१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

योद्धाहरूको सम्झनामा दौड

कान्तिपुर संवाददाता

लन्डन — लन्डनका नेपालीले गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ च्यारिटी दौड गरेका छन् । विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा ‘रिमेम्बरेन्स डे’ भइरहँदा नोभेम्बर १३ तारिख आइतबार नेपाल रन यूकेले गरेको ‘नर्थल्ट १० के’ मा सैयौं नेपालीले उत्साहजनक सहभागिता जनाए ।

योद्धाहरूको सम्झनामा दौड

बेलायतको वित्तिय सेवामा अग्रणी ए–स्टार फाइनान्सियल सोलुसन्स प्रमुख प्रायोजक रहेको उक्त दौड नर्थला फिल्ड पार्क, नर्थल्टमा भएको हो ।

दौडमा करिब २०० नेपाली तथा बेलायती धावकको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

दौड सुरु हुनुअघि लण्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र गोर्खा वेलफेयर ट्रष्टकी प्रतिनिधि केटा हन्टले शुभकामना दिएका थिए ।

भूतपूर्व गोर्खा निर्मल थापाले पाइपर धुन बजाएपछि विश्वयुद्धमा ज्यान गुमाएका योद्धाहरुको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।

उपनियोग प्रमुख खनालले यस किसिमका इभेन्टले नेपालीलाई तन्दुरुस्त रहन प्रेरित गर्ने मात्र नभई सामाजिक एकता र सद्भावमा समेत सघाउने बताइन् ।

दौडका सहभागीलाई ए स्टार फाइनान्सियल सोलुसन्सको प्रायोजनमा टिसर्ट, मेडल र आयोजकका तर्फबाट प्रथम, द्वितीय र तृतीयसहित अन्य विभिन्न वर्गीकरणका विजेतालाई ट्रफी प्रदान गरियो ।

मेन ओपन क्याटेगोरीमा पुरुषतर्फ जोनाथन होरान प्रथम, सदेश राई द्वितीय र हरि बोखिम तृतीय भए । उनीहरुलाई ए स्टार फाइनान्सियल सोलुसन्सका निर्देशक मीन दर्लामीले ट्रफी प्रदान गरे ।

त्यसैगरि, महिलातर्फ फ्रान्सिस्का बोटी प्रथम, सराह कामिनिस्की द्वितीय र सलिना राजभण्डारी तृतीय भए । बोटीले पुरस्कार स्वरुप एभरेस्ट म्याराथनको टिकट पाइन् । विजेतालाई रुडेन भुटिया रन्डरबोल्टले ट्रफी दिएकी थिइन् ।

भेट्रान पुरुषतर्फ सत्नम सिंह र महिलातर्फ भेनेसा पलले ट्रफी पाए । सञ्जय साहले ती विजेतालाई ट्रफी दिए ।

सुपर भेट्रानतर्फ स्टेफेन प्लमर र महिलातर्फ गुर्मित ललीले ट्रफी जिते । व्यवसायी तथा पूर्वराष्ट्रिय खेलाडी सुरज कार्कीले ट्रफी प्रदान गरेका थिए ।

स्वर्गीय दामन गुरुङको सम्झनामा पुरुषतर्फ तिलविक्रम साम्बाहाम्फे र महिलातर्फ समीक्षा गुरुङ क्लब विनर भए । उनीहरुलाई दामनका बुबा चित्रबहादुर गुरुङले ट्रफी दिए ।

नेपाली समुदायमा स्वास्थ्य सचेतना जगाउनुका साथै स्वास्थ्य रहन प्रेरित गर्ने एवं च्यारिटीका लागि लक्षित भएकाले दौडलाई सहयोग गरिएको ए स्टारका निर्देशक मीन दर्लामीले बताए ।

‘समुदाय स्वस्थ्य भए मात्र व्यवसायको पनि अस्तित्व रहने भएकोले यो महत्त्वपूर्ण कार्यक्रममा सहयोग गर्न पाउँदा हामीलाई गर्व लागेको छ’, दर्लामीले भने ।

कम्पनीको वार्षिकोत्सव समारोहमा खर्च गर्नुको सट्टा च्यारिटी दौडमा सहयोग गरिएको दर्लामीले बताए ।

नेपाल रनका संयोजक सन्तोष राईले दौड आयोजनाले नेपाली र स्थानीय समुदायबीच आपसी सम्बन्ध अभिवृद्धि, गोर्खा भेट्रानहरुको सेवामा समर्पित गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग र नेपाल प्रवर्धनमा समेत टेवा पुग्ने आशा व्यक्त गरे ।

ए स्टारले बेलायतमा आफ्नो भरपर्दो वित्तिय सेवा अलवा सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएर समुदायका लागि आर्थिक सहयोगमा तीव्रता दिएको छ ।

ए स्टारले विगतदेखि नै युवा खेलाडीलाई लक्षित गर्दै क्रिकेट, फुटबल र बास्केटवल लिगमा मुख्य प्रायोजन गरेको थियो ।

कम्पनीले गत वर्ष आफ्नो दसौं वार्षिकोत्सवका अवसरमा १० जना ग्राहकले छानेका १० वटा च्यारिटी संस्थालाई आर्थिक सहयोग गरेको थियो ।

प्रकाशित : कार्तिक २८, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?