२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कहाँ पुग्यो स्टार किड शक्ति र कविताको फिल्म ?

काठमाडौँ — डेढ वर्षअघि ठूलै तामझामसहित अभिनेता शिव श्रेष्ठले 'एउटा यस्तो प्रेम कहानी' चलचित्र बनाउने घोषणा गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा फिल्मको शुभमुहूर्तसमेत गरिएको थियो । तर,फ्लोरमा गएको लामो समय बितिसक्दा पनि यो फिल्मको अत्तोपत्तो छैन । प्रदर्शन मितिको टुंगो छैन । फिल्ममार्फत शिवले छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराएका थिए । 

कहाँ पुग्यो स्टार किड शक्ति र कविताको फिल्म ?

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले पनि यसै फिल्मबाट डेब्यूको तयारी गरेकी थिइन् । तर, अहिले यो फिल्मको निर्माण बीचमै रोकिएको छ । निर्देशक दीपेश सापकोटाले फिल्म पोस्ट प्रडक्सनमै अलमलिएको बताए । उनका अनुसार रियल जोडी प्रियंका कार्की, आयुष्मान देशराज जोशी र वर्षा राउत अनि संजोग कोइरालाको अभिनयमा फिल्मको आधा भाग सुटिङ भइसकेको थियो । फिल्मका कथाकार रहेका शिवले कथामा तोडमरोड गर्दै बीचमा छोरा शक्ति र कवितालाई ल्याएका थिए ।


निर्माण टिमले फिल्म घोषणा भएको १ महिनामै टिजरसमेत सार्वजनिक गरेको थियो । अहिले यो फिल्म पोस्टप्रडक्सनमै अलमलिएको निर्देशक सापकोटा बताउँछन् । 'यो फिल्ममा आठ जना निर्माता हुनुहुन्छ । मैले यसअघि सबैलाई फिल्मको वानलाइन स्टोरी सम्पादन गरेर देखाइसकें,' निर्देशक सापकोटाले भने 'उहाँहरुले त्यो मनपराउनु भयो । अब चाँडै डबिङ गर्नुपर्छ पनि भन्नु भएको थियो । तर खोइ सम्पादनमा कसैले चासो नै दिइरहनु भएको छैन । सायद निर्माताबीच तालमेल नमिलेको हो कि ।'


फिल्म निर्माणमा ढिलासुस्ती भएको सापकोटा स्वीकार्छन् । उनी यो फिल्म सकाउन चाहन्छन् तर निर्माताले चासो नदेखाइदिँदा अलमलमा परेका छन् । भन्छन् 'फिल्म नबनाउने भनेर कोही भन्नुहुन्न । तर काम अघि बढेको छैन । मलाई त जहाँ गए पनि फिल्मकै कुरा गर्छन् । निर्देशककै कारणले फिल्म रोकिएको हो कि भन्ने अनुमान पनि लगाउँदा हुन् । त्यो कुराले करियरमै धक्का पुगेको छ।'

यसअघि निर्देशक सापकोटाले 'मन्दिरा' निर्देशन गरेका थिए ।


प्रकाशित : पुस २४, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?