सामान्य कथामा अब्बल

सुशील पौडेल

काठमाडौँ — भोक मीठो कि भोजन ? चर्को भोक लागेको बेला जुनसुकै भोजन पनि स्वादिलो लाग्छ भने अघाएको बेला जतिसुकै मीठो भोजन पनि रुच्दैन । नेपाली दर्शकमा राम्रा फिल्मको भोक ठूलो छ । तर बर्सेनि प्रदर्शनमा आउने सय हाराहारीका फिल्मले पनि उक्त भोक मेटाउन सकेका छैनन् ।

तीन वर्षअघि निर्देशक प्रदीप भट्टराईले पहिलो प्रयास गरे, दर्शकलाई 'जात्रा' चखाउने । फिल्म प्रशंसित बन्यो । तिनै निर्देशकले दोस्रो प्रयास गरे, 'शत्रुगते' । मीठो भोजनको अपेक्षा गरेका दर्शकको आँत भर्न नसकेका भट्टराईले
आफ्ना भोकाएका दर्शकलाई 'जात्रैजात्रा' को भोजन लिएर आएका छन् ।

भोकमा अझ भोजन पनि स्वादिलो भयो भने के होला ? यसको उत्तर 'जात्रैजात्रा' हेर्ने दर्शकले पाउन सक्नेछन् । 'जात्रा' कै सिक्वेल र त्यही स्वादसहित आएकोले 'जात्रैजात्रा' नौलो नलाग्ला तर नमीठो छैन । भट्टराईले दर्शकको भोक र भोजनबीचको तारतम्य मिलाएर पस्केका छन् ।

'जात्रा' मा अचानक भेटिएको तीन करोड रुपैयाँ पचाएर धनी बन्ने लालचामा प्रहरी फन्दामा जेल पुगेका थिए, फणिन्द्र -विपिन), मुन्ना -रवीन्द्र झा) र जोयश -रवीन्द्रसिंह) । ३ वर्षपछि अदालतले क्लिन चिट दिएर जेलबाट छुटेपछि उनीहरू फेरि दस किलो सुनको 'जात्रैजात्रा' मा फसेका छन् ।

तर तस्करहरूको सुन हात लागेपछि सोच बदलिन्छ । त्यसलाई पचाएर गुमेको सामाजिक स्टाटसलाई फेरि उठाउन धनी बन्न खोज्छ । यात्रामा मुन्ना र जोयश सामेल हुन्छन् । 'जात्रा' मा ३ करोड पचाउन नसकेर जेल पुगेका यी तीनले यसपटक सुन चक्करमा पार पाउलान् ? वा फेरि फस्छन् ? 'जात्रैजात्रा' को सुनको 'हाइड एन्ड सिक गेम' जति रोचक छ, उति नै यसको रिजल्ट अथवा क्लाइमेक्स पनि ।

'जात्रा' देखि 'जात्रैजात्रा' सम्म आइपुग्दा विषयवस्तु पैसाबाट सुनमा बढोत्तरी भए पनि पात्र, सेटअप र द्वन्द्वमा बदलाव छैन । बरु थपिएका छन्, सुन तस्कर दावा (दयाहाङ) र उनको समूह अनि बदलिएका छन्, फणिन्द्र र उनको समूह । निष्कलंक फणिन्द्रलाई सामाजिक र पारिवारिक दबाबले रकमी र केही चलाख बनाएको छ ।

पहिले नै देखे-चिनिसकेका पात्रलाई फेरि रोचक बनाइरहन सक्नुमा पटकथा र निर्देशन दुवैमा भट्टराईले बाउन्ड्री हानेका छन् । 'शत्रुगते' मा कमजोर बनाएको स्टाटसलाई 'जात्रैजात्रा' मा पुनर्उत्थान मात्रै गरेका छैनन्, आफूलाई प्रमाणित गर्न सफल छन् । लेखकका रूपमा उनले महिला हिंसा, खुलेआम हुने तस्करी, सम्बन्धविच्छेदले सन्तानमा पर्ने असर, विवाहेत्तरसम्बन्धका उपकथामार्फत पनि गतिलो सामाजिक व्यंग्य गरेर फिल्मलाई खदिलो बनाएका छन् ।

विपिनले फेरि आफूलाई एकपटक अब्बल कलाकार सावित गरिदिएका छन् । नैतिकवान् र इमानदारबाट ढुलमुल हुन खोजेको चरित्र, परिवारप्रतिको मायामा फणिन्द्रको चरित्रमा उनी जमेका छन् । दृश्यमा धेरै कलाकार हुँदा पनि दर्शकको दृष्टि आफूतर्फ खिचिरहन उनी सफल छन् । डार्क कमेडीदेखि हाउभाउ र हर्कतमा दर्शकलाई कुत्कुताइरहन सक्नु उनको सबल पक्ष हो । त्यसो त फिल्ममा कुनै पनि पात्र र चरित्र फितलो लाग्दैनन् ।

मुन्नाको भोलापनले जगाउने हास्यरस र जोयशले दिने पन्च लाइनले दृश्यपिच्छे दर्शकलाई रमाइलो बनाइरहन्छन् । बालकलाकारका रूपमा अरबिन खड्का थोरै समय दृश्यमा देखिए पनि विस्फोटक पारी खेलेर जान्छन् । कमेडी फिल्मको लेप लागेको 'जात्रैजात्रा' लाई मर्मको आँसुले पखालेर जान्छन् । दयाहाङले 'जात्रैजात्रा' मा आफू हुनुको अर्थ स्थापित गरिदिएका छन् । सबै पात्रलाई न्याय गर्नु र चरित्रलाई बलियो बनाउन सक्नु पनि फिल्मको अब्बल पक्ष हो ।

राम्रो फिल्मका लागि राम्रो कथा हुनुपर्छ वा राम्रो पटकथा ? यसको गतिलो जवाफ 'जात्रैजात्रा' हो । कथा सामान्य हो । अझ भनौं, 'जात्रा' को भन्दा खास फरक केही छैन । तर यसको चुस्त पटकथाले पात्रलाई मूलकथाबाट बहकिन दिएको छैन भने लक्ष्य उन्मुख यात्रा पट्यारलाग्दो छैन ।

यसलाई कलाकारहरूले सजीव रूपमा पर्दामा उतारिदिएका छन् । छायांकन, पृष्ठभूमि संगीतले द्वन्द्वको मुडलाई राम्रोसँग बुझेर पछ्याएका छन् भने फिल्मका दुई गीत प्रायः नेपाली फिल्ममा हुनेजस्तो शौचालय जाने बहाना बनेका छैनन् । समग्रमा 'जात्रैजात्रा' अभिनय, प्रस्तुतीकरण र मनोरञ्जनका लागि उपयुक्त खुराक बन्न सक्छ । गतिलो फिल्मको भोक लागेको छ भने, 'जात्रैजात्रा' उपयुक्त भोजन हुन सक्छ ।

फिल्म समीक्षा
जात्रैजात्रा
निर्देशक :प्रदीप भट्टराई
कलाकार :विपिन कार्की, दयाहाङ राई, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, राजाराम पौडेल

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:३७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्रसाईंको 'वरिपरि नै सर्वाेपरि'

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक जीवनकुमार प्रसाईंको पुस्तक 'वरिपरि नै सर्वाेपरि' को शुक्रबार राजधानीमा एक कार्यक्रम गरी लोकार्पण गरिएको छ । 

लेखक प्रसाईंको यो तेस्रो पुस्तक हो । यसअघि उनले 'जीवन जिउने काइदा' र 'सधैं तन्नेरी' शीर्षकका दुई पुस्तक ल्याइसकेका छन् ।

पुस्तकमा हाम्रै वरिपरि र आसपासका संसारलाई समेटिएको पुस्तक लोकापर्णपछि समीक्षात्मक टिप्पणी गर्दै प्रमुख अतिथि तीर्थबहादुर श्रेष्ठले भने, 'पुस्तकभित्र प्रकृतिको वर्णन गहन रूपमा गरिएको छ । हामीले रुख, पानी आदिलाई प्रकृतिका रूपमा चिन्छौं । तर पुस्तकमा लेखकले यी प्राकृतिक कुराको पनि आफ्नै प्रकृतिको व्याख्या गर्नुभएको छ । रुखको प्रकृति यसको आकारप्रकार, स्वरूप हो भने पानीको प्रकृति बग्ने, जम्ने, छाल हान्नु हो ।'

श्रेष्ठले पुस्तकभित्र पञ्चतत्त्व पृथ्वी, जल,तेज, वायु र आकाश जस्ता पक्षलाई अर्गानिक रूपमा हरियालीमा परिवर्तन गर्ने कुरा उल्लेख गरिएको उल्लेख गरे । पुस्तकभित्र प्रकृतिसँगै सांस्कृतिक सम्पदा, मानिसको आहार, स्वास्थ्य, आध्यात्मिक, ज्ञानविज्ञान र प्रविधिका कुरा तथ्यगत रूपमा उल्लेख गरिएको छ । ठाउँठाउँमा राखिएका काव्यात्मक शैलीले पुस्तकमा लेखिएका कुराहरू अझ सुन्दर बनाएको श्रेष्ठले बताए । भने, 'मानिसलाई जहाँ र जस्तो अवस्थामा रहे पनि स्वास्थ्य र शरीर चाहिन्छ । जोसँग स्वस्थ शरीर छ, उसले नै जीवन भोग्न सक्छ ।'

लेखक प्रसाईंले स्वास्थ्य, खानपान, वातावरणले मानिसको गुणस्तरीय जीवनयापनलाई बहुआयामिक प्रभाव पार्ने उल्लेख गर्दै भौतिक सुखले मात्र मानिस रहन नसक्ने जिकिर गरे । 'उसलाई बाँच्न नदी किनार र हरियाली वातावरण नै चाहिन्छ । खानेकुरामा विषादी कम गरौँ । हीरा नभए पनि कीरा चाहिन्छ । हरियो जगत् जोगाऔं । फूल फुल्छ, भमरा आउँछ, हरियाली भएमा मात्र हामी हरियो हुन सक्छौं,' प्रसाइर्ंले भने । नेपालयले प्रकाशन गरेको पुस्तकमा 'हरियो जीवन', 'प्राणवायु अक्सिजन ताजा हावा', 'आआफ्नो भोजन' जस्ता शीर्षकमा प्रकृति, जीवन, भोजन, संस्कृति, मानव जीवनबारे उल्लेख गरिएका छन् ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT