कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाजुराको एक परिवार भारतको मुम्बइमा बिचल्ली

वसन्तप्रताप सिंह

बझाङ — रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो ।

बाजुराको एक परिवार भारतको मुम्बइमा बिचल्ली

पाँच वर्षअघि श्रीमानसहित सपरिवार रोजगारीका लागि मुम्बइ पुगेकी राजपुरा र उनका पाँच छोराछोरी श्रीमानको मृत्युपछि बेसाहारा भएका हुन् । मुम्बइकै मुलन भन्ने ठाउँमा एक कम्पनीमा चौकीदारी गरिरहेका उनका श्रीमान भान्याँ दमाइ गत साउनको पहिलो हप्ता मृत अवस्थामा फेला परेका थिए ।

श्रीमानको कमाइका भरमा आफू लगायत १५, १२ र ८ वर्षका ३ छोरी र ४ र १० वर्षका दुई छोरासहित भारतमा गुजारा गरिरहेकी राजपुरालाई श्रीमानको मृत्युपछि कोठा भाडा तिर्न नसकेको भन्दै केही दिनअघि घरबेटीले निकालिदिएका थिए ।

त्यसपछि बालबच्चासहित सडकमा अलपत्र परेकी उनी अहिले एक आफन्तको शरणमा बस्दै आएकी छन् । साथमा रहेको केही रकम पनि श्रीमानको सदगद गर्ने क्रममा खर्च भएपछि बेखर्ची बनेकी राजपुराको परिवार घरबेटीले कोठाबाट निकालीदिएपछि सडकमा आएको थियो । ‘श्रीमान बितेपछि घरबेटीले कोठाबाट निकालिदियो । यतिका बालबच्चा लिएर जाने ठाउँ कतै थिएन’ उनले भनिन ‘धेरै दिन भोकभोकै सडकमा बितायौं । अहिले एक जना आफन्तको कोठामा आएका छौं’ उनले आफूलाई घर फर्किने रकम पनि नभएको बताइन् ।

‘घर फर्कौं भने ६ जनाको भाडा मात्रै ६०/७० हजार खर्च हुन्छ । यता बसौं भने केटाकेटी भोकभोकै मर्न लागे । म साह्रै समस्यामा परेकी छु’ उनले भनिन् । कसैले सहयोग गरेर भाडा सम्म जुटाइदिए नेपाल फर्कने इच्छा रहेको उनले बताइन् । नेपालमा पनि घर बाहेक अरु सम्पत्ति केही नभएको यो दलित परिवार पाँच वर्षअघि सपरिवार भारत पुगेको थियो ।

‘बुवा हुँदा कमाइ गर्नुहुन्थ्यो । हामीलाई खान कुनै समस्या थिएन । उहाँ बितेपछि आमालाई पनि काम गर्न सक्दैन भनेर मालिकले कामबाट निकालिदियो ।’ उनकी जेठी छोरी पवना दमाइले भनिन्, ‘हामी अलपत्र परेका छौं । जसरी हुन्छ हामीलाई हाम्रो घर पुर्‍याइदिनु होला’ उनले धेरै दिन सडकमा बस्नुपर्दा सुत्न र खान नपाएको बताइन् ।

मुम्बइमा रहेका बाजुराका महेश सार्कीले भने उक्त परिवारको अवस्था नाजुक रहेको बताए । ‘सडकमा दु:ख पाइरहेको थाहा पाएपछि एक जना आफन्तले आफ्नो कोठामा त ल्याउनु भएको छ । उ आफैं पनि मजदुरी गरेर खाने मान्छे यत्रो परिवार पाल्नसक्ने अवस्था छैन । यिनको उद्धारको लागि सरकार वा कुनै संघ संस्थाले सहयोग गरिदिए राम्रो हुने थियो’ महेशले भने ।

उक्त परिवारको छिटो उद्धार हुन नसके बेसहारा महिला र बालबच्चाको फेरि विचल्ली हुने अवस्था रहेको उनले बताए ।

प्रकाशित : भाद्र १८, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?