चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा अलपत्र नेपालीको उद्धारमा कठिनाइ 

लक्ष्मी लम्साल

बेइजिङ — विगत ६ महिनादेखि चीनको एउटा हिरासतमा रहेका नेपालीको पर्याप्त प्रमाण अभावका कारण उद्धारमा कठिनाइ भएको छ। हङकङसँग सीमा जोडिएको क्वाङ्तोङ प्रान्तमा अवैध तरीकाले प्रवेश गरेका ती नेपालीको आवश्यक कागजात अभावमा उद्धार गर्न सकस परेको हो। 

आफूलाई नेपाली बताउने र नेपाली भाषामा पनि बोल्नसक्ने करीब ६९ वर्षीय ती व्यक्तिले आफूसँग कुनै कागजात नरहेको बताएका छन्। सन् १९५३ मार्च ३ मा जन्मेका दिङ्री बन्धु श्रेष्ठ नाम बताउने ती व्यक्ति हाल क्वाङ्तोङ प्रान्तकै अर्को सहर तोङ्क्वानस्थित नगर सार्वजनिक सुरक्षा ब्युरोको नियन्त्रणमा छन्।

ब्युरोले क्वाङ्चौस्थित नेपाली महावाणिज्य दूतावास समक्ष पत्राचार गर्दै सम्बन्धित व्यक्ति यदि नेपाली हुन् भने आवश्यक कागजात उपलब्ध गराएर रिहाई प्रक्रियाका लागि पहल गर्न भनेको छ।

काठमाडौंको बूढानीलकण्ठ वडा नं ५ घर बताउने निज अविवाहित श्रेष्ठले नेपालमा कुनै आफन्त र परिवार नरहेको, नेपाली नागरिकताको प्रमाणपत्र र राहदानी समेत आफूसँग नभएको, नेपालमा उद्धार प्रक्रियाका लागि कुनै नातेदार पनि नभएको बताएका छन्। पर्याप्त विवरण संकलन हुन नसक्दा निजको उद्धारमा समस्या भएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ।

यसअघि महावाणिज्य दूतावासका अधिकारीहरूले भेटेका बेला ती व्यक्तिले नेपाली भाषामै कुराकानी गरेका थिए। त्यसक्रममा पनि निजले आफ्नाबारे विस्तृत विवरण दिन नसकेको क्वाङ्चौ महावाणिज्य दूतावासले कान्तिपुरलाई बतायो।

प्रकाशित : फाल्गुन १०, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्

छारेरोगका बिरामी अचानक मृत्यु हुने ‘स्युडेप’ के हो?

‘सुतेको समयमा स्युडेपको सम्भावना धेरै नै हुन्छ । सुतेको बेलामा सिजर आएर थुक सर्कियो भने मान्छेको मृत्यु हुनसक्छ । त्यसैले पोजिसन र सिजरलाई नियन्त्रणमा राख्नुपर्छ ।’
बुनु थारु

काठमाडौँ — सर्लाहीका १० वर्षीय मिर्गौला फेल भएका बालक कोरोना कहरले समयमा डायलसिस गराउन पाइरहेका थिएनन् । उनमा २ वर्षअघि देखि सिजरको समस्या पनि देखिँदै आएको थियो । उनलाई एकदिन तीनपटक सिजर आएको थियो । चौथोपटक पनि सिजर आएपछि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भयो । 

तस्बिर : सटरस्टक

चिकित्सकका अनुसार उनको मृत्यु ‘सडन अनएक्सपेक्टेड डेथ इन इपिलेप्सी’ (स्युडेप) का कारण भएको थियो । २ वर्षअघिको घटना सम्झिँदै अन्नपूर्ण न्यूरो अस्पतालका न्यूरोलोजिस्ट डा. अभिनाश चन्द्र भन्छन्– ‘एम्बुलेन्समा ल्याउँदै गर्दा बच्चाले पानी खान्छु भनेपछि पानी खाएर पल्टिँदा उसको मृत्यु भयो । मृत्यु हुँदा ऊ घोप्टो परेको अवस्थामा थियो । घोप्टो परेर सुत्दा अक्सिजन नपाएर मृत्यु भएको देखिन्छ । उक्त समयमा घोप्टो परेर नसुताएको भए र पानी नदिएर सलाइन पानी चढाएको भए बालक बाँच्नसक्ने सम्भावना रहन्थ्यो । ती बालकको पानी पिएपछि पानी सर्केर मृत्यु भएको जस्तो देखिन्छ । अवस्था हेर्दा ‘स्युडेप’बाट मृत्यु भएको हुन सक्छ ।’

डा. चन्द्रका अनुसार स्युडेप हुनुभन्दा पहिले सिजर भएकै हुनुपर्छ । दिमागमा करेन्टको बहावमा खराबी आइ कोषिकाहरु चहिनेभन्दा बढी काम गर्न थाल्यो भने सिजर आउने गर्दछ । ‘एकपटक मात्र छारे भयो भने छारेको आक्रमण गरेको भनिन्छ । कुनै पनि छारेरोगमा जहिले पनि स्युडेपको सम्भावना हुन्छ । एकपटकको आक्रमणले पनि मान्छेको ज्यान जान सक्छ । अचानक ज्यान जानु नै स्युडेप हो,’ उनले भने ।

इपिलेप्सी फाउन्डेसनका अनुसार पटक–पटक छारेरोग भइराख्ने नै यसको बढी जोखिममा हुन्छन् । विश्वमा वार्षिक एक हजारमा एकजना र चार हजार ५०० जना बालबालिकामा एकजना स्युडेपको कारणले मृत्यु हुने गरेको छ ।

अनियन्त्रित सिजर स्युडेपको प्रमुख कारण हो । सिजरका बिरामीहरु बेडमा सुतिरहेकै बेला मृत्यु भएको पाइन्छ । ‘स्युडेप’ मृत्युको कारण ठ्याक्कै यही हो भनेर अझैसम्म अध्ययनले देखाएको छैन । किनकी हरेक मृत्यु केस अनुसार फरक पर्नसक्छ । केही अनुसन्धानकर्ताहरुले सिजरले मुटुको धड्कन अनियमित बनाउने र त्यसले मृत्यु हुनसक्ने बताएका छन् ।

इपिलेप्सी अर्गनाइजेसन यूकेका अनुसार यो दुर्लभ देखिए पनि यसका बारेमा जनचेतना आवश्यक छ । छारेरोगबाट दुर्घटना, आत्महत्या, डुबेर, लामो समयसम्म सिजरले आक्रमण गरिरहेमा मृत्यु हुने गरेको पाइएको छ । कुनै व्यक्तिलाई सिजर ३ मिनेटभन्दा बढी देखिएमा तुरुन्त अस्पताल लानुपर्दछ । छारेरोगका बिरामीहरु धेरै रक्सी खाने, चर्को आवाज, अनिद्रा, तनाव, उच्च प्रकाश जस्ता सिजरको आक्रमण बढाउन सक्ने माध्यमबाट टाढा रहनुपर्ने चिकित्सक बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा २४ हजार पाँच सय ३२ जना छारेरोगका बिरामी छन् । अघिल्लो वर्ष यसको संख्या १५ हजार छ सय ४७ थियो । तथ्यांकले छारेरोगीको संख्यामा वृद्धि देखाएको छ । छारेरोगीको संख्याको तथ्यांक भएपनि यसबाट कति जनाको मृत्यु हुन्छ भन्ने तथ्यांक भने उपलब्ध छैन । त्यसमाथि स्युडेपका कारण मृत्यु हुनेको तथ्यांक त राखिएकै छैन । केही चिकित्सकहरुले मात्र आफूसँग आएका केसलाई औल्याउँदा स्युडेपको कारणले मृत्यु भएका उदाहरण छन् ।

नेशनल न्युरो सेन्टर महाराजगञ्जका सिनियर कन्सलटेन्ट न्युरोलोजिस्ट डा लेखजंग थापाले सिजरलाई सजिलो रुपमा लिन नहुने बताउँदै स्युडेपको बारेमा मानिसमा जनचेतना अभाव भएको बताए । उनले भने –‘स्युडेप भन्ने पनि अस्तित्वमा छ भनेर धेरैलाई थाहा छैन । कस्तो खालको छारेरोगमा स्युडेपको सम्भावना हुन्छ भनेर चिकित्सकले राम्ररी परामर्श दिन जरुरी छ ।हरेक अस्पतालमा यसको तथ्यांक राख्नुपर्छ र तथ्यांकलाई प्रवाह गर्न पनि जरुरी छ । यसका केश नभएका होइनन् तर यसबारे तथ्यांक नराखिएको हो । स्युडेपबाट बचाउन राम्रो विशेषज्ञसँग राम्रो उपचार गराउनुपर्छ ।’ छारेरोगका बिरामीलाई सरकारले २०७४ सालबाट नियमित रूपमा औषधि निःशुल्क प्रदान गर्ने गरेपनि धेरैजना उपचारको दायरामा आउन सकेका छैनन् ।

काठमाडौं न्यूरो एन्ड जेनेरल अस्पताल सुन्धाराकी न्यूरोफिजिसियन डा. इशा ढुंगानाले तथ्यांक नराख्दा स्युडेप मृत्यु कसरी भयो र संख्या कति होला भनेर भन्न गाह्रो हुने बताउ“छिन् । डा. ढुंगाना भन्छिन्– ‘यस्ता मृत्यु नेपालमा होला । तर, मैले अहिलेसम्म त्यस्ता केसहरु देखेको छैन । सायद घरमै मृत्यु भएका मान्छे अस्पतालसम्म आइनपुगेका हुन सक्छन् । आए पनि कसरी मृत्यु भएको भनेर खोजतलास गरिँदैन । हाम्रोमा तथ्यांक नै छैन । सिजर आउँदा कसैले नदेख्दा बिरामीको मृत्यु भएको मानिन्छ ।’

डा. ढुंगानाले स्युडेप हुनुका कारण सिजर आएको बेला मुटुको चालहरु अनियमित हुने, फोक्सो राम्ररी काम नगरेर अक्सिजनको लेभल घटेर हाइपोक्सिया भएर मृत्यु हुने कारण हुनसक्ने अध्ययनले देखाएको बताउ“छिन् । यस्ता बिरामीको मृत्यु हुँदा पोस्टमार्टम गर्दा उनीहरुमा प्राय फोक्सो तथा मस्तिष्क सुन्निएको, अक्सिजन नपुगेर मुटुको चाल गडबड भएको देखिन्छ ।

‘सिजरको राम्रो उपचार गरे जोखिम कम’

मेडिसिटी अस्पतालका न्यूरोसर्जन डा. गोपालरमण शर्मा छारेरोग २० प्रतिशतजतिलाई वंशाणुगत हुनसक्ने बताउँछन् । उनका अनुसार छारेरोग फित्ते जुकाको संक्रमण, ट्युमर, हेड इन्ज्युरीका कारणले पनि हुनसक्छ । डा. शर्माका अनुसार वंशाणुगत छारेरोग छ भने जिन्दगीभर औषधि खानुपर्ने हुनसक्छ ।

त्यसैगरी अरु कारणले छारेरोग भएको छ भने कम्तीमा २ वर्षसम्म औषधि चलाइन्छ । त्यसपछि पुनः चेकजाँच गर्दा सबै ठीक छ भने बिस्तारै औषधि घटाउँदै लगिन्छ । डा. शर्मा भन्छन्– ‘झ्याप्पै कहिल्यै पनि औषधि छोड्नुहुन्न । छारेले आक्रमण गर्न सक्छ । ६०–७० प्रतिशतमा एकचोटी औषधि बन्द गरेपछि दोहोरिँदैन र २०–३० प्रतिशतमा दोहोरिन सक्छ । पटक–पटक सिजर आयो र अस्पताल लगेन भने मस्तिष्कमा अक्सिजन नपुगेर बिरामीको मृत्यु हुन्छ । ’

डा. चन्द्रका अनुसार पहिचान नभएकै कारण पनि स्युडेपमा धेरैको ध्यान पुगेको देखिँदैन । ‘ब्रेनको वेभ हाइपर एक्साइट हुनु संक्रमण वा अरु कुनै गडबडीले हुन्छ । ३–४ प्रतिशतलाई बिना कारण सिजर आउने हुन्छ । त्यसैगरी शरीरले चाहेजस्तो निद्रा नपाउँदा, थकान हुँदा, अत्यधिक मद्यपानले पनि सिजर आउँछ,’ उनले भने ।

डा. चन्द्रका अनुसार स्युडेप बालबालिका तथा ज्येष्ठ नागरिकहरुमा बढी देखिने गरेको छ । उनले जति सिजर बढ्दै गयो त्यति नै स्युडेपको सम्भावना झन् उच्च रहने बताए । उनले सकेसम्म छिटो अस्पताल ल्याएर हाइग्रेडको औषधि चलाएमा बिरामी बाँच्नसक्ने दाबी गरे । उनको भनाईमा सिजरका बिरामीले सुत्ने पोजिसन याद गर्नुपर्छ । जस्तै सुत्दाखेरी पोजिसन कोल्टो वा उत्तानो परेर सुत्ने गर्नुपर्छ । त्यसैगरी सिजरको औषधि नियमित सेवन गर्ने गर्दा पनि स्युडेपको जोखिम कम हुन्छ ।

‘सुतेको समयमा स्युडेपको सम्भावना धेरै नै हुन्छ । सुतेको बेलामा सिजर आएर थुक सर्कियो भने मान्छेको मृत्यु हुनसक्छ । त्यसैले पोजिसन र सिजरलाई नियन्त्रणमा राख्नुपर्छ,’ उनले भने ।

न्यूरोफिजिसियन डा. ढुंगानाले औषधि खाँदा पनि अनियन्त्रित छारेरोग, अनियमित औषधि खाने बिरामी उच्च जोखिममा रहेको भन्दै सिजरको राम्रो उपचार नै यसबाट बच्ने उपाय रहेको बताउँछिन् । डा. ढुंगाना भन्छिन्– ‘उपचार नगरी छोडेको खण्डमा सिजर नियन्त्रण भएन भने स्युडेप हुनसक्छ । उपचारलाई बेवास्ता गर्नुभएन । उपचारको विभिन्न तरिका छन् । औषधिले पनि छोएन भने सर्जरी पनि छन् । औषधि नछुटाइ खानुपर्‍यो ।’

प्रकाशित : फाल्गुन १०, २०७८ १७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×