कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ट्रेलियामा कोभिड संक्रमणपछि समस्या बन्दै ‘लङ कोभिड’

हजारौं अस्ट्रेलियाली प्रभावित, नेपालीमा समेत लक्षण
नारायण खड्का

काठमाडौँ — दक्षिण अस्ट्रेलियामा बस्दै आएका रमन बास्तोला (नाम परिवर्तन) लाई कोरोना संक्रमण भएको ५ महिनापछि खोकी लाग्ने, जिउ दुख्ने, कहिलेकाहीँ सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखा परे । सुरुमा सामान्य मानेर उपचार नगरेका उनलाई चिकित्सकले अस्ट्रेलियाकै ‘लङ कोभिड क्लिनिक’ मा रिफर गरिदिए । उनी अहिले उक्त क्लिनिकमा उपचारका लागि पालो आउने पर्खाइमा छन् ।

अस्ट्रेलियामा कोभिड संक्रमणपछि समस्या बन्दै ‘लङ कोभिड’

बास्तोला मात्र नभई अस्ट्रेलियाका हजारौं सर्वसाधारण लङ कोभिडका कारण पीडित बनेपछि अहिले उपचारको पर्खाइमा छन् । सरकारीस्तरमा खोलिएका यस्ता उपचार केन्द्रमा पालो पाउन नै महिनौं कुनुपर्ने अवस्था सिर्जना भइसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण सुरु भएपछि पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा चर्चा हुन थालेको लङ कोभिडबारे धेरैलाई थाहा नहुन सक्छ । तर‚ विश्व स्वास्थ्य संगठनले करिब दुई वर्षअघि नै यसलाई औपचारिक रुपमा पहिचान गरिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार लङ कोभिडबाट पीडित भएको पुष्टि हुनका लागि कोरोना संक्रमण भएको ३ महिनासम्म पनि कोभिडसँग सम्बन्धित लक्षण निको नभएको वा निको भए पनि पुनः लक्षणहरू देखिएको हुनुपर्नेछ । यसका साथै उक्त लक्षणलाई अन्य तरिकाले उपचार गर्दा निको नभएको हुनुपर्दछ । थकित हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिनु र यस्ता लक्षणले आफ्ना दैनिक जीवनयापनमा असर गर्नुलाई संगठनले लङ कोभिडको लक्षणका रुपमा परिभाषित गरेको छ ।

लङ कोभिडका कारण सर्वसाधारण पीडित बन्न थालेपछि अस्ट्रेलिया सरकारले यसबाट प्रभावित सर्वसाधारणलाई सहज उपचार पुर्‍याउने उद्देश्यले लङ कोभिड क्लिनिक नै स्थापना गरेको छ । यहाँस्थित हरेक राज्यले आफ्ना मुख्य अस्पतालमा यससम्बन्धी उपचार केन्द्र स्थापना गरेर उपचार गर्न सुरु गरेका हुन् ।

पूर्णतः सरकारी स्वामित्वमा ‘लङ कोभिड क्लिनिक’ नाम दिएर स्थापना गरिएका क्लिनिकमा कार्डियोलोजी, रेस्पिरेटोरी, न्युरोलोजी, नाक, कान तथा घाँटी, मिर्गौला मानसिक स्वास्थ्य, जनरल मेडिसिनलगायत विशेषज्ञ चिकित्सकले निःशुल्क उपचार गर्ने गरेका छन् । यसैगरी उक्त उपचार टोलीमा फिजियोथेरापी तथा एक्सरसाइज फिजियोजीसमेत सहभागी रहेका छन् ।

उनीहरुले अस्ट्रेलियामा अहिले यसका कारण हजारौं नागरिक पीडित छन् । 'द सिड्नी मर्निङ हेराल्ड'का अनुसार हालै गरिएको एक अध्ययनमा कोरोना संक्रमण भएकामध्ये ५ प्रतिशत नागरिक यसका कारण पीडित हुने देखिएको छ ।

अस्ट्रेलियामा अहिलेसम्म करिब ९० लाखलाई कोरोना संक्रमण भइसकेको छ, जसको आधारमा हेर्दा लाखौं नागरिक यसबाट प्रत्यक्ष प्रभावित हुने देखिन्छ । अस्ट्रेलियास्थित भिक्टर चाङ कार्डियाक रिसर्च इन्स्टिच्युटकी कार्यकारी निर्देशक तथा हृदयरोग विशेषज्ञ जेसन कोभाकिकले करिब ५ लाख सर्वसाधारण यसका कारण पीडित हुने दाबी गरेकी छन् । विज्ञले कोभिड संक्रमण र यसले मानव स्वास्थ्यमा पुर्‍याउन सक्ने हानीबारे अहिले पनि अनुसन्धान नै भइरहेकाले केही भन्न नसकिने बताएका छन् ।

उक्त क्लिनिकबाट उपचार सेवा लिनका लागि सामान्य चिकित्सक अर्थात् जीपीबाट रिफरल हुनुपर्ने प्रावधान राखिएको छ । उक्त क्लिनिकका विशेषज्ञले बिरामीको स्वास्थ्यका लागि आवश्यक पर्ने उपचार तथा अन्य सेवाका लागि सिफारिस गर्ने गरेका छन् भने सरकारी तवरमै जीपीमार्फत नै निःशुल्क उपचारको व्यवस्था हुने गरेको छ ।

मेलबर्नस्थित लाटोर्ब रिजनल अस्पतालमा चिकित्सकका रुपमा काम गर्दै आएका डा. भुवन कँडेल कोरोना संक्रमणपछि देखिने यस्ता समस्याबाट बच्नका लागि समयमै चिकित्सकको सल्लाह लिन तथा उपचार गर्नुपर्ने सल्लाह दिन्छन् । ‘अहिले लङ कोभिडका कारण प्रभावित सर्वसाधारणको संख्या बढिरहेको मात्र छैन कि अबको केही समयपछि यो ठूलो समस्याका रुपमा देखिने सम्भावना छ‚’ उनले कान्तिपुरसँग भने ।

कोरोना संक्रमण भएको ३ महिनासम्म पनि लगातार खोकी, स्वासप्रश्वासमा समस्या, जिउ दुख्नेलगायत लक्षण बाँकी नै रहेको भए चिकित्सकको सल्लाह लिनुपर्ने उनी बताउँछन् । उनी यसबाट अस्ट्रेलियाली मात्र नभएर यहाँ रहेका नेपाली समेत उल्लेख्य रुपमा प्रभावित बन्दै गएको अनुभव सुनाउँछन् ।

लङ कोभिडले नेपालजस्तो स्वास्थ्य क्षेत्रमा कम पहुँच र कोरोनासम्बन्धी कम ज्ञान भएका सर्वसाधारण यसबाट भविष्यमा अझ प्रभावित हुने चिकित्सकको दाबी छ । डा. कँडेल सर्वसाधारणलाई यसको लक्षण देखिने र यो सामान्यजस्तो लाग्ने भएकाले समयमै उपचार नगरे समस्या आउन सक्ने बताउँछन् ।

उनी नेपालले सरकारीस्तरमै लङ कोभिड र यसको उपचारका बारेमा सर्वसाधारणलाई अझ जागरुक गराउनुपर्ने र सही उपचारको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । कोभिडले पार्ने असर अहिले पनि अनुसन्धानकै क्रममा रहेकाले लक्षणका बारेमा सही सूचना, जानकारी दिनु र उपचार पद्धतिका बारेमा सचेत गराउनु जरुरी रहेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?