बेलायती अध्ययन भन्छ– ग्रामीण प्रसूतिसेवामा स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका अहम्

नविन पोखरेल

लन्डन — नेपालको ग्रामीण भेगमा सुरक्षित प्रसूतिसेवाका लागि स्थानीय स्वास्थ्य प्रवर्द्धकहरूको भूमिका प्रभावकारी हुन सक्ने एक बेलायती अध्ययनले औंल्याएको छ ।

बोर्नमाउथ विश्वविद्यालयले गरेको अध्ययनले प्रवर्द्धकहरूले बर्थिङ सेन्टरमा बच्चा जन्मँदा हुने फाइदाबारे जागरूकता बढाउन र प्रसूतिसेवाका लागि अस्पताल वा स्वास्थ्य केन्द्र पुर्याउन अहम् भूमिका खेल्न सक्ने देखाएको हो ।

सरकारले विभिन्न किसिमका सुविधा दिए पनि नेपालमा अझै करिब ४१ प्रतिशत महिलाले दक्ष स्वास्थ्यकर्मीविनै घरमै बच्चा जन्माउने गर्छन् । यसले गर्दा आमा र बच्चा दुवैलाई जोखिम हुने गर्छ । अध्ययनका क्रममा नवलपरासीका साबिक चार गाविस ठूलो खैरतवा, नरसही, भुजवा र पक्लिहवामा सन् २०१४ देखि २०१६ सम्म कार्यक्रम सञ्चालन गरिएको थियो । यसअन्तर्गत सासूहरूसँग १५७ पटक र अन्य महिला समूहसँग ३३४ पटक छलफल गरिएको थियो भने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई तालिम पनि दिइएको थियो । त्यस्तै ठूलो खैरतवा र नरसहीमा दुईवटा बर्थिङ सेन्टरहरुको सुधारमा सहयोग गरिएको थियो ।

विद्यावारिधि अनुसन्धानका निम्ति सो अध्ययनको नेतृत्व गरेकी डा. प्रीति महतोका अनुसार स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमपछि सन् २०१७ मा ती गाविसमा ६९९ मध्ये २९.३ प्रतिशतले मात्र घरमा बच्चा जन्माएका थिए जबकि त्यसअघि सन् २०१२ मा यो प्रतिशत ५८.८ प्रतिशत रहेको थियो । यस्तै बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाको संख्या २.४ प्रतिशतबाट २८.३ प्रतिशत पुगेको थियो । त्यस्तै तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिने महिलाको संख्या ५३.७ प्रतिशतबाट ७०.५ प्रतिशत पुगेको पाइएको थियो ।

‘शिक्षित, प्रसूतिसम्बन्धी निर्णय प्रक्रियामा संलग्न र कम्तीमा चारपटक गर्भवती परीक्षण गराएका महिलाहरूले स्वास्थ्य केन्द्रमा नै बच्चा जन्माउने गरेको पाइएको छ । प्रसूति सेवाको उपयोग र महिलाको प्रजनन स्वास्थ्यका निम्ति महिला सशक्तीकरण महत्त्वपूर्ण हुने यस अध्ययनले देखाएको छ,’ डा. महतोले भनिन् ।

विगत १६ वर्षदेखि नेपालको स्वास्थ्य अनुसन्धानमा काम गर्दै आएका बोर्नमाउथ विश्वविद्यालयका प्रोफेसर एवम् उक्त अध्ययनका प्रमुख सुपरिवेक्षक एडविन भान तेइजलिन्जेनले सो अध्ययनले सुरक्षित प्रसूति सेवाका लागि स्वास्थ्य प्रवर्द्धकहरुको भूमिकामा जोड दिनुपर्ने देखाएको बताए । उक्त अध्ययन अन्तर्राष्ट्रिय जर्नल ‘प्लस वान’ मा प्रकाशित भएको छ । नेपालस्थित ग्रिनतारा नेपाल नामक गैरसरकारी संस्था र लन्डनस्थित ग्रिनतारा ट्रस्टले अध्ययनका निम्ति आर्थिक र प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनले बनायो मजदुरलाई ‘माग्‍ने’

नियमित काम हुँदा मासिक ३० हजारभन्दा बढी कमाउने मजदुरहरू लकडाउन लम्बिएसँगै सडकमा मागेर जीवन धानिरहेका छन् । कोठा हुनेहरू बिहान जुरुक्क उठेर खाना बाँड्ने ठाउँमा पुग्छन्, दिनभर जसले जे दियो त्यही खान्छन् अनि साँझ उही कोठा फर्कन्छन् । कोठा नहुनेहरू सडकमै खान्छन्, सडकमै सुत्छन् ।
मकर श्रेष्ठ

काठमाडौँ — सोमबार बिहानको साढे १० बजे, रत्नपार्क र वीर अस्तपाल गेट हुँदै गुड्ने सवारीसाधन बाक्लै छन् । न्युरोड गेटअगाडि त जाम नै छ । एउटा/एउटा गाडीमात्रै छिर्ने गरी प्रहरीले बार लगाएकाले सवारीसाधनको लाइन सुन्धारासम्म पुगेको छ । यता खुलामञ्चमा पनि मान्छेको बाक्लै उपस्थिति देखिन्छ । त्यहाँको भीडचाहिँ कुनै आन्दोलनमा सहभागी हुन थिएन । उनीहरू भोको पेट भर्न आइपुगेका हुन् ।

११ बजे एउटा टाटा मोबाइल आइपुग्यो । छरिएर बसेकाहरू पनि गाडीतिरै दौडिए । बालाजुका युवाहरूले नियमित यही गाडीमा खाना ल्याउने भएकाले खुलामञ्चमा यो गाडी छिर्नेबित्तिकै सबै जना त्यतै झुम्मिन्छन् । सोमबार पनि उक्त गाडी आउनेबित्तिकै उनीहरू बसपार्कका लागि पिच गरेको भुइँमा लाइन लाग्दै बसे । यसमध्येका एक थिए पोखराका राम गुरुङ । खाना आउनुअघिसम्म उनी वीर अस्पताल अगाडिको रेलिङमा झोला भिरेर बसिरहेका थिए । खाना आएपछि उनी पनि खुलामञ्चतिरै लम्किए । झोलाबाट पिच गरेको सडकमा ओछ्याउन गत्ता झिके । पर्यटकको भरियाका रूपमा कहिले हिमाल त पहाड हिँडिरहने उनी अहिले सडकमा खाना मागेर खानुपर्ने अवस्थामा पुगेका छन् । बिहान उज्यालो हुनेबित्तिकै काठमाडौंको ठहिटीबाट हिँड्दै उनी खुलामञ्चस्थित बसपार्क आउँछन् । साँझको खाना खाएर फर्कन्छन् । खर्च नभएपछि यसरी मागेर खानुपर्ने बाध्यता आएको उनले बताए । ‘लकडाउनले सडकमा खाना खोज्नुपर्ने बनायो,’ उनले दुखेसो पोखे ।

खानाको पर्खाइमा बस्ने अधिकांशले झोला भिरेका छन् । सुरक्षित रहन भन्दै केहीले मास्क पनि लगाएका छन् । उनीहरूलाई खाना खुवाउन आउने युवाहरू भने पीपीई लगाएर आएका छन् । उनीहरू क्रमैसँगै त्यहाँ उपस्थित सबैलाई भात, तरकारी र अचार खुवाउँछन् । दोलखा जिरीका सुवास तामाङ पनि यहाँ नियमित खाना खान्छन् । उनले काठमाडौं जैसीदेवलमा एउटा कोठा भाडामा लिएका थिए । साथमा थिइन् श्रीमती निशा । दिनभर घर बनाउने ज्यामी काम गर्थे । बेलुका आराम गर्न कोठामा पुग्थे । छोराछोरीलाई गाउँमै छाडेर काम खोज्न एक वर्षअघि उनीहरू काठमाडौं छिरेका हुन् । उनले दिनमा ११ सयदेखि १२ सय रुपैयाँसम्म कमाउँथे । निशालाई भने ठेकेदारले दिनको ९ सय रुपैयाँ दिन्थे । गाउँमा छोराछोरी पनि पढिरहेका थिए । कमाएको रकमले गाउँमा छँदा लागेको ऋण तिरिरहेका थिए । कोरोनाको संक्रमण बढेसँगै सरकारले चैत ११ मा लकडाउन गर्‍यो । त्यसपछि भने उनीहरूको दु:खका दिन सुरु भए ।

काम पाइन छाडेपछि उनीहरूसँग खाने खर्च पनि भएन । अनि हिँड्दै खुलामञ्च पुग्न थाले । त्यहाँ भोक मेट्न आउने उनीजस्तै अरू पनि भेटे । त्यसपछि भने उनी यो समयमा नियमितजस्तै यतै धाउँछन् । खानाको गर्जो जसोतसो चलेकै थियो, यत्तिकैमा अर्को आपत् आइलाग्यो । लकडाउनका बेला घर बाहिर गएको भन्दै उनलाई घरधनीले निकालिदिए । उनीहरूको सम्पत्तिको नाममा केही भाँडाकुँडा र ओढ्ने, ओछ्याउनेबाहेक केही थिएन । अन्तत: त्यही सामान पोका पारे र सडकमा निस्किए । ‘घरबेटीले निकालेपछि सामान कहाँ लैजानु ?,’ सुवासले भने, ‘घर जाउँm गाडी चल्दैन । काठमाडौंमा आफन्त छैनन् । जहाँ भात खान पाइन्थ्यो त्यो सामान बोकेर त्यहीं जान थालें ।’ त्यस दिनदेखि उनीहरू सडकमै खान्छन्, सडकमै सुत्छन् । ‘कामदारबाट मगन्ते भएँ,’ उनले भने ।

रत्नपार्कमा उनी जस्तै खानाको पर्खाइमा बस्ने करिब दुई सयको हाराहारीमा छन् । ‘कुन बेला कसले खानेकुरा ल्याउला भनेर कुरेर बसेका हुन्छौं,’ सुवासले भने । कोठा छाडेको केही दिनमा उनको मोबाइल पनि हरायो । छोराछोरीसँग कुरा नहुँदा केही दिन विरक्तिए । ‘यहाँ त आँखा झिमिक्क गर्दासाथ भएको सामान हराउँछ,’ उनले भने, ‘खल्तीमा भएको मोबाइल कुन बेला कसले निकाल्यो, थाहै भएन ।’ अहिले उनले गाउँमा छोरीछोरी घरमै बसेकाले उनीहरूको चिन्ता गर्न छाडिसके किनभने उनीहरू आफैंको सडकमा बास छ । ‘अब त सडकको बसाइमा बानी परिसक्यो,’ उनले भने ।

यसरी लकडाउनअघिसम्म कामदार रहेका तर अहिले सडकमा मागेरै पेट भर्ने अर्को समूह तिलगंगा आँखा अस्पतालअगाडि भेटिन्छ । सोमबार बिहान १० बजे त्यहाँ पनि ५० जना जति खानाको पर्खाइमा थिए । सवा १० बजे एउटा मनकारी समूहले प्लास्टिकमा पोका पारेको भुजा र पानी वितरण गरे । भोक मेट्न भुजा लिने लाइनमा बसेका थिए सर्लाहीका हरि गौतम ।

घर बनाउने मिस्त्री उनको चाबहिलमा कोठा छ । रत्नपार्कमा भेला भएका मजदुरजस्तै उनी पनि लकडाउनअघिसम्म दिनमा एक हजार रुपैयाँसम्म कमाउँथे । ‘अहिले काम चलेकै छैन । ठेकेदारसँग नियमित सम्पर्कमै छु । ३४ दिन काम गरेको पैसा पनि दिएका छैनन्, माग्दा आज/भोलि भन्दै टारिरहेका छन्,’ उनले भने, ‘पैसा नभएपछि एक महिनादेखि मागेर खाइरहेको छु ।’ कोठामा खाद्यान्न र ग्यास दुवै सकिएको र किन्ने पैसा नभएकाले सकडमा माग्दै ज्यान धानिरहेको उनको भनाइ छ । उनीसँगै काम गर्ने ५ जना यहीं मागेर खाइरहेका छन् । बेलुका ७ बजेसम्म जसले जे खुवाउँछन् खान्छन्, अनि कोठा फर्कन्छन् ।

मैतीदेवीमा कोठा भएका मोहन सुवेदी पनि घर बनाउने मिस्त्री हुन् । उनी मासिक ४० हजारभन्दा बढी कमाउँथे । ‘तर अहिले चामल किन्ने पैसा पनि छैन,’ उनले भने, ‘माग्ने नै बनायो ।’ यहाँ उनीजस्तै दैनिक एक सयभन्दा बढी मजदुर खाना खोज्दै आउने गरेका छन् ।

लकडाउन भएदेखि नै मजदुरहरू खाना खोज्दै पशुपति क्षेत्र, रत्नपार्क, लगनखेललगायतका स्थानतिर भौंतारिन थालेका हुन् । उनीहरू काम गर्न चाहन्छन् तर काम सञ्चालनमा छैन । पेट भर्न बिहान उठ्नेबित्तिकै खाना बाँड्ने ठाउँमा पुग्छन् । दिनभर बाँडेको खाना थापेर खान्छन् अनि केही सडकमै सुत्छन्, केही कोठामा ओत लाग्न पुग्छन् । ‘बस्ने गरी कतै काम पाए गर्ने थिएँ,’ सुवासले भने, ‘यसरी मागेर कति दिन खानु ? हात, पाखुरा चल्छ, अरुको मागेर खानु परेको त अहिले बाध्यताले हो ।’

तिलगंगामा भेटिएका मोहनले लकडाउनमा लागेको ऋण तिर्न पनि कामको खोजी गरेको तर नपाएको सुनाए । ‘लकडाउनअघि आफू जुन अवस्थामा थिएँ, त्यस्तै हुन पनि कामको खोजी गरें तर लकडाउनले केही गर्न सकिएन,’ उनले भने, ‘बन्द खुलेदेखि सुरक्षित भएर काम गर्न हुन्थ्यो ।’ सडकमा मागेर खाइरहेका उनीहरू आफैं काम गरेर रोजीरोटी चलाउन चाहन्छन् तर लकडाउनले साथ नदिएको उनीहरू बताउँछन् । ‘मजदुरलाई माग्ने नबनाइयोस् । दुई महिना त मगन्ते नै भइयो, अब हामी काम गरेर खान चाहन्छौं,’ सर्लाहीका हरिले भने ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×