बेलायती पर्यटक नेपाल भित्र्याउन दूतावासको पहल- प्रवास - कान्तिपुर समाचार

बेलायती पर्यटक नेपाल भित्र्याउन दूतावासको पहल

नवीन पोखरेल

लन्डन — लन्डनस्थित नेपाली दूतावासले ब्रिटिस पर्यटक नेपाल भित्र्याउन पहल सुरु गरेको छ । कोभिड महामारीपछि पहिलोपटक प्रत्यक्ष कार्यक्रम गरी दूतावासले नेपालको पर्यटन प्रवर्द्धनका लागि पहल गरेको हो । 

नेपालको अर्थतन्त्र उकास्न पर्यटनका सम्भावनाबारे दूतावासमा मंगलबार साँझ आयोजित कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्दै नेपाल विदेशी पर्यटक स्वागत गर्न आतुर रहेको जनाए ।

राजदूत आचार्यले कोभिड महामारीपछि नेपालको पर्यटन पुनर्जीवित हुने चरणमा रहेको उल्लेख गर्दै बेलायती पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए ।

‘भर्चुअल’ रुपमा काठमाडौंबाट जोडिएका नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डाइरेक्टर लक्ष्मण गौतमले स्लाइड सोमार्फत नेपालका विशेषता औंल्याए । नेपालको भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथि सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवासुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या अन्य देशको तुलनामा अग्रपंक्तिमा रहेको पनि बताए ।

भर्चुअल रुपमै सहभागी अर्का वक्ता नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले नेपालको पर्यटकीय आकर्षणबारे अवगत गराउँदै नेपाल पर्यटकका लागि विश्वमै उत्कृष्ट गन्तव्य रहेको बताए ।

उक्त कार्यक्रममा बीबीसी मास्टर सेफ द प्रोफेसनल्सका फाइनलिस्ट सेफ सन्तोष शाहले नेपाली खाना विश्वमा परिचित गराउन आफू लागिरहेको जनाउँदै नेपालजस्तो उत्कृष्ट गन्तव्य र खानाका परिकार अन्यत्र नभएको धारणा राखे ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, लेखक तथा पत्रकार जो बाइन्डलस, ट्राभल कन्सोलका सञ्चालक विराज भट्ट, एओल एड्भेन्चरका अपरेसन्स म्यानेजर ड्यान राइटलगायतले नेपालको पर्यटन विशेषता औंल्याउँदै नेपाल भ्रमण गर्न बेलायतीलाई प्रेरित गरेका थिए ।

कार्यक्रममा सेफ सन्तोष शाह, कोभिड महामारीका बेला अंग्रपंक्तिमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीहरूलाई एक लाख बक्स खाना निःशुल्क बाँड्ने सुजन कटवाल र एभरेस्ट इनका सेफ शंकर पाण्डेलाई दूतावासका तर्फबाट सम्मान गरिएको थियो ।

ट्राभल एन्ड टुर्स अपरेटर, ट्राभल राइटर, ट्राभल व्यवसायी, सञ्चारकर्मीलगायत बेलायती तथा नेपाली सहभागी उक्त कार्यक्रममा सयपत्री कल्चरल ग्रुपमा आबद्ध किशोरीहरूले मौलिक नेपाली नाच प्रस्तुत गरेका थिए भने सयपत्री अध्यक्ष डम्बरसिंह प्रयासले सारंगीको धुन सुनाएका थिए ।

प्रकाशित : असार २२, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गरौँ : कांग्रेस उपसभापति खड्का

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट निर्माण भएको विषयलाई संसदीय समितिमार्फत छानबिन गरिनुपर्ने बताएका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे र अर्थमन्त्रालयको सीसीटीभी फुटेज मेटाइएकोबारे व्यापक विरोध भइरहेका बेला प्रधानमन्त्रीनिकट मानिने कांग्रेस उपसभापति खड्काले विगतका परम्परामा टेकेर संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उपसभापति खड्काले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, 'बजेट निर्माणको बेलाको विषय समेतलाई जोडेर अर्थमन्त्रालयका सम्बन्धमा संसद् र आमजनमानसको गम्भीर चासो विषय बनिसकेपछि यो विषयलाई विश्वासिलो तरिकाले समाधान गर्न संसदीय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गरिनु ठीक हुन्छ। विगतमा पनि संसद्को यस्तो परम्परा छ । बरु ढिलो नगरौँ संसद्‍बाट आजै संसदीय समिति निर्माणको टुंगो लगाऔं ।'

अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट घोषणाको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार २२, २०७९ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×