कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट घर फर्कनै सास्ती

रोजगारीको सबैभन्दा ठूलो गन्तव्य भारतमा रहेका नेपालीहरूको उद्धारका लागि सरकारले हालसम्म ठोस योजना बनाउन सकेको छैन ।
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई उद्धार गर्ने योजनाअन्तर्गत तेस्रो मुलुकबाट शुक्रबारदेखि नेपालीहरू फर्कन थालेका छन् । तर, रोजगारीको सबैभन्दा ठूलो गन्तव्य भारतमा रहेका नेपालीका लागि भने सरकारले कुनै ठोस योजना अघि सारेको छैन ।

भारतबाट घर फर्कनै सास्ती

सरकारले भारतबाट फर्कनेहरूका लागि विभिन्न २० वटा नाका खुला गरिएको मात्र जनाएको छ । सरकारले भारतमा रहेका नेपालीहरूका लागि प्रस्ट योजना नल्याउँदा घर फर्कने दिन कुरिरहेका नेपालीहरूको सास्ती दिनप्रतिदिन बढ्दै गएको छ । लकडाउनका कारण रोजगारी गुम्दा धेरैलाई बस्नखान नै मुस्किल भएको छ । त्यसमाथि केही दिनयता भारतमा संक्रमण तीव्र रूपमा वृद्धि भइरहेकाले उनीहरूमा त्राससमेत बढाएको छ ।

बर्सेनि १५ देखि २० लाखको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत आउने गरेका छन् । अध्ययन, उपचार, तीर्थयात्रा र अन्य प्रयोजनका लागि आउनेको संख्या पनि हजारौं छ । तीमध्ये कतिपय लकडाउनकै अवधिमा जसोतसो घर फर्किए पनि हाल ठूलो संख्या प्रवासी नेपालीहरू घर फर्कने दिन कुरेर बसेका छन् । सार्वजनिक सवारी साधन पर्याप्त मात्रामा नचल्दा दक्षिण भारतका केरला, चेन्नई, बेंग्लोरसँगै महाराष्ट्र र राजस्थानमा रहेका नेपालीहरू घर जान पाएका छैनन् । त्यसमाथि बस सञ्चालकले मौका छोपेर चर्को भाडा असुलिरहेका छन् ।

गुल्मी घर भएका नीलबहादुर विक एक वर्षदेखि दक्षिण भारतको केरलाको एउटा सपिङ मलको सैलुनमा काम गर्दै आएका थिए । तीन महिनादेखि बन्द सैलुनका साहूले असोजदेखि मात्र सैलुन खुल्ने जनाउँदै घर जाऊ भनिसकेका छन् । तर केरलामा लकडाउन खुकुलो भएखपनि त्यहाँबाट अन्य राज्यमा जाने सार्वजनिक यातायात नचलेकाले उनी अड्किएका छन् । लामो समयदेखि काम नहुँदा भएको पैसा पनि खानबस्नमै सकिएको छ । ‘काम पनि छैन, खर्च पनि छैन कसरी बाँच्ने चिन्ता बढ्दै गएको छ,’ विकले कान्तिपुरसँग भने ।

दिल्लीमै रहेका रौतहतका जकाउल्ला अन्सारीको सिलाइकटाइको काम पनि लकडाउनयता ठप्प छ । अरू बेला ट्रेनमा जाँदा बढीमा १८ सय भारु लाग्ने गरेकोमा केही सीमित मात्रामा चलेका बसहरूले बिहारको बैरगनियासम्मका लागि ३५ सय भारु तोकेका छन् । त्यसमाथि श्रीमती, छोराछोरी र भाइसमेत गरी ७ जनाका लागि भाडा जुटाउन उनले सम्भव देखेका छैनन् । लकडाउनमा कमाइ नहुँदा त्यसै पनि उनको थाप्लोमा ऋणको बोझ बढिसकेको छ । ‘चिनेजानेकाबाट रासनपानी सरसापट गरेर चलाएको छु, धन्न घरबेटी असल परेका छन्, भाडा काम सुरु भएपछि दिए हुन्छ भने,’ उनले भने । रेलयात्राका लागि भने आधार कार्ड चाहिने भएकाले उनी समस्यामा छन् । ‘पहिले कुनै दिक्कत थिएन, अहिले त टिकट नै पाइएन, बस्ने कसरी बस्ने, जाने कसरी जाने भएको छ,’ अन्सारीले गला अवरुद्ध पार्दै भने ।

तीन महिनाअघिसम्म पनि सुनसरीका राजकुमार मेहतालाई कामको चिन्ता थिएन । राजस्थानको बारमेरमा घर बनाउने काममा व्यस्त थिए उनी । कमाइ पनि राम्रै थियो । गाउँका अन्य तीन जनासँगै बस्थे । उता गाउँमा रहेका परिवारलाई पनि खासै चिन्ता थिएन । त्यसमाथि दिनहुँ फोनमा कुरा भई नै रहन्थ्यो । तर, लकडाउनका कारण परिस्थिति एकाएक फेरिएको छ । काम बन्द भयो । एकातिर संक्रमणको चिन्ता छँदै छ त्यसमाथि छाक टार्नै मुस्किल पर्न थालेको छ । दिन बित्दै जाँदा थप गाह्रो हुने हो कि भन्ने चिन्ता छ उनलाई । जेनतेन धानिरहेका छैनन् । तर, उनको खर्च सकिँदै गएको र कोरोनाको संक्रमण पनि बढ्दै गएका कारण उनमा छटपटी बढ्दै गएको छ । त्यही भएर जसरी भए पनि घर जाने निधो गरेका छन् । तर, पनि कुनै उपाय हात परेको छैन । उनी भारतमा काम गर्न आउन थालेको बीस वर्षभन्दा बढी भयो । सधैं साधारण क्लासमा यात्रा गर्दा उनलाई कुनै कागजात मागिएन । तर, केही दिनअघि टिकट काट्न गएका उनी भारतीय बाहेकका अरूलाई दिन मिल्दैन भनेर त्यत्तिकै फर्किए ।

करिब २८ सय किमिको दूरी पैदल जाने कुरा पनि भएन । गर्मीको मौसम । त्यसमाथि राजस्थान । ‘बसेको ठाउँबाट बाहिर निस्कन त गाह्रो छ अब हिँडेर जाने त कुरै भएन,’ उनले भने । तर, दिन बित्दै जाँदा टिकटका लागि जोगाएको पैसा पनि सकिन्छ भन्ने चिन्ता हुन थालेको छ । ‘न रेलको टिकट पाइन्छ न अन्य सवारी साधनमा जान सक्ने हैसियत छ यस्तै हो भने त भोलि के हुन्छ भन्ने छैन,’ मेहताले चिन्तित हुँदै भने । उता परिवारले गर्ने चिन्ता बेग्लै छ । ‘श्रीमती र बालबच्चाले अरू आइसके किन नआएको भनेर सोध्छन्, मैले के जवाफ दिनु हुन्छ ?’ उनले भने ।

भारतकाे दिल्लीमा अलपत्र परेका राैतहटका जकाउल्ला अन्सारीकाे परिवार ।

दैलेखका खेमराम भण्डारी उत्तराखण्डको पौरीमा सडक बनाउने काममा संलग्न थिए । उनको चैतको दोस्रो साता नेपाल जाने योजना नै थियो । तर, एकाएक लकडाउन भइदियो । जसले गर्दा अन्य तीन जना गाउँलेसहित भण्डारी त्यत्तिकै रोकिए । लकडाउनका सुरुका दिनमा संक्रमणबाट बच्नुपर्छ भनेर उनीहरू यतै बसे । लकडाउन लम्बिँदै गयो । र, उनीहरूसँग भएको पैसा पनि सकिन थाल्यो । केही दिनपछि खानै मुस्किल हुने कि भन्ने चिन्तामा परेका छन् उनी । मिस्त्रीहरू आआफ्नो घर गएकाले काम तत्काल सुचारु हुने पनि देखिँदैन । उता परिवारले दिनहुँ अहिलेसम्म किन नहिँडेको ? दुुनियाँ आइसके भनेर प्रश्न तेस्र्याउँदा मन थप घोच्छ । ‘आफ्नो व्यथा आफैंलाई थाहा छ, तर के गर्नु परिवारलाई सबै ठीक छ भन्नै पर्‍यो,’ उनले भने ।

घर जानका लागि प्रयास नगरेका होइनन् । तर, सार्वजनिक यातायात राम्ररी नचल्दा बसहरूले मनपरी भाडा भनेका छन् । अरू बेला खाना खाएर रुपैडिहासम्म जान हजार रुपैयाँ भारु पुग्नेमा अहिले बसवालाले सात हजारसम्म भण्डारीले बताए । जसले गर्दा भण्डारी र साथीहरू भएको बाटा खर्च पनि सकिने चिन्तामा डुबेका छन् ।

दिल्लीस्थित दूतावासले सहयोग गर्ने आसमा धेरै पटक फोन पनि घुमाए । धेरै पटक फोन नै उठेन । उठेको बेला दूतावासका कर्मचारीले कुनै ठोस जवाफ नदिएको भण्डारीको भनाइ छ । ‘यस्तै भइरह्यो भने त रोगको डरभन्दा पनि भोकको डर लाग्न थालेको छ,’ उनले भने ।

सामाजिक सन्जालमार्फत अन्य मुलुकमा रहेका नेपालीहरूलाई जहाज चार्टर गरेर ल्याएको थाहा पाउँदा उनलाई थप पीडा हुन्छ । ‘भारतमा काम गर्नेहरूलाई त राज्यले नागरिक नै ठानेन, निकै दु:ख लागेको छ,’ उनले आक्रोशित मुद्रामा भने । तर, आफ्ना नगारिकहरूलाई जसोतसो सीमासम्म पुर्‍याउने जिम्मेवारीबाट सरकार उम्कन नपाउने भण्डारीको भनाइ छ । ‘जसरी भए पनि आफ्नो माटोमा टेक्ने व्यवस्था गरिदिनुपर्‍यो,’ उनले भने ।

दिल्ली नजिकैको गाजियावादको एक रेस्टुराँमा काम गर्दै आएका बलबहादुर साउदको छटपटी उस्तै छ । साउद अछामबाट फर्केको एक महिना नबित्दै लकडाउन भयो । लकडाउनले काम पनि बन्द भयो । कहिले सामुदायिक भान्सा त कहिले ऋणसापट गरेर श्रीमती, दुइटा छोरा र एउटी छोरीको छाक टारिरहेका छन् । खानाबस्नको समस्या हुन थालेपछि नेपाल जाने सुर पनि कसे । तर, भाडा सुन्दै साउदको होस उड्यो । सामान्य अवस्थामा बसले एक जनाको बढीमा ५ सय लाग्ने गरेकोमा अहिले २ हजार ५ सय पुगेको छ । सिमासम्म पुगेर पनि भएन । त्यहाँबाट फेरि अछाम पुग्न थप खर्च लाग्छ । त्यसैले उनका सामु बस भाडा सामान्य नभए सम्म पर्खिनुको विकल्प छैन । सिमा पुगेपछि पनि त्यहाँको क्वारेन्टाइन सुविधाले छोराछोरीलाई संक्रमण हुने हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ साउदलाई । ‘पहिलो त अहिलेको चर्को भाडा तिर्ने बुता नै छैन, त्यसमाथि बोर्डरमा के हुन्छ भन्ने चिन्ता पनि छ,’ साउदले भने ।

उता पन्जाबमा इन्जिनियरिङ अध्ययनरत धनुषाका श्यामकुमार रजकले पनि रेलको टिकट काट्न पाएनन् । कलेजले अक्टोबर अघि पढाइ नहुने जानकारी दिइसकेको छ । तर, टिकट नहुँदा रजक घर जान पाएका छैनन् । उता घरमा परिवारमा छोरोको चिन्ता त्यत्तिकै छ । अरूले जस्तै उनले पनि घर जानका लागि केही सहयोग पाउने आसमा दूतावासमा सम्पर्क गरेका थिए । तर, दूतावासले आलटाले जवाफ मात्र दियो ।

जबकि प्रवासी संगठनका अधिकारीहरू दूतावासले पहल गरेको खण्डमा नेपालीहरूलाई घर फर्कन सहज हुने बताउँछन् । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव ऐनबहादुर रावलले दूतावासले भारतको केन्द्र सरकार र राज्य सरकारहरूसँग समन्वय गर्ने हो भने घर जाने नेपालीहरूले ठूलो राहत पाउने बताउँछन् । ‘दूतावासले अलिकति चासो देखायो भने पनि भाडामा भइरहेको लुट रोकिन्थ्यो, ट्रेनमा पनि टिकट पाउँथे,’ रावलले भने ।

तर, यता नेपाली दूतावासले भने रेल टिकटका लागि सम्पर्कमा आएकाहरूलाई आवश्यक सिफारिस दिएको दाबी गरेको छ । दिल्ली बाहिरका नेपालीलाई पनि यातायातमा ठूलै समस्या परेको खण्डमा अनलाइनबाट पनि सुविधा दिन सक्ने जनाएको छ । ‘दूतावासको सम्पर्कमा आउनेलाई त टिकटका लागि आवश्यक सिफारिस दिइरहेका छौं र बाहिर पनि समस्या परेको खण्डमा अनलाइनबाट सुविधा दिन सकिन्छ,’ दूतावासका पवक्ता हरि ओडारीले भने । तर, समस्या सुनाउनका लागि दूतावासमा सम्पर्क गर्ने प्राय: सबै नेपालीहरूको ‘फोन उठ्दैन’ भन्ने गुनासोबारे भने उनी नाजवाफ रहे ।

प्रकाशित : जेष्ठ २६, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?