कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारीको मान

काशी–विश्वनाथ मन्दिरका मुख्य पुजारी नेपाली, जसको चर्चा मोदीले पनि गर्छन् 
मन्दिरमा अहिले दैनिक २ लाख हाराहारी दर्शनार्थी आउँछन् । साउन महिनामा त्यो संख्या दैनिक ५ लाख थियो । त्यस मन्दिरको मुख्य पुजारी छन् बागलुङका टेकनारायण पौडेल ।
राजेश मिश्र

वाराणसी (भारत) — हिन्दुहरूको आस्थाको केन्द्र काशी विश्वनाथ मन्दिर जहाँ दैनिक लाख बढी दर्शनार्थीहरु आउँछन् । त्यसमा सयौं नेपालका पनि हुन्छन् । त्यही मन्दिरमा एकजना मुख्य पुजारी नेपाली छन् । ठूलो र प्रसिद्ध मन्दिरको पुजारी नेपाली भएकै कारण यहाँ नेपालीको मान वृद्धिमा पनि सहयोग पुगेको छ । 

काशी विश्वनाथ मन्दिरमा नेपाली पुजारीको मान

कान्तिपुरको आग्रहमा मन्दिरमै बिहीबार बिहान ९ बजे बोलाएका टेकनारायाण उपाध्याय(पौडेल) उक्त समयमा मन्दिरको मूल गर्भगृहमा पूजाआजामै व्यस्त थिए । उनले दिएका एकजना सहयोगीको सम्पर्क नम्बरको माध्यमबाट उनीसमक्ष पुगेपछि पूजा सकेर मन्दिरबाट बाहिरिएका उनी मन्दिरमा आएका दर्शनार्थीहरुबाट घेरिन पुगे । उनलाई खुट्टा छोएर ढोग्नेको लाइन नै लागेको थियो । मन्दिरकै अन्य पुजारीहरुले विभिन्न सर सल्लाह लिन खोजिरहेका थिए । बल्लतल्ल दर्शनार्थीबाट छुट्टिएर आएका उपाध्यायाले भने– ‘मेरो दिनचर्या नै यस्तै छ, भगवान र उनका भक्तहरुमाझ बित्दैछ।’

वि.स.२०४४ सालमा १५ वर्षको उमेरमा एकजना आफन्तका साथ लागेर आध्यात्म विषयको संस्कृत शिक्षा ग्रहणका लागि वाराणसी आइपुगेका बागलुङ काठेखोला गाउँपालिका–२ भीमपोखराका पौडेललाई एकदिन प्रसिद्ध काशी विश्वनाथ मन्दिरको पुजारी त्यसमा पनि मुख्य नै बन्छु भन्ने लागेको थिएन । लक्ष्य पनि त्यही थिएन, त्यही भएर उनले पुजारी बन्नु अगाडि भारतीय सेनामा धर्मगुरुको जागिर गरेका थिए, केही समय संस्कृतको अध्ययापन पनि गराए । तर, उनका पिताजी चुडामणि जो ज्योतिष थिए, कर्मकाण्डका जानकार र धार्मिक कथावाचकका रूपमा चिनिएका थिए । उनको इच्छा भने छोराले काशीमै त्यो पनि अध्यात्म क्षेत्रमै काम गरोस् भन्ने रहेछ । ‘मैले अध्यापन गर्दा गर्दै सेनामा जागिर खान पुगेको थिए । तर, त्यसका लागि पिताजीको आदेश भएन,’ पुजारी पौडेलले भने ‘उनको इच्छा अनुसार मैले बनारस नछोड्ने निर्णयमा पुगेको थिए ।’

प्रसिद्ध काशी विश्वनाथ मन्दिर त्यही बेला सरकारीकरण हुन पुग्नुले उनको भाग्य खुल्यो । उत्तर प्रदेश सरकारले सन् २००० मा ५ जना पूजारीका लागि विज्ञापन खुलाएको थियो । ४ सय ८० जना प्रतिस्पर्धी थिए । दोस्रो नम्बरमा उनको नाम निस्कियो । परीक्षा पास भएरै पूजारी भएको उनले सुनाए । दुई वर्षमै मुख्य पुजारीको विज्ञापन निस्क्यिो । उनले अर्को अन्तर्वार्ता दिए र सन् २००२ देखि नै काशी विश्वनाथ मन्दिरको मुख्य पुजारी भएर काम गर्दै आएका छन् । ९ वर्ष पछाडि उमेरले ६० पुगेपछि नियमानुसार उनले अवकास पाउने छन् ।

मन्दिरमा मुख्य पुजारीको दरबन्दी ११ छ । अहिले ७ जना मात्रै कार्यरत छन् । त्यसमध्ये एकजना पौडेल नेपाली नागरिक हुन् । मन्दिरमा नित्य मुख्य पूजा गर्ने र अन्य चाडबाडका अवसरमा पूजाआजा गराउने जिम्मेवारी मुख्य पुजारीको हुन्छ । सबै मुख्य पुजारी सामान छन् । र, उनीहरु नै मन्दिरको पूजा आजाका प्रमुख निर्णायक हुन् । आफ्नो पालोमा मन्दिर भित्र सम्पूर्ण पूजापाठ सम्पादित गर्ने जिम्मेवारी, भीभीआईपीहरुलाई पूजा गराउनेदेखि पूजापाठसम्बन्धी सम्पूर्ण निर्णय उनकै हुन्छ । ‘छोराले धर्मशास्त्रको जानकारी राखोस्, संस्कृतमा दख्खल राखोस् भन्ने पिताजीको चाहनाले नै म यहाँ छु,’ उनले भने ‘बाल्यकालमा पनि मैले बागलुङको परमानन्द संस्कृत गुरुकुलमा अध्ययन गरेको थिएँ ।’ उनले पुजारीका रूपमा प्रशस्तै मान सम्मान पाइरहँदा भने उनका पिता परलोक भइसकेका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसबाट लगातार दुई पटक चुनाव जितेका छन् । पहिलो पटक प्रधानमन्त्री भएलगत्तै सन् २०१४ अगस्टमा काठमाडौं पुगेका मोदीले ८ अगस्टमा संविधानसभामा सम्बोधन गर्दै यिनै पुजारी पौडेलको चर्चा गरेका थिए । आफ्नो नेपालबाट थप नाता जोडिएको भन्दै उनले भनेका थिए– ‘म काशीबाट प्रतिनिधि बनेको छु । र काशीको मन्दिरमा नेपालका पुजारी छन् ।’ उनले पशुपतिनाथ मन्दिरमा भारतको र काशी विश्वनाथ मन्दिरमा नेपालका पुजारी रहेको चर्चा दुई देशको साझापनका विशेषताहरु बताउँदा संविधानसभामा ताली गुन्जिएको थियो । ‘मोदीजी प्रधानमन्त्री हुनुपूर्व नै मेरो परिचय भइसकेको थियो, प्रधानमन्त्री भएपछि भेट्दा कति पटक मैले पूजा गराउने अवसर पाएको छु,’ पुजारी पौडेलले भने ‘त्यही भएर पनि उहाँले मलाई सम्झिनुहुन्छ ।’ प्रधानमन्त्री मोदीले पशुपतिमा भारतीय पुजारी र काशीमा नेपाली पुजारी रहेको चर्चा बेलाबखत गर्ने गर्छन् ।

श्री रामानुज दर्शन महाविद्यालयका प्रिन्सिपल प्राध्यापक डा.गोपालप्रसाद अधिकारी मोदीले नेपालको सदनमा काशीमा नेपाली पुजारी रहेको चर्चा गर्दा हरेक नेपालीको मन गद्‌गद्‍ भएको भन्छन् । ‘टेकनारायणजीका कारण आध्यात्मिक क्षेत्रमा नेपाल र नेपालीले सम्मान पाएको छ,’ उनले भने ‘काशी विश्वनाथ मन्दिरमा मुख्य पुजारीका रुपमा उनको उपस्थिति हाम्रो लागि गौरवको विषय हो ।’ धनकुटा सिधुवाका अधिकारी बनारस बस्न थालेको ४६ वर्ष भइसकेको छ ।

मन्दिरको तथ्यांकअनुसार दैनिक २ लाख हाराहारी दर्शनार्थी अहिले आउँछन् । साउन महिनामा त्यो संख्या दैनिक ५ लाख थियो । कोरोनाको प्रतिबन्ध हटेको तथा मन्दिर क्षेत्रको विस्तार र पुनर्निमाण पछि दर्शनार्थीहरुको संख्या उल्लेख्य बढेको पुजारी पौडेलले बताए ।

यत्रो प्रसिद्ध र आस्थाको केन्द्रमा नेपाली पुजारीको उपस्थितिले वाराणसीमा रहनेको मात्रै होइन, भारतभरि रहने लाखौं नेपालीहरुको मनोविज्ञानमा सकारात्मक भाव पैदा गर्ने गरेको विगत ४५ वर्षदेखि यहाँ बस्दै आएका बागलुङकै आत्माराम गौतम बताउँछन् । उनी कर्मकाण्ड प्रशिक्षकका रूपमा वाराणसीमा चिनिएका छन् । पुजारी पौडेलका पिता चुडामणिले उनकै साथ लगाएर वि.स. २०४४ मा छोरालाई शिक्षाका लागि बनारस पठाएका थिए । ‘बाल्यकालदेखि नै मेरो अभिावक उहाँ नै हो,’ पुजारी पौडेलले भने ‘उहाँबाटै आश्रय पाएर मैले शिक्षा दिक्षा लिएको हुँ ।’ गौतम भने बाल्यकालदेखि नै पढाइमा क्षमता भएका कारण आफ्नै क्षमताले टेकनारायणले आफ्नो स्थान बनाएको बताउँछन् । हुन पनि उनले व्याकारणाचार्यको उपाधि पाउँदै गर्दा स्नातकोत्तरमा काशी हिन्दु विश्वविद्यालयमा टप गरेर गोल्ड मेडल प्राप्त गरेका थिए । उनले वेदमा विद्यावारिधि गरेका छन् ।

काठमाडौं पशुपतिनाथमा दक्षिण भारतका भट्ट ब्राम्हण पुजारी हुने परम्परा नै छ । एकपछि अर्को भट्ट नै पुजारी हुन्छन् । तर, काशी विश्वनाथ मन्दिरमा टेकनाराणजी पछि अर्को नेपाली कसले मुख्य पुजारीको ओहदा पाउने विषय अनिश्चित रहेको प्राध्यापक अधिकारी बताउँछन् । हुन त मन्दिरमा पौडेलबाहेक अन्य चारजना नेपाली युवाहरु सहायक पुजारीका रूपमा काम गर्दैछन् । ‘उनीहरुको भाग्य र क्षमताले कुन तहसम्म लैजान्छ थाहा छैन,’ अर्का प्राध्यापक गौतम पनि भन्छन् ‘नेपालबाट विद्यार्थीका रूपमा आएर प्रसिद्ध मन्दिरको मुख्य पुजारी पदमा पुग्नु सामान्य कुरा होइन । टेकनारायणले त्यो क्षमता देखाउनुभयो । उनको भाग्यले पनि साथ दियो होला । तर, पछि अर्कोले त्यही अवसर पाउँछ भन्ने छैन ।’ उनले आफ्नै साथमा गाउँबाट ल्याएको, पढाएको र संरक्षण दिएको युवाका कारण गौरवान्वित महसुस हुने गरेको अनुभव सुनाउँछन् । अर्को देशको भूमिमा कुनै संस्थाको प्रधान ठाउँ पाउनु ठूलो उपलब्धि रहेको र यसले नेपाल–भारतबीचको सम्बन्धलाई पनि बढावा दिन सघाएको उनको अनुभव छ । मोदीले उनका बारेमा आफ्ना भाषणमा बोल्नुलाई पनि सम्बन्ध सुदृढीकरणका लागि चालिएको कदमका रुपमा बुझ्न सकिने उनले उल्लेख गरे ।

गत चैत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु र नेपाली प्रतिनिधिमण्डल सहित विश्वनाथ मन्दिर पुग्दा विधिवत् पुजाआजा उनै पौडेलले गराएका थिए । ‘यहाँ भएकै कारण देश विदेशका उच्च पदस्थ व्यक्तिहरुले मलाई चिन्नु हुन्छ, भगवनका भक्तहरुले मलाई स्नेह गर्नुहुन्छ,’ पुजारी पौडेलले भने ‘जहाँ पुगेको हुन्छु, मलाई भेट्ने र आशिर्वादका लागि शिवका भक्तहरु आइपुग्नुहुन्छ । त्यो मप्रति होइन भगवान विश्वनाथ प्रतिको श्रद्धाले हो ।’ प्राचीनकाल देखि नै विद्वान, धर्म, संस्कृत र सभ्यतामा निपुण नगरीका रुपमा परिचित वाराणसीमा नेपालको दुर्गम गाउँबाट आएर भगवानको सेवा गर्ने मौका पाउनु आफूलाई सौभाग्यशाली ठान्छन् पौडेल । उनले आध्यात्मिक शान्तिका लागि हिन्दुको सर्वोच्च स्थानमा शिवको आरधनाको अवसर पाएकोमा अत्यन्तै खुसी रहेको सुनाए ।

प्रकाशित : भाद्र २७, २०७९ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?