कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

भारतमा जहाँ बढी नेपाली त्यहीँ बढी संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा तीव्र वृद्धि देखिएको छ । त्यसमा पनि नेपालीहरूको बाक्लो उपस्थिति भएका राज्यहरूमा उच्च संक्रमण देखिएको छ ।

भारतमा जहाँ बढी नेपाली त्यहीँ बढी संक्रमण

जसले गर्दा उनीहरूलाई एकातिर लकडाउनका कारण खानबस्नकै समस्या छ भने अर्कोतर्फ कतिबेला संक्रमणले छुने हो भन्ने चिन्ता पनि थपिएको छ । हालसम्म भारतमा १२ नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये १० जना कामको सिलसिलामा भारत आएका हुन् ।

पछिल्लो तथ्याकंअनुसार भारतमा कोभिड–१९ संक्रमितको संख्या ९ हजार २ सय नाघेको छ । राज्यहरूमा हेर्ने हो भने संक्रमितको संख्या सबैभन्दा बढी महाराष्ट्र, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात देखिएको छ । कोभिड–१९ को उच्च संक्रमण देखिएका यिनै राज्यहरूमा नेपाली कामदारको बाक्लो उपस्थिति छ ।


भारतमा १५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ । त्यसमध्येको ठूलो हिस्सा यिनै राज्यहरूमा रहेको प्रवासी नेपाली संगठनहरू दाबी गर्छन् । नेपाली कामदारहरूको उपस्थितिका हिसाबले दिल्ली पहिलो नम्बरमा आउँछ । यहाँ करिब तीनदेखि पाँच लाखको संख्यामा नेपाली कामदारहरू रहेको अनुमान छ । तीमध्ये अधिकांश घरेलु कामदार, सेक्युरिटी, कुक, वेटरका रूपमा काम गर्ने रहेको बताइन्छ । यति ठूलो संख्यामा नेपाली रहेको दिल्ली नै अहिले कोरोना भाइरसको संक्रमणबाट आतंकित छ । सोमबार साँझसम्ममा दिल्लीमा १ हजार १ सय जनामा संक्रमण पुष्टि भएको छ ।

बढ्दो संक्रमणलाई रोक्न दिल्ली सरकारले विभिन्न स्थानलाई हटस्पट तोक्दै पूरै सिल गरेको छ । तीमध्ये अधिकांश नेपालीहरूको बाक्लो उपस्थिति रहेका ठाउँ हुन् । यसले उनीहरूलाई दैनिक किनमेलका लागि असहज बनाएकै छ, सँगै संक्रमणको त्रास पनि थपेको छ । त्यस्तै परिस्थिति भोग्न बाध्य छन् दिल्ली ओखलाका तुलबहादुर अटल । ‘सबै जना कतिबेला संक्रमणले छुने हो भन्ने डरत्रासमा बाचिँएरहेका छौं, के हुने हो ? कसो हुने हो भन्ने चिन्ता अत्यधिक छ,’ अटलले भने । उनले दिल्लीमा हालसम्म कुनै पनि नेपालीमा संक्रमण नदेखिनुले केही राहत भने दिएको बताए । ‘भगवान्को कृपाले अहिलेसम्म दिल्लीमा नेपालीलाई कोरोना भएको सुनिएको छैन,’ उनले भने ।


त्यसैगरी भारतको महाराष्ट्र राज्य रोजगार गन्तव्यका हिसाबले नेपालीहरूको दोस्रो रोजाइमा गनिन्छ । नेपालका राजनीतिक दलका प्रवासी नेपाली संगठनका अधिकारीहरूका अनुसार मुम्बईमा मात्र दुई–तीन लाख नेपाली कामदार छन् । आफैंमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीहरूलाई केही दिनयता महाराष्ट्रमा बढ्दो संक्रमणले थप त्रसित बनाएको छ । महाराष्ट्रमा १ हजार ८ सय ९३ जनामा कोभिड–१९ पुष्टि भइसकेको छ भने ९७ जनाको ज्यान गइसकेको छ । जुन अन्य राज्यहरूभन्दा बढी हो । उक्त राज्यका मुम्बई, पुनेमा सबैभन्दा बढी संक्रमण देखिएको छ । रोजगारीका लागि मुम्बई पुगेका नेपालीमध्ये अधिकांश चाल र झुग्गी झुपडीमा बस्ने गर्छन् । त्यस्ता बस्तीमा बस्नेले सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । यस्तोमा एक जनामा संक्रमण देखिएको खण्डमा पूरै बस्तीमा फैलने जोखिम रहन्छ । भारतमा कोरोना भाइरस देखिएका आठ नेपाली पनि त्यस्तै बस्तीमा बस्दै आएका थिए ।

पछिल्लो साता मुम्बईकै गिरगाउँ चौपाटीमा बस्ने एक नेपाली परिवारका आठ सदस्यमा कोभिड–१९ पुष्टि भएको थियो । यो घटनाले पनि नेपालीहरूमा संक्रमणको जोखिम उच्च रहेको देखाउँछ । घटना बाहिर आएपछि त्यहाँ बस्ने नेपालीलाई थप चिन्तित बनाएको प्रवासी नेपालीहरू बताउँछन् । हाल मुम्बईमा बस्दै आएका शालिग्राम तिवारीले पनि एउटै परिवारमा आठ जनालाई कोरोना देखिएपछि नेपालीहरूमा भोकै परिएलाभन्दा पनि संक्रमणले छोला भन्ने चिन्ता बढेको बताए । मानिसमा आफ्नो व्यापार व्यवसायभन्दा पनि ज्यानकै चिन्ता बढेको तिवारीले सुनाए । ‘पूरै त्रासको वातावरण छ, कफ्र्युको माहोल छ, केही दिनअघिसम्म भोकै परिएला भन्ने बढी चिन्ता थियो, केही दिनयता संक्रमणको चिन्तासमेत थपिएको छ,’ तिवारीले भने ।


भारतमा भाइरस संंक्रमितको संख्यालाई हेर्ने हो भने तमिलनाडु तेस्रो नम्बरमा छ । तमिलनाडुमा ९ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ ५० हजारभन्दा बढी नेपाली रहेको बताइन्छ । जसमध्ये धेरैजसो अधिकांश गाडी चलाउने, चौकिदारीका अतिरिक्त फास्टफुड र विभिन्न कम्पनीमा काम गर्ने छन् । तमिलनाडुमा रहेका नेपालीमा अहिलेसम्म कोरोना संक्रमण नदेखिए पनि त्रास भने उत्तिकै छ । ‘सबैतिर बन्द गरिएको छ । अहिलेसम्म नेपालीमा संक्रमण नदेखिएको तर दिन प्रतिदिन त्रास बढ्दै गएको छ,’ चेन्नईमा बस्दै आएका लोकबहादुर छेत्रीले कान्तिपुरसँग भने । उनले नेपालीहरूमा भाइरस नदेखिनु आफैंमा खुसीको कुरा भए पनि निकै सजग हुनुपर्ने अवस्था रहेको सुनाए ।

प्रवासी नेपाली संगठनका अनुसार कर्नाटकमा पनि नेपाली कामदारहरूको उल्लेख्य उपस्थिति छ । उनीहरूका अनुसार यो राज्यका बैंग्लोर, मैंगलोर, मैसुर, तुम्कुर, उड्की, गुलभर्गालगायतका सहरमा गरी दुई लाखभन्दा बढी नेपाली छन् । यहाँ रहेका नेपालीहरूमध्ये अधिकांश सेक्युरिटी र घरायसी काममा संलग्न रहेका छन् । केही कुक र वेटरको काम पनि गर्छन् । नेपालीहरूको कामको प्रकृतिले पनि मानिससँग घुलमिल हुनुपर्ने बाध्यताले उनीहरूको संक्रमणको जोखिम पनि उच्च रहेको छ ।


बैंग्लोरकै एक नेपाली दम्पतीमा कोभिड–१९ को संक्रमणको कारण खोतल्दा पनि त्यो पुष्टि हुन्छ । दम्पतीमध्ये पहिले संक्रमण देखिएकी महिला एक भारतीय परिवारकहाँ घरधन्दा गर्थिन् । त्यही परिवारकी एक महिला केही दिनअघि मात्र विदेशबाट आएकी थिइन् । त्यसको दुई दिनमै उनलाई कोरोना संक्रमण देखिएको थियो । पछि उनबाटै नेपाली महिलालाई पनि सर्‍यो र पछि उनका श्रीमान्मा पनि कोरोना भाइरस देखियो । धन्न उनीहरूको परिवारको अन्य सदस्य भने संक्रमण देखिएन । यो घटना सार्वजनिक पछि विशेषगरी बैंग्लोरमा रहेका नेपालीलाई चिन्तित बनाएका त्यहाँ रहेका ऐनबहादुर रावलले बताए । ‘नेपालीहरूमा अहिले कसरी संक्रमणबाट जोगिने भन्ने चिन्ता छ । लकडाउनका कारण खानबस्नमा कठिनाइ त हुने नै भयो,’ रावलले भने । उनले काम गर्न बसेका एकातिर नेपालीमा चेतनाको कमी रहेको र त्यसमाथि साहुहरूले किनमेलका लागि उनीहरूलाई नै पठाउने गरेका कारण संक्रमणको जोखिम रहेको बताए । ‘अब काम गर्ने भएपछि साहुले भनेको मान्नैपर्‍यो, त्यसले गर्दा कतिबेला भाइरस सर्ने हो भन्ने त्रास रहेको छ,’ उनले कान्तिपुरसँग भने ।

त्यसैगरी राजस्थान, गुजरात र मध्यप्रदेशमा पनि ठूलो संख्यामा नेपाली विभिन्न पेसा व्यवसाय गरेर बसेका छन् । तर यिनै राज्यमा कोरोनाको संक्रमणको बढी देखिएको छ । यसबाहेक संक्रमण बढी देखिएका तेलंगना, राजस्थान, गुजरात, पश्चिम बंगाल, जम्मुकश्मीरका कामदार नेपालीको बाक्लो उपस्थिति छन् । यहाँका नेपालीहरू बढी फास्टफुड र सेक्युरिटीको कामको संलग्न रहेको पाइन्छ ।

नेपालीको बाक्लो उपस्थिति रहेकै राज्यहरूमा संक्रमण बढ्दै गएपछि भारतमा रहेका विभिन्न राजनीतिक पार्टीनिकट प्रवासी संगठनका अधिकारीहरूले नेपालीहरूमाझ कोरोना भाइरसको संक्रमणसम्बन्धी जनचेतना विस्तार र कसैलाई संक्रमण देखिएको खण्डमा उपचारको ग्यारेन्टी गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् । उनीहरूको भनाइमा भारतमा रहेमा नेपालीहरूको आर्थिक हैसियत र चेतनाको स्तरले पनि संक्रमणको जोखिम बढी रहेको छ । ‘भारतमा रहेका नेपालीहरूमध्ये अधिकांशको आर्थिक हैसियत राम्रो छैन । एउटै कोठामा धेरैजना दु:खजिलो गरेर बस्नुपर्ने बाध्यता छ अनि कसरी सामाजिक दूरी कायम हुन्छ । त्यसले गर्दा एक जनामा संक्रमण देखियो भने पूरै परिवार नै जोखिममा पर्ने अवस्था छ,’ अखिल भारत प्रवासी मञ्चका केन्द्रीय सचिव आरबी खड्काले भने ।

त्यसबाहेक नेपालीहरूमा संक्रमणको जोखिमबाट बच्न अपनाउनुपर्ने सावधानीबारे पनि कम जानकारी रहेको खड्काको भनाइ छ । त्यसैले सरकारले दिल्लीस्थित दूतावासमार्फत नेपालीहरूमाझ आवश्यक जनचेतना विस्तारको पहल गर्नुपर्ने उनले सुझाए । साथै यदि कसैमा संक्रमण देखिइहालेको खण्डमा भारतीय नागरिकसरह उपचारको ग्यारेन्टी गर्नुपर्नेमा पनि खड्काले जोड दिए । ‘भारतमा रहेका नेपालीहरूलाई दोस्रो दर्जाको व्यहावर गर्नुभएन, यदि कसैलाई संक्रमण देखियो भने दूतावासमार्फत सरकारले उनीहरूको उपचार सुनिश्चित गर्नुपर्छ,’ खड्काले भने ।

प्रकाशित : वैशाख २, २०७७ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?