कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको गुनासो : ‘दूतावासले सामान्य चासोसमेत राखेन’

सुरेशराज न्यौपाने

नयाँदिल्ली — दक्षिण भारतको पोन्डीचरी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर अध्ययनरत विभु लुइँटेललाई आफूसँगै होस्टलमा बस्ने भुटानकी एक साथीको कुरा सुनेर झट्ट त विश्वास लागेन ।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको गुनासो : ‘दूतावासले सामान्य चासोसमेत राखेन’

ती साथीलाई दूतावासबाट फोन आएको रहेछ । दूतावासका कर्मचारीले घर जानका लागि सामान प्याक गर्दै गर्नु र एअरपोर्टसम्म जान ट्याक्सीको व्यवस्था पनि दूतावासले नै गरिदिने जानकारी दिएछन् ।


विभुलाई आफ्नै साथीको कुराले आश्चर्यमा त पार्यो नै अर्कोतर्फ निराश पनि । किन भने उनका लागि दूतावासले सम्पर्क गर्नु अनौठो कुरा थियो । नेपाल फर्काउने त टाढाको कुरा भयो । ‘अरु देशले आफ्ना नागरिकहरुका बारेमा चासो राखेको देख्दा हाम्रो दूतावासबाट त्यस्तो केही नहुँदा नरमाइलो लाग्ने रहेछ,’ विभुले कान्तिपुरसँग भनिन् ।


त्यसो त उनलाई खाना बस्नको खासै समस्या भने छैन । तर, लकडाउनका कारण घर जान नपाएको त्यसमाथि कोरोनाको त्रासबीच होस्टलमा बसिरहँदा परिवारले मनोबल बढाइरहे पनि दूतावासले पनि फोन गरेर हालखबर सोधिँदा थप सान्त्वनाको काम गर्ने विभुको भनाइ छ ।


विभु पढ्ने विश्वविद्यालयमा अन्य पाँच जना नेपाली विद्यार्थी पनि घर नगइ बसेका छन् । ‘बस्न असहज छैन तर, जताततै त्रासको वातावरण छ । त्यसमाथि लकडाउन कहिलेसम्म जाने भन्ने ठेगान छैन । त्यस्तो बेला राज्य र दूतावासले पनि सम्झिदिए हुन्थ्यो भन्ने लाग्दो रहेछ,’ उनले गुनासो गरिन् ।


यस्तो गुनासो गर्ने विभु एक्ली होइनन् । अध्ययनका लागि हाल भारतका विभिन्न सहरमा रहेका सबैजसो नेपाली विद्यार्थीको राज्य र दूतावासप्रति त्यस्तै गुनासो छ । प्रवासी नेपाली संगठन र अन्य विद्यार्थी संगठनहरुका भनाइमा भारतका विभिन्न सहरमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संख्या सत्तरी हजारभन्दा बढी छ ।

नेपाली विद्यार्थीहरु विशेषगरी दिल्ली, मुम्बई, बैंग्लोर, चण्डीगढ, चेन्नई, हरियाणा, हरिद्वारमा बढी छन् । जसमध्ये केही लकडाउनअघि नै नेपाल फर्किसके पनि अझै पनि सयौंको संख्यामा यतै रोकिएका छन् । उनीहरु कोही होस्टलमा छन्, कोही पेइङ गेस्ट(पीजी)मा बस्छन् भने कोही कोठा भाडामा लिएर बस्ने गरेका छन् ।


कोरोना संक्रमण नियन्त्रणका लागि भारतमा लागू गरिएको लकडाउनका कारण विशेषगरी पीजी र कोठा भाडामा लिएर बस्ने नेपालीहरुलाई बढी समस्या परेको उनीहरुको भनाइ छ । लकडाउनका कारण बाहिर सामान नपाउने र पाइहाले पनि चर्को मूल्य तिर्नु पर्ने बाध्यता छ । त्यसैगरी होस्टलमा बस्नेहरुले पनि कलेज र विश्वविद्यालयले सबै कर्मचारीलाई बिदा दिएको हुँदा आफैंले खाना पकाउनुपर्ने बाध्यता छ । यसले कोरोना भाइरसको महामारीबाट त्यसै पनि त्रसित रहेका नेपाली विद्यार्थीहरुमा तनाव थप बढाएको छ । तर, दिल्लीस्थित नेपाली दूतावास भने विद्यार्थीहरुको यी चासो र गुनासोप्रति बेखबर देखिन्छ ।


पुनेमा एमबीए अध्ययनरत नितेश द्विवेदीले आफूलाई खानबस्न सुविधा खासै असहज नभए पनि मानसिक रुपमा भने दबाब रहेको बताए । पुनेमा मात्र पाँचसयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको उनको अनुमान छ । ‘कतिपय साथीहरु एक्लै कोठा लिएर बस्नु भएको छ, उनीहरु तनावमा रहेको पाएको छु । छात्राहरु पनि आत्तिएका छन् । यस्तो बेलामा दूतावासले कम्तीमा पनि सान्त्वना दिन सक्थ्यो,’ द्विवेदीले भने । दक्षिण भारतको बैंग्लोरमा अध्ययनरत विवेक शाहको पनि द्विवेदीको जस्तै गुनासो छन् । उनले पनि यस्तो बेलामा दूतावासले चासो राख्दा मनोबल बढ्नुका साथै परेको बेला राज्यले साथ दिने रहेछ भन्ने भावनासमेत जागृत हुने बताए ।


यता राजधानी दिल्लीमै रहेका विद्यार्थीहरुको पनि दूतावासप्रतिको गुनासो खासै फरक छैन । दिल्ली विश्वविद्यालयमै संगीतमा स्नातकोत्तर अध्ययनरत प्रमिशा लुइँटेल कोरोनाको त्रासका कारण धमाधम होस्टल खाली गराउन थालेपछि आफूहरुलाई निकै तनाव भएको बताइन् । पछि कलेज प्रशासनसँग आग्रह गरेपछि मात्र आफूहरुले होस्टलमा बस्न पाएको उनले बताइन् । तर, दूतावासले नेपालीहरु विद्यार्थीहरुलाई परेको मर्काका बारेमा कुनै चासो नराखेकोमा उनले पनि गुनासो गरिन् । सँगै अन्य देशका विद्यार्थीलाई उनीहरुको दूतावासले सम्पर्क गरिरहेको देख्दा मन थप दुखेको प्रमिलाको भनाइ छ । ‘कम्तीमा पनि जो-जो विद्यार्थीहरुलाई निकै गाह्रो छ उनीहरुलाई सम्पर्क गरेर सान्त्वना दिने र पछि सुरक्षित रुपमा घर जाने वातावरण बनाइ दिए हुन्थ्यो,’ उनले भनिन् ।


दिल्ली विश्वविद्यालयअन्तर्गतको किरोडिमल कलेजमा स्नातक अध्ययनरत रोहित दुवाडीले पनि होस्टलमा बस्नेहरुलाई भन्दा बाहिर पीजीमा बस्नेहरुलाई निकै कठिन रहेको बताए । उनले दूतावासले कम्तीमा पनि समस्यामा परेका विद्यार्थीहरुका लागि सहयोग जुटाउन समन्वय गर्न सक्ने बताए । ‘कम्तीमा पनि कहाँ कहाँ समस्या छ त्यो मात्र जानकारी राखिदिने हो भने पनि धेरै हुन्थ्यो तर, त्यतिसम्म पनि गरेको छैन,’ उनले भने ।


त्यसैगरी दिल्लीकै साउथ एसियन् युनिभर्सिटी(साउ) मा ३० जनाभन्दा बढी नेपाली विद्यार्थी होस्टलमा छन् । त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको पनि दूतावासले कुनै चासो नदेखाएको गुनासो छ । साउमा अर्थशास्त्रमा पीएचडी अध्ययरनत ईश्वर अधिकारीले भुटान, श्रीलंकाले समेत आफ्ना विद्यार्थीहरुका बारेमा नियमित चासो देखाएको तर, आफूहरुका बारेमा दूतावासले केही सोधपुछसमेत नगरेकोमा दुःख व्यक्त गरे । खान बस्नको समस्या नभए पनि होस्टलमा एक जनालाई कोरोना भयो भने अन्यलाई पनि सर्ने जोखिम बढी हुने भएकाले सबै विद्यार्थी त्रसित अवस्थामा रहेको उनको भनाई छ । र, दूतावासले यस्तो परिस्थितिमा विद्यार्थीहरुलाई सम्बोधन गरेर एउटा विज्ञप्ती नकालेको भन्दै उनले आक्रोश व्यक्त गरे । ‘यही भएर नै हो दूतावासबाट केही आशा नगर्ने,’ अधिकारीले भने ।


साउमै उपप्राध्यापक छन् युवराज पोखरेल । उनले पनि दूतावासले सबै विद्यार्थीसँग व्यक्तिगत तवरमा सम्पर्क गर्न सम्पर्क गर्न सम्भव नभए पनि कम्तीमा एउटा विज्ञप्ति भए पनि निकाल्नु पर्ने धारणा राख्छन् । यस्तो बेलामा विद्यार्थीहरु मानसिक तनावमा रहँने हुँदा दूतावासले सम्झेको खण्डमा त्यसले ठूलो राहतको काम गर्ने पोखरेलको जिकिर छ ।


यसैगरी दिल्लीमै सीए अध्ययनरत अर्का एक नेपाली विद्यार्थी सुदन महतले पनि यस्तो संकटका बेला समेत दूतावासले सक्रियता नदेखाउनु विडम्बनापूर्ण भएको बताए । उनले दूतावासले खाली सुरक्षित भएर बस्नु भनेर आफ्नो जिम्मेवारीबाट पन्छिएको समेत आरोप लगाए । ‘घरमा बस्नु भनेर दूतावासले भनिरहनै पर्दैन । कहाँ कसलाई समस्या छ भनेर खोजबिन गर्नुपर्यो । समस्यामा परेकालाई सहयोग गर्नुपर्यो नत्र दूतावास हुनुको के अर्थ भयो र ?’ महतले भने । समस्यामा परेका विद्यार्थीहरुलाई दूतावासले समन्वय गर्ने हो भने जस्तो पनि राहत दिन सकिने उनको भनाई छ । ‘प्रवासी संगठन र विद्यार्थीहरुको ठूलो सन्जाल छ । मात्र दूतावासले समन्वय गरे पुग्छ । विद्यार्थीमात्र नभएर अन्य नेपाली कामदारहरुलाई पनि भनेजस्तो सहयोग पुर्याउन सकिन्छ । तर, दूतावास सुतिरहेको छ,’ उनले भने ।


त्यसैगरी सीए नै अध्ययनरत अर्की एक नेपाली विद्यार्थी संदीघ्नता खनालले यसकिसिमको असमान्य अवस्थामा दूतावासले आफ्ना नागरिकहरुको मनोबल बढाउन भए पनि सूचना जारी गरेर वा सम्पर्क गर्नुपर्ने बताउँछिन् । ‘सबैले आफ्ना नागरिकलाई सम्झेका छन् । हाम्रो दूतावासले पनि मनोबल बढाउन भने पनि ध्यान दिनुपर्ने हो,’ उनले भनिन् ।


तर, दूतावास भने विद्यार्थीहरुको चिन्ता र चासोप्रति पुरै बेखबर देखिन्छ । त्यसो त दूतावाससँग भारतमा कति नेपाली विद्यार्थी अध्ययनरत छ भन्ने अभिलेख छैन । दूतावासका प्रवक्ता हरि ओडारीले पनि भारतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्याको अभिलेख नभएको स्वीकारे । यसबाट नै दूतावासलाई नेपाली विद्यार्थीहरुको अवस्थाका बारेमा जानकारी छैन भन्ने प्रष्ट हुन्छ ।

तर, विद्यार्थीहरुलाई केही समस्या परेको खण्डमा दूतावासलाई त्यसलाई सम्बोधन गर्न हरदम तयार रहेको प्रवक्ता ओडारीले दावी गरे । उनले विद्यार्थीलाई मात्र लक्षित गरेर सूचना प्रवाह नभए पनि दूतावासले भारतमा रहेका सबै नेपालीहरुलाई सम्बोधन गरेर विभिन्न सूचनाहरु जारी गरेको दाबी गरे । ‘विद्यार्थी समुदायलाई मात्र लक्षित गरेर सूचना जारी नभएको हो साँचो हो । तर, हामीले भारतमा रहेका सबै नेपालीहरुलाई अहिलेको परिस्थितिका बारेमा अवगत गराएका छौं । र, कोरोना महामारीसम्बन्धमा आधिकारिक निकायहरुबाट जारी सबै सूचनाहरुलाई प्रवाह गरेका छौं,’ प्रवक्ता ओडारीको भनाइ छ ।

प्रकाशित : चैत्र २१, २०७६ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?