१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

हङकङकाे रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु

प्रारम्भिक जानकारी अनुसार मृतकहरू बाग्लुङका रहेका छन् ।
लक्ष्मी लम्साल

बेइजिङ — स्थानीय समयानुसार आइतबार साँझ हङकङको याउमातेईस्थित एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएको छ । हङकङस्थित नेपाली वाणिज्य दूतावासबाट हिँडेर करिब २० मिनेटमा पुगिने र नेपालीहरूको बाक्लो बसोबास रहेको जोडन एरियाको एउटा रेस्टुरेन्टमा आगलागी हुँदा यो मानवीय क्षति भएको हो ।

हङकङकाे रेस्टुरेन्टमा आगलागी हुँदा ७ नेपालीको मृत्यु

आगलागीमा एकजना सामान्यसहित १० जना गम्भीर घाइते भएका हुन् । प्रारम्भिक जानकारी अनुसार मृतकहरू बाग्लुङका रहेका छन् ।

हङ्कङको साउथ चाइना मर्निङ पोस्टले जन्मदिन मनाउने क्रममा यो दुर्घटना भएको लेखेको छ । बेइजिङस्थित नेपाली दूतावासले जन्मदिन वा दिपावलीको रमझमको बेलामा चुरोट वा मैनबत्तीको आगो सिलिङमा सल्किएपछि आगलागी भएको हुनसक्ने बताएको छ । आगलागी भएको रेस्टुरेन्ट ४ वर्षअघिदेखि दर्ता नभएर चलिरहेको र नेपालीहरू भेला हुने अनौपचारिक थलोजस्तो बनेको थियो।

सो रेस्टुरेन्टमा मानिस निस्किने एउटा मात्रै ढोका भएकाले उद्धारमा ढिलाइ भएको हुनसक्ने बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले बताए । लम्साल यसअघि सन् २००७ देखि २०१० सम्म त्यहाँ वाणिज्यदूत थिए । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हङकङस्थित वाणिज्य दूतावासले स्थानीय प्रहरीसँग समन्वय गरिरहेको जनाएको छ तर मृतकको पूरा विवरण प्रहरीले सोमबार अपराह्नसम्म उपलब्ध गराइएको थिएन ।

प्रकाशित : मंसिर १, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?