कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नसीरुद्दीन शाह र अनुपम खेरबीच वाकयुद्ध

एजेन्सी

काठमाडौँ — नयाँ नागरिकता कानूनले भारतीय राजनीति मात्र होइन, बलिउडलाई पनि तरंगीत पारिरहेको छ । सरकार पक्ष र विरोधी दुई स्पष्ट खेमा देखिन थालेको छ । कोही ‘मौका यही हो’ भन्दै सरकारको गुनगान गाइरहेका छन् भने धर्मका आधारमा नागरिकमाथि विभेद भएपछि चर्को विरोध गर्ने पनि उत्तिकै छन् ।

नसीरुद्दीन शाह र अनुपम खेरबीच वाकयुद्ध

यही सेरोफेरोमा बलिउडका दुई दिग्गजको वाकयुद्धले भारतीय मिडियामा खुबै प्राथमिकता पाएको छ । ती पात्र हुन्– अभिनेता नसीरुद्दीन शाह र अनुपम खेर ।

भन्नै पर्दैन, अनुपम मोदीभक्त हुन् अनि नसीरुद्दीनचाहिँ घोर आलोचक । मुस्लिमलाई विभेद गरिएको कानून ल्याएसँगै उनी थप रुष्ट भएका छन् । अब हुँदा–हुँदा अनुपम खेरमाथि निशाना साँध्नुपर्ने समय आएको छ । अनलाइन न्युजपोर्टल ‘द वायर’सँगको भिडियो अन्तरवार्तामा नसीरुद्दीनले अनुपमलाई ‘जोकर’को संज्ञा दिएका छन् ।

‘अनुपम खेरजस्ता मान्छे बकबक गर्छन् । मलाई लाग्दैन की उनलाई गम्भीरतापूर्वक लिनुपर्छ । उनी जोकर हुन्,’ नसीरुद्दीन थप्छन्, ‘एनएसडी र एफटीआईआईका उनका सहपाठी उनको चाप्लुसी प्रवृत्तिबारे जानकार छन् । चाकडी उनको रगतमै छ ।’ जवाहरलाल विश्वविद्यालय (जेएनयू) पुगेर घाइते विद्यार्थीप्रति सान्त्वना व्यक्त गरेकी अभिनेत्री दीपिका पादुकोणलाई उनले ‘साहसी’ मानेका छन् ।

अनुपमको आलोचना, दीपिकाको तारिफ । मोदी समर्थक मिडियालाई नसीरुद्दिनप्रति खनिन मसला मिलिहाल्यो । अनुपमसमेत चुप बसेनन् । बुधबार ट्वीटरमा भिडियो सन्देश जारी गर्दै नसीरुद्दीनलाई कडा शब्दमा जवाफ फर्काएका छन् । अरुको आलोचना गर्ने उनको प्रवत्तिबारे बलिउड बेखबर नभएको अनुपमको दाबी छ ।

‘मेरो तारिफको लागि धन्यवाद तर म तपाईं र तपाईंका कुराहरु गम्भीरतापूर्वक लिन्नँ । मैले कहिल्यै तपाईंको कुभलो चिताइनँ, केही नराम्रो भनिनँ तर अब भन्न चाहन्छु । तपाईंले यतिधेरै सफलता त पाउनुभयो तर पूरा जीवन कुन्ठामा बिताउनुभयो,’ अनुपमले भने । यसअघि पनि नसीरुद्दीनले दीलिप कुमार, अमिताभ बच्चन, राजेश खन्ना, विराट कोहलीजस्ता हस्तीको आलोचना गरेको तर कसैले ध्यान नदिएको अनुपमको दाबी छ । किन ? यसमा उनको उत्तर छ, ‘वर्षौदेखि तपाईं जुन पदार्थको सेवन गरिरहनुभएको छ, त्यसको कारण तपाईंलाई सही र गलतको अन्तर नै थाहा हुन्न ।’ आफूलाई गाली गर्दा खुशी मिल्ने भए सधैं खुशी मिलोस् भनेर उनले नसीरुद्दीनलाई उडाएका छन् ।

यी दुवै कलाकारले बलिउडबाहिर पनि ख्याती कमाएका छन् । ‘हिरो’को मानकभित्र नअटाए पनि अभिनय कुशलताकै कारण शिखर चुमेकाले उनीहरु धेरैको साझा ‘आदर्श’ हुन् । सन् २००८ मा उनीहरुले ‘अ वेनस्डे’मा सँगै काम गरेका थिए भने पाँच वर्षअघि अनुपम खेरको टेलिभिजन शोमा ओम पुरीका साथ अतिथी बनेर पुगेका थिए, नसिरुद्दीन । यो विवादपछि भने उनीहरुका प्रसंशकबीच पनि फाटो आउने देखिएको छ । यसमा पनि प्रष्ट छ, जो सरकारको आलोचक छ, त्यो नसीरुद्दीनको कित्तामा उभिन्छ । जो सरकारको समर्थक छ, त्यो अनुपमको कित्तामा ।

केही वर्षअघि पनि सरकारको आलोचनाकै कारण नसीरुद्दीन विवादमा तानिएका थिए । त्यतिबेला उनले समाजमा बढ्दो साम्प्रदायिक सोचले सन्तानको सुरक्षाबारे डर व्यक्त गरेका थिए । उनको भनाई थियो, ‘म मेरो सन्तानका लागि चिन्तित छु, भोली भीडले उनीहरुलाई तिमी हिन्दु हौ की मुस्लिम भनेर सोध्यो भने उनीहरुसँग जवाफ हुन्न ।’

प्रकाशित : माघ ९, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?