कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एम्सका विदेशी चिकित्सकलाई पनि निर्वाह भत्ताको माग गर्दै मोदीलाई पत्र

सुरेशराज न्यौपाने

नयाँ दिल्ली — भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्च्युट अफ मेडिकल साइन्स (एम्स)का चिकित्सकहरूले त्यहाँ अध्ययनरत विदेशी चिकित्सकहरूलाई स्टाइपेन्ड (निर्वाह भत्ता) दिन सरकारसमक्ष माग गरेका छन् ।

एम्सका विदेशी चिकित्सकलाई पनि निर्वाह भत्ताको माग गर्दै मोदीलाई पत्र

एम्स रेजिडेन्ट डाक्टर्स एसोसिएसनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै कोरोना भाइरस (कोभिड- १९) को महामारीले निम्त्याएको संकटका बेला निर्वाहभत्ता दिन माग गरेको हो ।

एसोसिएसनले भारतीय चिकित्सक सरह नै विदेशी चिकित्सकहरूसमेत स्वास्थ्य सेवामा निरन्तर खटिरहेको हुँदा यस्तो बेलामा उनीहरूलाई आर्थिक र भावनात्मक दुवै हिसाबले साथ दिनुपर्ने भन्दै समान निर्वाह भत्ताको माग गरेका हुन् ।

‘विशेषगरी कोरोना महामारीविरुद्धको लडाईँमा संलग्नहरूलाई हरसम्भव सहयोग गर्नुपर्ने यो महत्त्वपूर्ण समय हो, जसबाट अझ बढी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन पनि सहयोग मिल्छ,’ एसोसिएसनद्धारा मोदीलाई लेखिएको पत्रमा भनिएको छ ।

विदेशी विद्यार्थीहरूले भारतीयसरह नै स्वास्थ्य सेवामा योगदान गरिरहेको हुँदा निर्वाह भत्ता दिनुपर्ने संगठनको भनाई छ । साथै विदेशी भूमिमा रहे पनि अध्ययनरत विद्यार्थीहरूलाई आफ्ना दैनिक आधारभूत आवश्यकता परिपूर्तिका साथै परिवारलाई समेत सहयोग बाध्यता रहेको समेत संगठनले पत्रमा लेखेको छ ।

हाल एम्समा ६५ जना भन्दा बढी नेपाली चिकित्सकहरू विभिन्न विषयमा उच्च शिक्षा अध्ययनरत छन् । उनीहरूले विगत लामो समयदेखि भारतीय चिकित्सक सरह नै निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै आएका छन् । तर, उनीहरूको माग सुनुवाई भएको छैन । जबकी भारत सरकारले दुई वर्षअघि नै निर्वाह भत्ता दिने प्रतिबद्धता जनाइसकेको छ । एम्सबाहेक चण्डीगढको पीजीआईएमईआर र पोडिचरीको जवाहरलाल इन्स्टिच्युट अफ पोष्टग्राजुएट मेडिकल एडुकेसन एण्ड रिचर्स (जेआईपीएमईआर) मा अध्ययनरत नेपाली चिकित्सकहरूले पनि यही समस्या भोग्दै आएका थिए । लामो प्रयासपछि केही महिना अघिमात्र उनीहरूको निर्वाह भत्ता पाउने बाटो खुलेको थियो । तर, दिल्लीको एम्सले भने अझै त्यो सुविधा दिएको छैन ।

उक्त निर्णय कार्यान्वयन भएको खण्डमा उनीहरूले भारतीय मुद्रा मासिक एक लाखसम्म पाउने छन् । तर, स्टाइपेन्ड नहुँदा यी सबैले होष्टलमा बस्ने र खाने लगायतको सबै खर्च आफैले व्यहोर्नुपर्छ । त्यसका लागि मासिक रूपमा घरबाट खर्च मगाउनु पर्ने बाध्यता उनीहरूका सामू छ । जबकी उनीहरू ड्युटीमा लगातार २४ घन्टासम्म खट्ने गरेका छन् ।

निर्वाह भत्ताको विषयलाई नेपालले प्रधानमन्त्रीतहको वार्तामा समेत उठाइसकेको छ । र, भारतले त्यसमा सहमति पनि जनाइएसकेको छ । साथै दिल्ली आउने प्रायः सबैजसो स्वास्थ्य मन्त्रीहरूले आफ्ना भारतीय समकक्षीसँग यो विषय उठाउँदै आएका छन् । तर, निर्वाह भत्ताको उल्झन अझै कायम छ । जबकी चिकित्साशास्त्र अन्तर्गत एमडी-एमएस, डिएम-एमसीएच अध्ययन गर्ने विद्यार्थीलाई मासिक रूपमा निर्वाह भत्ता (स्टाइपेन्ड) दिने विश्वव्यापी प्रचलन छ । नेपालमा पढ्ने भारतीय विद्यार्थीहरूले समेत मासिक रूपमा त्यस्तो भत्ता पाइरहेका छन् ।

प्रकाशित : चैत्र २४, २०७६ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?