कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोर्खा वार्ताका लागि बेलायती रक्षा मन्त्रालयलाई आह्वान

कान्तिपुर संवाददाता

लन्डन — लन्डनस्थित नेपाली दूतावासले बेलायतको रक्षा मन्त्रालय (एमओडी) लाई पत्र लेख्दै भूतपूर्व गोर्खाहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि आह्वान गरेको छ ।

गोर्खा वार्ताका लागि बेलायती रक्षा मन्त्रालयलाई आह्वान

बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले एमओडीलाई नेपाल सरकार र भूतपूर्व गोर्खाप्रतिनिधिका तर्फबाट वार्ताका लागि भएको गृहकार्यबारे औपचारिक जानकारी दिँदै ब्रिटिस पक्षको तयारी सम्बन्धमा जिज्ञासा राखेका हुन् ।

नेपालको मन्त्रिपरिषद्‌ले केही दिनअघिमात्र राजदूत आचार्यलाई गोर्खा प्रतिनिधि सम्मिलित 'जिटुजी' वार्ताका लागि नेतृत्व गर्न जिम्मा दिने निर्णय गरेको थियो ।

'बेलायती पक्षलाई पत्र लेखेर हाम्राबारे भइरहेको तयारी अवगत गराएका छौं,' राजदूत आचार्यले आइतबार नेपाल पत्रकार महासंघ बेलायतको स्वागत कार्यक्रममा भने, 'ब्रिटिस पक्षबाट पनि कहिले प्रक्रिया अगाडि बढ्छ जिज्ञासा राखेका छौं । यो लामो नेगोसिएसनबाट हुने भएकाले समय लाग्न सक्छ । तर, अब गोर्खा समस्याको दीर्घकालीन समाधान खोज्न हामी प्रयत्नरत छौं ।'

दूतावासले गोर्खा संगठनका तर्फबाट वार्ता समितिमा बस्ने अभियन्ताहरुको नाम समेत दिएको जनाइएको छ । राजदूत आचार्यले आफूलाई सरकारबाट कतिसम्म निर्णय गर्ने अधिकार दिइएको छ भन्नेबारे चाहिँ खुलाएनन् ।

नेपाल सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्ने जिम्मा पाए लगत्तै राजदूत आचार्यले शुक्रबार गोर्खा संगठनका अभियन्ताहरुसँग छलफल गरेका थिए ।

छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन (नेसा) र गोर्खा जस्टिस ग्रुपआवद्ध दश जना गोर्खा अभियन्ता सहभागी थिए ।

राजदूत आचार्यलाई स्वागत

नेपाल पत्रकार महासंघ बेलायत शाखाले राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ । आइतबार लन्डन दूतावासमा एक कार्यक्रम आयोजना गरी शाखाले हालै पदबहाली गरेका राजदूतसँग अन्तरक्रिया समेत गरेको छ ।

शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पगुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत आचार्यले पत्रकार महासंघ बेलायतसँगको सहकार्यलाई दूतावासले उच्च महत्त्वसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । भूपू गोर्खाहरुको मुद्दालाई आफ्नो मूल प्राथमिकतामा राखेको भन्दै उनले यो समस्याको स्थायी समाधान खोजिने बताए ।

प्रकाशित : फाल्गुन २३, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?