मेलबर्नमा नेपाल महोत्सवको अन्तिम तयारी

अस्ट्रेलिया — अस्ट्रेलियाको मेलबर्नमा ४ वर्षपछि आयोजना हुन लागेको नेपाल महोत्सवको तयारी पूरा भएको आयोजक अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन (एनआरएनए) ले जनाएको छ । महोत्सवमा यसपटक नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनका लागि विशेष तयारी गरेको बताइएको छ ।

अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन (एनआरएनए) ले हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । कोभिड महामारीका कारण हुन नसकेको महोत्सव ४ वर्षपछि भिक्टोरियामा आयोजना हुन लागेको हो । नेपाली कलासंस्कृति तथा पर्यटन प्रवर्द्धन र अस्ट्रेलिया-नेपाल द्धिदेशीय सम्बन्धलाई अझ सुधार गर्ने उद्देश्यले नेपाल महोत्सवको आयोजना हुन लागेको बताइएको छ।
आयोजकले यस वर्षको महोत्सवमा पर्वतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सगरमाथा आरोहणको अनुभव गराउन भर्चुअल रियालिटीसहितको विहार निर्माण गरिएको जानकारी दिएको छ । जसमा अवलोकनकर्ताले सगरमाथाको आरोहण गरेको अनुभव गर्न तथा फोटो खिच्न सक्नेछन् । जसले सहभागीलाई नेपालको पर्वतीय पर्यटनमा जान प्रेरित गर्ने आयोजकको विश्वास छ ।
महोत्सवमा नेपाललाई अस्ट्रेलियालीहरू समक्ष चिनाउने उद्देश्यले नेपालको विविध जानकारीसहितको नेपाल हाउसको स्थापना गरिएको छ भने जीवित देवीको रुपमा चिनिने 'कुमारी', विभिन्न परम्परागत झाँकी, मण्डला, धरहरा लगायत नेपाली पहिचान झल्कने विशेष साम्रगीको समेत निर्माण गरिएको छ ।
यही शनिबार हुन लागेको महोत्सवमा भिक्टोरियाका विभिन मन्त्री र सांसद साथै राजनीतिक दलका नेता, विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिका साथै अस्ट्रेलियाभर रहेका नेपाली संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ । कार्यक्रममा करिब ५० हजारले सहभागिता जनाउने आयोजकको आकलन छ ।
आयोजकका अनुसार महोत्सव मेलबर्न सहरको मुख्य पर्यटकीय क्षेत्र फेडेरेसन स्क्वायरमा आयोजना हुँदैछ भने मेलबर्नका विभिन्न ३ रुटमा गुड्ने रेलमा विगत दुई महिनादेखि महोत्सवको प्रचार गरिएको छ । यस्तै, शुक्रबार कार्यक्रमस्थल वरपर करिब एक दर्जन नेपाली झण्डा फहर्याइने छ । कार्यक्रम सफल बनाउन २० आयोजक समिति तथा ७० उपसमिति बनाएर काम गरिएको छ । यसका साथै मेलबर्न सहरको मुख्य क्षेत्रमा शनिबार बिहान नेपाली झाँकी, बाजागाजासहित परेडको समेत तयारी गरिएको छ ।
महोत्सवका संयोजक तथा आयोजक संस्था एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले महोत्सवले यहाँ रहेका विदेशीलाई नेपालको विविधितका बारेमा थप जानकारी दिने, पर्यटन प्रवर्द्धन गर्ने, दोस्रो पुस्तालाई नेपालबारे जानकारी दिने र द्विदेशबीच सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गरे । उनले कार्यक्रमलाई सफल बनाउन स्थानीय प्रहरीका साथै अन्य सरकारी निकायले समेत सहयोग पुर्याएको जानकारी दिए ।
महोत्सवमा भिक्टोरियाका शिक्षामन्त्री नाताली हर्टचिन्स, स्रोत तथा उर्जामन्त्री लिली डिएम्ब्रोसियोले सहभागिता जनाउने बताइएको छ । साथै केन्द्र तथा राज्यका सांसद, मेयर लगायतका प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । महोत्सवमा क्यानबेरास्थित नेपाली राजदूतको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा नेपाली सांगीतिक ब्याण्ड कबवेब, लोकगायक बद्री पंगेनी, गायिका एलिना चौहान लगायत स्थानीय कलाकारले सांगीतिक प्रस्तुती समेत दिनेछन् । महोत्सव आयोजनाका लागि करिब १ लाख ६० हजार डलर खर्च हुने आयोजकले जानकारी दिएको छ ।
प्रकाशित : भाद्र २२, २०७९ १७:०३