फिल्म समीक्षा :  एक अभियान 'छपाक'

रीना मोक्तान

काठमाडौँ — 'यस्तो घटना अरु कसैलाई नहोस् । मजस्तै अरु केटीहरुको मुस्कान नहराओस्,' भदौ २० गते एसिड आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुनले बोलेका शब्द हुन् यी । बलिउड सेलिब्रेटीदेखि विभिन्न क्षेत्रका प्रतिनिधिको ध्यानाकर्षण भयो मुस्कानमाथि ।

फिल्म समीक्षा :  एक अभियान 'छपाक'

अमिताभ बच्चन, वरुण धवनदेखि नेपालका थुप्रै सेलिब्रेटीले उनको जलेको अनुहारमा मुस्कान कायम राख्न खोजे । प्रेम अस्वीकार गरेकै कारण दुई युवकले उनीमाथि वीरगञ्जमा एसिड प्रहार गरेका थिए ।


'एसिड हतियारको रुपमा प्रयोग भइरहेको छ । बेच्ने मान्छेमाथि पनि कारबाही हुनुपर्‍यो । जसले छ्यापीरहेको छ त्यसलाई कडा सजाय हुनुपर्‍यो,' मुस्कानकी आमा शहनाज खातुनले भन्दै आएको कुरा हो । अझै पनि खुलेआम बेचिन्छ एसिड । कसैको जीवन ध्वस्त पारिदिने एसिड बेच्न बन्द भएको छैन ।


यस्तै मुद्दा अनि विषयलाई उठाएर बलिउड निर्देशक मेघना गुल्जारले बनाएको फिल्म 'छपाक' शुक्रबारबाट प्रदर्शनमा आएको छ । सन् २००५ मा एसिड प्रहारमा परेकी लक्ष्मी अग्रवालको जीवनकथामा आधारित छ फिल्म । दीपिका पादुकोणले फिल्ममा मालतीको शीर्ष भूमिकामा अभिनय गरेकी छन् । फिल्मले एसिड प्रहार र त्यसपछिको लडाइँको कथा मात्र बोल्दैन, एसिड नै प्रतिबन्ध गर्नुपर्ने अभियान सुरु गर्छ ।


१९ वर्षीया मालती (दीपिका)लाई प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण एसिड प्रहार गरिन्छ । एसिड हान्ने बसिर खान 'बब्बु' विरुद्ध न्यायको लागि लड्छिन् मालती । न्यायसँगै एसिडको खुलेआम बिक्री बितरणमा प्रतिबन्ध लगाउनु पर्ने आवाज उठाउँछिन् । यसमा उनलाई साथ दिन्छिन् वकिल अर्चना बजाज र सिराज आन्टीले । त्यसबीच एसिड प्रहारविरुद्ध काम गरिरहेको संस्थाका अतुल (विक्रान्त मेसी)सँग उनको भेट हुन्छ । घरको आर्थिक अवस्था नाजुक । त्यसमाथि पियक्कड बाबु । परिवारको जिम्मेवारी पनि मालतीकै काँधमा आइपर्छ ।


घर चलाउनुपर्ने जिम्मेवारीसँगै उनी तेजाब प्रतिबन्धको माग गर्दै जनहित याचिका लिएर पुग्छिन् अदालत । उनी यसका लागि कति धाउँछिन्, उनलाई एसिड हान्नेमाथी कारबाही हुन्छ ? उनको अभियान सफल हुन्छ ? के माल्तीले खोजेको न्याय पाउँछिन् त ? 'छपाक'ले यसको जवाफ दिन्छ ।


'छपाक'ले एसिड पीडितलाई सहयोग गर्दै आएका अभियन्ता अतुलजस्ता प्रेरणादायी समाजका पात्रलाई पनि उभ्याएको छ । अर्चना अनि सिराजले अझै समाजमा मानवता बाँचेको संकेत गर्छन् । आफैं पीडित भएर पनि न्यायका लागि अग्रसर रहने मालतीमा नेपालका संगीता मगरजस्ता एसिड पीडितको झल्को आउँछ । जो, आफूजस्तै एसिड पीडितलाई हौसला, जीवन जिउने उत्साह बाँड्छिन् ।


एसिड प्रहारले मनोबल कमजोर बनाएकाहरुलाई फिल्मले सशक्त भएर हिँड्न उत्प्रेरित गर्छ । बाँच्न सिकाउँछ । संवेदशील फिल्म बनाउन सफल रहेकी मेघनाको खुबी यो फिल्ममा पनि देखिएको छ । उनले यसअघि 'तलवार' र 'राजी' बनाएकी थिइन् । यसपटक फेरि महिला मुद्दामाथि फिल्म बनाएर मेघ्नाले आफ्नो निर्देशकिय कला देखाएकी छिन् ।


फिल्मले एसिड प्रहारमा परेकी लक्ष्मीको लडाइँ मात्र समेट्दैन । एसिड प्रहारको पीडा, पीडितमाथि पर्ने सामाजिक, मनोवैज्ञानिक असर देखाउँछ । बढ्दै गएको एसिड प्रहार जस्तो जघन्य अपराधमाथि फिल्म बनाउने साहस जुटाएकी मेघ्ननाले न्यायको लागि गर्नुपर्ने संघर्षतिर त्यति ध्यान दिएको भने देखिँदैन । त्यसैले पीडितको असीम पीडा फिल्ममा झल्कँदैन । मालतीको पूर्वकथा राम्रोसँग नआउँदा र पीडकको भूमिका निकै संक्षिप्त हुँदा दर्शकले पात्रको पीडालाई आत्मसात गर्ने धेरै अवसर पाउँदैनन् ।


एसिड आक्रमणपछि माल्तीले डाक्टरलाई भन्छिन 'डाक्टर यसपाली चाहिँ मेरो कान बनाइदिनु, झुम्का लगाउने ठाउँ भएन' भनेको दृश्य मार्मिक छ । एसिडले खाएर विभत्स भएको अनुहारलाई निकै चलाखीपूर्ण ढंगले खिचिएको छ फिल्ममा । फिल्मको सिनेमाटोग्राफी तारिफयोग्य छ । गुलजारले लेखेको शीर्ष गीत मर्मस्पर्शी छ ।


यो फिल्ममा निर्देशक मेघना जत्तिकै भूमिका अभिनेत्री दीपिकाको पनि छ । 'पद्मावत' जस्तो निकै ठूलो क्यानभास भएको पिरियड ड्रामापछि उनी यो सानो फिल्ममा देखिएकी हुन् । यही फिल्मबाट दीपिका निर्माता पनि बनेबाट उनी यो विषयमा साँच्चीकै गम्भीर छन् भन्ने देखिन्छ । अभिनयमा पनि उनले आफूलाई अब्बल दर्शाएकी छन् । फिल्ममा उनलाई एसिड पीडितमा रुपान्तरण गर्न पनि निकै मेहनत गरिएको छ ।


फिल्ममा विक्रान्त मेसी दीपिकाको जोडीको रुपमा देखिएका छन् । विक्रान्त पछिल्लो समय उदायका निकै राम्रा अभिनेता हुन् । 'लिपिस्टिक अन्डर माइ बुर्खा' र 'डेथ इन द गञ्ज' जस्ता फिल्मबाट निस्किएका विक्रान्त यो फिल्मबाट ठूलो दर्शकमाझ पुग्नेछन् । फिल्ममा दीपिकाकी वकिलको भूमिकामा देखिएकी अभिनेत्री मधुरजीतले दर्शकको पनि मन जित्छिन् ।


'छपाक'लाई फिल्ममात्रै भन्दा पनि अभियान भनिएको छ । महिलाहरुमाथि हुने जघन्य अपराध र क्रुर हिंसा हो एसिड प्रहार । धेरैजसो घटनामा त प्रेम प्रस्ताव अस्वीकार गर्दा प्रतिसोधका रुपमा युवतीहरुको रुप बिगार्ने उद्देश्यले एसिड हान्ने गरेको देखिन्छ । यस्तो क्रुर अपराध विरुद्ध अभियान चलाउनु नै यो फिल्मको सबभन्दा राम्रो पक्ष हो ।

प्रकाशित : पुस २६, २०७६ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?