममा पनि गीत लगेर दियौं । एक/दुई महिनासम्म कान थापेरै सुन्यौं तर कहीं पनि बजेन ।’


दोस्रो गीतका लागि सुगम र सुदिन जेम्स दाइ (प्रधान) कहाँ पुगे । ‘दोस्रो गीत निकाल्यौं, त्यो पनि एक/दुई ठाउँमा मात्रै फाट्टफुट्ट बज्यो । त्यसपछि महसुस भयो, अलि राम्रोसँग नै गर्नुपर्ने रहेछ,’ उनले भने । तर त्यही बेला सुदिन पढ्न विराटनगर नै फर्किए । सुगम पनि रेडियो सगरमाथामा काम गर्न थाले, कार्यक्रम प्रस्तोताका रूपमा । ‘बुबाले जहिल्यै भन्नुहुन्थ्यो, बको ध्यानम् ।’ हुन पनि सुगमले देखेका थिए, भारतको एनएसडीमा त्यत्रो पढेर आएका सुनील दाइ नै फिल्ममा नआई नाट्य क्षेत्रमै अडिग भई बसेका थिए । जब कि त्यसबेला सँगैका सरोज खनालको फिल्ममा जगजगी थियो । सुगमले थपे, ‘मलाई पनि महसुस भयो, सजिलै केही नहुने रहेछ । भित्रैबाट लगाव चाहिने रहेछ । एउटा एल्बम बनाउँछु भन्ने थियो तर पेसा नै यही बनाउला भन्ने थिएन ।’ रेडियोमा छँदा चल्तीका गीतहरू किन चल्छन् ? श्रोताले कस्ता गीत रुचाइरहेका हुन्छन् भन्ने जान्ने मौका पाए सुगमले । त्यसपछि नयाँ गीत ‘मेरो संसार तिमी नै हौ...’ ट्युनर इफेक्ट्स हालेर तयार पारे । त्यो इफेक्ट्स यहाँ नयाँ थियो’ ।


अनि वान म्यान ब्यान्ड (वान एमबी) को नाममा गीत ल्याए । गीत सबैले बजाइदिए । ‘सफलताले आँट पनि आयो । सँगसँगै कतिपयले इफेक्ट्सले गर्दा चलेको हो पनि भनिदिए । एकपल्ट आफूलाई प्रमाणित गर्नुपर्ने भयो,’ त्यसपछि ‘फेरि त्यो दिन सम्झन चाहन्नँ...’ ल्याए । नसोचेको सफलता पाए । ‘त्यसपछि एल्बम निकाल्ने आँट आयो तर अन्तिम दुई गीत रेकर्ड गर्न पैसा पुगेन । पत्नीको सुनको चुरा बेचेर एल्बम निकाल्ने भएँ । ७०/८० हजार रुपैयाँ जति खर्च भएको थियो, म्युजिक डटकमलाई ९७ हजार रुपैयाँमा बेचिदिएँ,’ सुगमले सुनाए । पहिले ‘मेरो संसार...’ को भिडियोमा आफैं खेलेर फ्लप भएका उनी भिडियोमा पुन: देखिन चाहन्नथे । तर ‘फेरि त्यो दिन...’ मा आलोक नेम्वाङले एल्बमको कभरमा भएको सुगमको फोटो हेरेर यही केटोले खेल्यो भने मात्र भिडियो बनाउँछु भनिदिए । खेल्न करै लाग्यो । त्यो गीत हिट भयो ।


कुपण्डोलमा भाडामा बस्थे पोखरेल दम्पती । ‘मलाई थाहा छ, जति नै सफल भए पनि जमिनमा नै टेक्नुपर्छ । बीचमा म धेरै उडेँ पनि । महसुस भयो, टेक्ने जमिनै रहेछ । उड्नु भ्रम मात्रै रहेछ ।’ बीचमा उनी कुलतमा पनि फसे । कुलत छोडेकै दुई वर्ष भइसक्यो । ‘सफल हुन गाह्रो त हो, तर सफलतालाई जोगाइराख्न अझ गाह्रो रहेछ,’ उनले भने, ‘बीचमा म धेरै माथिसम्म बिग्रिएँ ।’ पछि स्वास्थ्य नै बिग्रिन थालेपछि, भोकलमा समस्या आउन थालेपछि भने सुगम डराए । जब पक्राउ परे, झस्किए । त्यसपछि कुलत छाडे । सुगम सुनाउँछन्, ‘मान्छेलाई सफलताले घमण्डी बनाउँछ । घमण्डले अरूलाई आदर गर्न छोड्छ । कसैको डर हुँदैन । अनि कुलतमा लाग्दो रहेछ । मेरो जीवन नै मेरा लागि पाठशाला भएको छ ।’ पाठशाला बन्यो ।’

प्रकाशित : माघ १९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?