कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा नेपाली चिकित्सकले लिन थाले कोभिडविरुद्धको खोप

लन्डन — बेलायतमा आममानिसमा कोभिड खोप लगाउन सुरु भएसँगै नेपाली चिकित्सकहरुले पनि कोभिडविरुद्धको खोप लिएका छन् ।

बेलायतमा नेपाली चिकित्सकले लिन थाले कोभिडविरुद्धको खोप

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदार खोपको पहिलो प्राथमिकतामा रहेकाले उनीहरुले छिट्टै खोप लिन पाएका हुन् ।

वेल्सको ब्रोङलिस जनरल हस्पिटलको आईसीयूमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएसन (एनडीए) यूकेका अध्यक्ष डा. रमेश खोजूले बिहीबार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएको बताए । उनले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप लिएका हुन् । कोभिड खोप लिँदा सामान्य लागेको उनले बताए । ’खासै नौलो अनुभव रहेन । अरू खोप लगाउँदाजस्तै सामान्य लाग्यो,’ उनले कान्तिपुरसँग भने, ‘यसले मलाई कुनै साइड इफेक्ट गरेको छैन ।’ अब बाँकी डोज तीन सातामा लिने उनले जनाए ।

उक्त खोप माइनस ७० डिग्री चिसोमा राख्नुपर्ने र निकालेपछि तीन घण्टाभित्र प्रयोग गरिसक्नुपर्नेछ । रियाक्सन कस्तो दिन्छ त्यो हेर्न खोप लगाएपछि १५ मिनेट कुर्न लगाइन्छ । यो खोप परीक्षणहरुबाट प्रभावकारी देखिएको र बेलायतमा सबैले लगाइरहेकाले आफूलाई पनि खोपप्रति विश्वास लागेको उनी बताउँछन् ।

अन्य नेपाली स्वास्थकर्मीले पनि दिन सुरु गरेको उनले जनाए । कुनै डर वा अशंका नलिन उनको सुझाव छ । हिजो उक्त खोप दिएका केही व्यक्तिलाई ‘एलर्जी’ को समस्या आए पनि अरूलाई ठूलो कुनै असर देखिएको खबर नआएको खोजूले बताए ।

बेलायतमा गत मंगलबारदेखि आममानिसमा कोभिड खोप दिने अभियान सुरु भएको हो । अहिले उक्त खोप बेलायतभरका ५० अस्पतालबाट सुरु गरिए पनि आउँदो सातादेखि जीपीबाट समेत खोप दिने तयारी छ । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइनेछ ।

खोजू अध्यक्ष रहेको नेप्लिज डक्टर्स एसोसिएसन (एनडीए) यूकेले विगतदेखि नै नेपाली समुदायमा कोभिड सचेतना कार्यक्रम गर्दै आएको छ । एसोसिएसनले नेपालमा कोभिड–१९ संक्रमितहरुको उपचारमा सघाउन बेलायतको ‘नाइटिंगेल’ जस्तै कोरोना विशेष अस्पताल सञ्चालन गर्ने लक्ष्यमा कोष संकलनसमेत सुरु गरेको छ ।

प्रकाशित : मंसिर २५, २०७७ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?