कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल फर्कन अमेरिकाबाट ५ सयको गुहार

न्युयोर्क — कामकाज एवं भ्रमणको सिलसिलामा आएकासहित अमेरिकामा फसेका पाँच सयभन्दा बढी नेपालीले तत्काल नेपाल फर्किने वातावरण मिलाइदिन वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा निवेदन हालेका छन् । गैरआवासीय नेपाली संघ, अमेरिकाले नेपाल फर्किनेको सूची तयार गरेलगत्तै उनीहरूले दूतावास गुहारेका हुन् ।

नेपाल फर्कन अमेरिकाबाट ५ सयको गुहार

नेपाली राजदूत अर्जुन कार्कीसँग बुधबार एक घण्टा लामो भिडियो बैठकमा उनीहरूले आफूहरू अमेरिकामा समस्यामा पर्दै गएको भन्दै तत्काल फर्कन चाहेको बताए ।‘उहाँहरू तत्काल नेपाल फर्कन चाहनुहुन्छ । यसबारे सरकारसँग समन्वय भइरहेको छ,’ राजदूत कार्कीले कान्तिपुरसँग भने । नेपाल सरकार सकारात्मक रहे पनि लामो दूरीको हवाई यात्रा अनि स्वास्थ्य विज्ञहरूको चेतावनीका कारण उनीहरूलाई तत्काल फर्काउन समस्या रहेको उनले बताए । ‘यद्यपि त्यसका लागि अमेरिकी सरकारसँग पनि सम्पर्क गरिरहेका छौं,’ कार्कीले भने ।

बैठकका सहभागीले तत्काल सम्भव नभए हवाई सेवा खुल्नेबित्तिकै पठाउने गरी प्राथमिकतामा पार्न अनुरोध गरेका थिए । अमेरिकामा फसेका उच्चपदस्थ कर्मचारी, सेना एवं प्रहरीका अधिकारीसमेत बैठकमा सहभागी थिए । ‘एकातिर आर्थिक समस्याले जकड्दै गएको छ । अर्को तर्फ कोभिड संक्रमणमा परिएला भन्ने डर । त्यसमा पनि मलाई रक्तचापको समस्या छ,’ एक सहभागीले कान्तिपुरसँग भने ।

पानीजहाजको रोजगारीका सिलसिलामा अमेरिका पुगेकाहरू पनि नेपाल फर्कन दूतावासको सम्पर्कमा पुगेका छन् । ‘नर्वेजियन जोए’ नामक पानीजहाजमा कार्यरत उनीहरू अस्ट्रेलियाबाट लसएन्जलस पुग्दा यतै फसेका थिए । वर्षौंदेखि अमेरिकामै बस्दै आएका सयौं आप्रवासी नेपाली पनि फर्कन चाहेका छन् ।

विद्यार्थी समस्यामा

विद्यार्थी र भ्रमणमा रहेकाहरूलाई केही अप्ठ्यारो भए पनि स्थायी रूपमा बस्दै आएकाहरू कोभिड–१९ का कारण खासै प्रभावित नरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार कोभिड संक्रमणयता अमेरिकामा चौध नेपालीको मृत्यु भएको छ । ‘तर ती सबैको मृत्यु कोभिडबाट भएको पुष्टि भएको छैन । केही नेपालीले गोप्य राखेका छन् । हृदयाघातबाट पनि केहीको निधन भएको हामीलाई खबर छ,’ राजदूत कार्कीले भने ‘समस्या लुकाउने प्रवृत्तिले गर्दा कति संक्रमित छन् भन्ने तथ्यांक छैन ।’ दूतावाससहित न्युयोर्कस्थित कन्सुलेट कार्यालयले तथ्यांक संलकनको पहल गरे पनि प्रभावकारी देखिएको छैन ।

अध्ययन र अन्य विभिन्न प्रयोजनले आएकाहरू भने समस्यामा रहेको कार्कीले बताए । विद्यार्थीले दूतावाससँग कोभिडका कारण काम छुटेको र आर्थिक समस्या परेको गुनासो गर्ने गरेका छन् । तर, विद्यार्थी भिसामा आएकाहरूले अमेरिकामा काम गर्न नपाउने भएकाले यसमा केही गर्न सकिने अवस्था नरहेको दूतावासले जनाएको छ । ‘हामीले पाँच सयभन्दा बढी विद्यार्थीसँग सम्पर्क गरिसकेका छौं,’ कार्कीले भने, ‘केही समस्या भने हाम्रो पहुँचभित्रै छैनन् ।’ केही विद्यार्थीले लकडाउनका कारण नेपालबाट अभिभावकले पैसा पठाउन नसकेको गुनासो गरेकाले अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

होस्टेलबाट बाहिरिनुपर्दा पनि विद्यार्थी प्रभावित छन् । उनीहरूलाई विभिन्न राज्यका गैरआवासीय नेपाली संघलगायत संगठनले सघाइरहेका छन् । सेवाग्राहीलाई सम्पर्क गर्न सजिलो होस् भनेर दूतावासमा ३ वटा र न्युयोर्कस्थित कन्सुलेट कार्यालयमा एउटा छट्टै फोन व्यवस्था गरिएको राजदूत कार्कीले बताए । ‘खानै नपाएको भन्दा पनि कम समयको भिसाका कारण समस्यामा परिने हो कि भन्नेहरू धेरै छन्,’ उनले भने, ‘त्यो समस्या आउन नदिन अमेरिकी विदेश मन्त्रालयमा पत्राचार गरिएको छ ।’

प्रकाशित : वैशाख २५, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?