कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

ओस्कर मनोनयन : 'प्यारासाइट'को कमाल

एजेन्सी

सोमबार साँझ सार्वजनिक भएको वर्ष २०१९ को ओस्कर मनोनयनमा कोरियाली फिल्म 'प्यारासाइट'ले मुख्य विधामा परेर धेरैलाई आश्चर्यमा पारेको छ । यसै वर्ष कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जित्ने पहिलो कोरियन फिल्म बनेको 'प्यारासाइट' ओस्करमा उत्कृष्ट फिल्म र उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म दुवै विधामा मनोनित भएको छ । यी दुवैसहित यो फिल्म जम्मा ६ विधामा मनोनित भएको छ । उत्कृष्ट निर्देशक र पटकथामासमेत यो मनोनित छ ।

ओस्कर मनोनयन : 'प्यारासाइट'को कमाल

मार्टिन स्कोरसेजीको नेटफ्लिक्स ड्रामा 'दी आइरिसम्यान', क्वन्टिन टेरेन्टिनोको 'वन्स अन अ टाइम इन हलिउड', टोड फिलिप्सको 'जोकर' र साम मेन्डिसको '१९१७' सँगै बोङ जो हुको 'प्यारासाइट' वर्षको प्रभावशाली फिल्ममा परेको छ । उत्कृष्ट फिल्ममा यी उल्लिखित फिल्मका अलावा 'फोर्ड भर्सेस फरारी', 'जो जो र्‍याबिट', 'लिटल वुमन''म्यारिज स्टोरी' मनोनित छन् ।

यसपाली ठूलो भिडन्त निर्देशकमा पनि हुने देखिएको छ । निर्देशकमा दुई हलिउड हस्ती मार्टिन स्कोरसेजी (दी आइरिसम्यान) र क्वन्टिन टेरेन्टिनो (वन्स अपन अ टाइम इन हलिउड)का लागि मनोनित छन् । यिनका अलावा 'प्यारासाइट'का बोङ जो हु, वर्षकै चर्चित फिल्म 'जोकर'का टोड फिलिप्स र पहिलो विश्वयुद्धको कथा बोकेको '१९१७'का साम मेन्डिस मनोनित छन् । केहीअघि सम्पन्न गोल्डन ग्लोब अवार्डमा मेन्डिसले निर्देशक र उत्कृष्ट फिल्ममा बाजी मारेका थिए ।

उत्कृष्ट अभिनेतामा जोकरका वाकिन फिनिक्स (गोल्डेन ग्लोब विजेता), पेन एन्ड ग्लोरीका एन्टोनियो बान्डेरस (यस वर्षका क्यान विजेता), वन्स अपन अ टाइम इन हलिउडका लियोनार्डो डिक्याप्रियो, म्यारिज स्टोरीका एडम ड्राइभर र दी टु पोप्सका जोनाथन प्रेइसी मनोनित भएका छन् ।

अभिनेत्रीमा जुडीकी रेनी जेल्वेगर, बमसेलकी चार्लिज थेरोन, लिटल वुमनकी सउराइज रोनान, म्यारिज स्टोरीकी स्कारलेट जोन्सन र हर्रियतका लागि सिन्थिया एरिभोबीच प्रतिस्पर्धा हुनेछ ।

सहअभिनेतामा वन्न अपन अ टाइम इन हलिउडका ब्रड पिट, दी आइरिसम्यानका अल पचिनो र जोय पेसी तथा अ ब्युटीफुल डे इन नेवरहुडका टम ह्यांक्स र टु पोप्सका एन्थोनी हप्किन्सका बीच प्रतिस्पर्धा हुनेछ ।

अन्तर्राष्टीय फिल्म (पहिलेको विदेशी भाषाको फिल्म)मा प्यारासाइटसँग पेन एन्ड ग्लोरी, हनील्यान्ड, लेस मिजरेबल्स क्रोपर क्रिस्टीबीच प्रतिस्पर्धा हुनेछ ।

यस वर्ष 'प्यारासाइट' जस्तै गत वर्ष 'रोमा' उत्कृष्ट फिल्म र अन्तर्राष्ट्रीय फिल्ममा मनोनित थियो । यसले अन्तर्राष्ट्रीय फिल्म र निर्देशकको अवार्ड जितेको थियो ।

समग्रमा भने 'जोकर'ले सबभन्दा बढी ११ विधामा मनोनयन पाएको छ । ओस्कर अवार्ड फेव्रुअरी ९ मा वितरण गरिनेछ ।

प्रकाशित : पुस २८, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?