कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्‍पको नयाँ आदेशले अमेरिकामा रहेका र जाने तयारीमा रहेका नेपालीलाई कस्तो असर पर्छ ?

दिनेशजंग शाह

न्युयोर्क — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आप्रवासनसम्बन्धी विषयमा नयाँ कार्यकारी आदेश जारी गरेका छन । सन १९५२ को ‘इमिग्रेसन एन्ड नेसनालिटी एक्ट’ को धारा २१२ दिएको अधिकार प्रयोग गर्दै ट्रम्पले ६० दिनका लागि सो आदेश जारी गरेका हुन् ।

ट्रम्‍पको नयाँ आदेशले अमेरिकामा रहेका र जाने तयारीमा रहेका नेपालीलाई कस्तो असर पर्छ ?

यो कार्यकारी आदेशलाई ट्रम्प प्रशासनले कोरोना भाइरसले निम्त्याएको संकट संग जोडेको छ । अर्थात कोभिडको प्रभावले खुम्चिएको अमेरिकी अर्थतन्त्रमा आप्रवासीको सम्भावित प्रवाहलाई तत्काल रोक्न आदेश ल्याइएको दाबी छ । भाइरसको आतंकको पृष्ठभूमिमा पछिल्लो पांच सातामा दुई करोड ६० लाख बढी अमेरिकीहरुले बेरोजगारी सुविधा लागि आवेदन दिइसकेका छन । ट्रम्पको कार्यकारी आदेशले साठी दिनका लागि अमेरिकामा स्थायी बसोबासको अनुमति पत्र (ग्रीन कार्ड) सम्बन्धी सबै खाले प्रक्रियामा रोक लगाएको छ । आप्रवासीप्रति अनुदार रबैया देखाउदै आएको ट्रम्प प्रशासनले पछिल्लो आदेशले के अर्थ राख्छ ? यसले अमेरिका आउने चाहने नेपाली आप्रवासी, विद्यार्थीलाई के असर गर्छ ? डिभीबाट आउनेहरुलाई के होला ?

विज्ञ एवम जानकारका अनुसार यो आदेशले विशेषगरी अन्य देशबाट अमेरिका भित्रिने आप्रवासीहरुलाई असर गर्नेछ । नेपालबाट भित्रिने आप्रवासी पनि यसबाट प्रभावित बन्नेछन् । यद्यपि अमेरिकामै रहेका आप्रवासीको हकमा यसले प्रभाव नपार्ने उनीहरुको भनाइ छ । न्युयोर्कस्थित आप्रवासी कानुनसम्बन्धी व्यवसायमा संलग्न नेपाली मूलकी वकिल चन्दा थापाका अनुसार कार्यकारी आदेशले मूलत: अमेरिका प्रवेशका लागि प्रक्रियामा रहेकालाई दुई महिनाका लागि रोकेको छ । कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा थापाले भनिन्, ‘राष्ट्रपतिको आदेश,ग्रीनकार्डसम्बन्धी प्रक्रियाप्रति लक्षित छ । परिवारिक सम्बन्धको आधारमा, रोजगार लगायत अन्य रुपले अमेरिका बाहिरबाट गरिएका ग्रीनकार्ड प्रक्रियामा रोक लागेको अवस्था हो ।’ आदेशले भविष्यमा अध्ययनका लागि अमेरिकामा आउने चाहने विद्यार्थी एवम पर्यटकहरुका लागि असर नगर्ने वकिल थापाको भनाइ छ । यद्यपि अहिले अमेरिकाको आप्रवासनसम्बन्धी सरकारी कार्यालय एवम विदेशस्थित अमेरिकी कन्सुलर सेवा बन्द रहेका छन् । वकिल थापाले थपिन, ‘अमेरिकी नागरिकका श्रीमान्, श्रीमती वा २१ वर्षमुनिका सन्तानको आवेदन एवं उनीहरुको अमेरिका प्रवेशलाई यसले असर गर्ने भने छैन ।’ ग्रीनकार्ड होल्डर आवेदक रहेको आवेदनलाई आदेशले रोक लगाएको अवस्थामा अमेरिका प्रवेशको पर्खाइमा रहेका नेपालीहरु प्रभावित हुनसक्ने बताइएको छ । त्यसैगरी डिभी लटरीमार्फत अमेरिका आउने प्रक्रियामा रहेकाहरु पनि यसबाट प्रभावित बन्नेछन । अन्तर्वार्तालगायत अन्य प्रक्रियामा रहेका तर भिसा पाइनसकेकाहरुलाई आदेशले रोक लगाएको छ ।

तर कोभिड–१९ को संक्रमण् विरुद्व संलग्न स्वास्थ्यकर्मीका परिवार र २१ वर्षका अविवाहित सन्तानलाई भने अमेरिकामा प्रवेश निषेध गरिएको छैन । त्यसगरी अमेरिकी सैनिक र अमेरिकी राष्ट्रिय स्वार्थसँग जोडिएका व्यक्तिहरु एवं कृषिलगायतका अन्य अस्थायी कामको भिसाधारीहरुले यो अवधिमा अमेरिकामा प्रवेश पाउनेछन् ।

कोभिड–१९ को संकट र पछिल्लो कार्यकारी आदेशले नेपाली विद्यार्थी एवं पारिवारिक भेटघाट एवं घुम्न आएका नेपालीहरुको चासो र चिन्ता रहेको बताउँछन, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की । त्यसका अतिरिक्त पानीजहाजसम्बन्धी रोजगारको सिलसिलामा हाल अमेरिकामा रहेका कार्यरत नेपालीहरुले पनि वासिङ्टन डीसीस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका छन् । राजदूत कार्कीले भने ‘ धेरैको चिन्ता भिसा मिति सकिन लागेकोमा छ । यसबारे हामीले विदेश मन्त्रालय ‘स्टेट डिपार्टमेन्ट’ मार्फत अमेरिकी सरकारलाई अनुरोध गरेका छौं । समस्या सुल्झिदैँछ ।’

प्रकाशित : वैशाख १२, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?