कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक

लन्डन — एकजना भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष गुरुङलाई ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक प्रदान गरिएको हो ।

भूतपूर्व ब्रिटिस गोर्खालाई प्रतिष्ठित ‘एमबीइ’ पदक

गत अक्टोबर २०२० मा घोषणा गरिएको उक्त पदक बेलायती महारानी एलिजावेथ द्वितियाकी सुपुत्री राजकुमारी एनी (केजी, केटी, जिसिभिओ, क्यूएसओ, सिडी) को बाहुलीबाट बकिङहम प्यालेसमा आयोजित एक समारोहबीच प्रदान गरिएको गुरुङले जनाए ।

परोपकारी कार्यमा विशिष्ट योगदान गरेबापत दिइने उक्त पदक थोरै नेपालीले पाएका छन् । नेपाल र बेलायतका लागि अतुलनीय र उदाहरणीय सामाजिक योगदान गरेबापत सो पदक पाएपछि आफूलाई परोपकारी कार्यमा लाग्न अझ प्रेरित गरेको उनले बताए ।

‘परोपकारी संस्थाहरूमा आवद्द रही मलाई साथ सहयोग र पदकका लागि उच्च मूल्यांकनसहित सिफारिस गरिदिएकोमा आदरणीय मित्रहरू डेरेक कलिन, नाइजल हिस्सी, केन, लेन कस्टीस, अलान र पूर्व मेयर अफ ब्ल्याकपुल भाल हेन्स लगायत उच्चतहका व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूप्रति म निकै आभारी छु’ उनले भने, ‘आज म एक मात्र नेपाली नेपाल देशलाई चिनाउँदै पदकबाट विभूषित हुन पाउँदा अत्यन्त हर्षित र गौरवान्वित छु ।’

२० वर्ष बेलायती सेनामा सेवा गरेर विगत १६ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा ‘द गोर्खा’ नामक होटल, रेस्टुरेन्ट तथा पब सञ्चालन गर्दै आएका गुरुङ आफूलाई मानिसहरूले ‘किङ अफ दि च्यारिटी वर्कर’ भन्दा गर्व लागेको बताए ।

उनले बेलायत तथा नेपालमा कैयौं उदाहरणीय परोपकारी कार्य गरेका छन् । २६ रोपनी जग्गा किनेर सन् २०१३ मा पोखरामा सहारा एकेडेमी निर्माण गर्दा उनी आर्थिक संयोजक थिए ।

एकेडेमीमा हाल २४ जना विपन्न बालबालिकालाई गास, बास, स्वास्थ्य, खेलजस्ता सुविधा दिइएको छ । महाभूकम्पका बेला सिन्धुपाल्चोकको हाइबुङ उच्च माध्यमिक विद्यालय र गोरखाको गणेश प्राविमा करिब ६० लाख रुपैयाँ खर्च गरी पुनर्निर्माण गर्न पनि उनको प्रमुख भूमिका थियो ।

स्याङ्जाको ओरस्टे मड्किनामा करिब १२ रोपनी जग्गामा करिब ५ करोडको लगानीमा निर्माणाधीन स्वास्थ्य केन्द्रको उनी मुख्य संयोजकसमेत हुन् ।

उनले ओरस्टेस्थित आफ्नो घरमा करिब डेढ करोड रुपैयाँ लगानी गरेर नेपाली ढाँचासहित पहिलो सांस्कृतिक संग्रहालय बनाएका छन् । संग्रहालयमा विद्यार्थीलाई नि:शुल्क प्रवेश छ । गाउँमा फुटसल निर्माणदेखि कोल्मा हाइस्कुलमा सन् २००९ मै वायरलेस इन्टरनेट जोड्ने श्रेय उनैलाई जान्छ ।

कोल्मा बहाकोट समाज यूकेका संस्थापक अध्यक्ष उनले बेलायतको स्थानीय काउन्सिलसँग निकट रहेर यहाँ पनि कैयौं परोपकारी कार्य गर्दैआएका छन् ।

प्रकाशित : माघ ७, २०७८ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?