लीलबहादुरलाई भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार

मनोज बोगटी

दार्जिलिङ — भारत सरकारले यसवर्ष असमका साहित्यकार लीलबहादुर छेत्रीलाई पद्मश्री प्रदान गर्ने भएको छ । छेत्रीसँगै सिक्किमका खेलाडी तरुणदीप राई र उत्तरप्रदेशका खेलाडी जितु छेत्रीलाई पद्मश्री पुरस्कार प्रदान गरिँदै छ ।

भारत सरकारले यसवर्ष जनालाई पद्मविभूषण, १६ जनालाई पद्मभूषण अनि ११८ जनालाई पद्मश्री पुरस्कार दिने भएको छ, जसमा तीनजना नेपालीभाषीले पनि पद्मश्री पाउने भएका हुन्।

प्रतिवर्ष गणतन्त्र दिवसको पूर्वसन्ध्यामा घोषणा गरिने यी प्रतिष्ठित नागरिक पुरस्कार उनीहरूलाई राष्ट्रपतिको बाहुलीबाट एक समारोहबीच प्रदान गरिनेछ।

लीलबहादुर छेत्री नेपाली साहित्यमा एक सम्मानित नाम हुन्। उनलाई शिक्षा र साहित्यको निम्ति पद्मश्री पुरस्कार प्रदान गरिएको हो। उनका 'बसाइँ' र 'ब्रह्मापुत्रकाे छेउछाउ'जस्ता उपन्यास चर्चित छन्। उनले १९८७ मा 'ब्रह्मापुत्रको छेउछाउ' कृतिका लागि साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन् ।

दार्जिलिङका सांसद राजु विष्टमार्फत आफूले पुरस्कार पाएको थाहा पाएको छेत्रीले बताए। पुरस्कार पाएको कुरा सुनेर खुसी लागेको उनले बताए । म त निरन्तर काम गर्ने मान्छे हुँ, पुरस्कारको लागि भनेर साहित्य लेख्दिनँ। म त आफ्नै खुसीको लागि लेख्ने हुँ, छेत्रीले भने, यो पुरस्कार मेरा शुभेच्छुकहरूको सफलता हो। पहिले त मैले जनता(पाठक)को माया पाएँ, तर अहिले सरकारको माया पनि पाइयो।

जितु राई उत्तरप्रदेश निवासी सुटर खेलाड़ी हुन्। यद्यपि उनको जन्म नेपालको संखुवासभामा भएको हो। सन् २००६ मा नेपालबाट भारतीय सेनामा भर्ती भएर आएपछि उनी भारतीय नागरिक बनेका हुन्। उनी ११ गोर्खा राइफल्समा नायब सुवेदार छन्। सेनाबाट नै उनले एसियाई खेल, म्युनिक वर्ल्डकप, रियो ओलम्पिकमा भारतलाई स्वर्ण पदक दिलाएका हुन्।

सिक्किम निवासी तरिणदीप राई भने भारतका प्रसिद्ध तिरन्दाज खेलाड़ी हुन्। तरुणदीपले १९ वर्षको उमेरमा म्यानमारको याङ्गोनमा आयोजना भएको एसियाली तिरन्दाजी च्याम्पियनसिप (२००३) बाट तिरन्दाजी सुरु गरेका हुन्। चीनको गुआजाउमा भएको १६ औं एसियाली खेलमा एकल पुरुष तिरन्दाजीमा रजत पदक जित्ने उनी पहिलो भारतीय हुन्। यसबाहेक उनी २००५-मा विश्व तिरन्दाजी च्याम्पियनसिपको सेमीफाइनल चरणमा प्रवेश गर्ने पहिलो भारतीयसमेत हुन्।

प्रकाशित : माघ १२, २०७६ १२:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ

रासस

गलकोट — यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो । 

बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने विभेद, सुरक्षित प्रसूति र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ कार्यक्रमको ल्याएको छ । गाउँपालिकाले छोरी जन्मेमा हरेक महिना एक सय रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको बरेङ गाउँपालिकाले जनाएको छ । छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाको केही सर्त पूरा गर्नुपर्ने हुन्छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित रुपमा चारपटक स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थामा सुत्केरी र ३५ दिनभित्र बच्चाको जन्मदर्ता गराएमा मात्र उज्यालो भविष्य कार्यक्रममा समावेश गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । 'यो सानो सुरुआत हो, हेर्दा सामान्य लागे पनि विभेद अन्त्यका लागि ठूलो कदम हुन्छ', अध्यक्ष पौडेलले भने, 'यो कार्यक्रमले सुरक्षित भविष्य, सुरक्षित प्रसूतिदेखि छोरीहरुको पठनपाठनलगायत धेरै विषयमा फाइदा दिन्छ ।'

गाउँपालिकाले प्रदान गर्ने सुविधा पाउनका लागि शिशुको आमाबाबुले पनि गाउँपालिकासँगै छोरीको खातामा २० वर्षसम्म नै एक सयका दरले रकम जम्मा गर्नुपर्नेछ । यदि छोरी २० वर्षको हुँदासम्म ८ कक्षा पास नगरेमा, २० वर्ष उमेर नपुग्दै विवाह गरेमा गाउँपालिकाले जम्मा गरिदिएको रकम फिर्ता लिने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । छोराछोरी जुन जन्मे पनि दुई बच्चाका लागिमात्र सो सुविधा लागू हुनेछ । तेस्रो बच्चा भएपछि उज्यालो भविष्य बचतमा गाउँपालिकाले सहयोग नगर्ने भएकाले धेरै सन्तान वृद्धि हुनबाट समेत रोक्न सचेत गर्ने प्रमुख थापाले बताए ।

यही चैत महिनाभित्र सुत्केरी महिला २० वर्ष उमेरभन्दा कम भए पनि यो सुविधा पाउने र आगामी वर्षदेखि शिशुको मासिक बचत पाउनका लागि शिशुको आमासमेत २० वर्ष पुग्नुपर्ने गाउँपालिकाले सर्त बनाएको थापाले जानकारी दिए । 'हामीले छोरीको बचत मात्रै हैन छोराछोरीको विभेद अन्त्यदेखि उमेर नपुग्दै विवाह गर्ने प्रचलनसमेत हटाउँछौं', थापाले भने । यो कार्यक्रमसँगै गाउँपालिकाले गर्भवती महिलाका लागि पोषिलो झोला कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको पाँचवटै वडाभित्रका पाँच स्वास्थ्य चौकी र तीन सामुदायिक स्वास्थ्य इकाइमार्फत यो कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखाप्रमुख पदमबहादुर पुनले जानकारी दिए । उनका अनुसार गाउँपालिकामा पहिलोपटक गर्भवती जाँच गराउने सुत्केरी महिलालाई पोषिलो झोला प्रदान गरिएको छ । पोषिलो झोलामा आयोडिनयुक्त नुन, रायो, मूला, धनियाँ, सिमी, बोडीको बीउ राखिने गरेको छ ।

नियमित गर्भ जाँचमा प्रोत्साहन गरेर महिलालाई स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी बनाउन र खानपानमा हरिया सागपात, आयोडिनयुक्त खाना खानेलगायत परामर्शसमेत यस अवसरमा दिने गरेको स्वास्थ्य शाखाप्रमुख पुनको भनाइ रहेको छ । पोषिलो झोला कार्यक्रमबाट गर्भवती महिलाले लाभ लिइसकेका छन् ।

प्रकाशित : माघ १२, २०७६ १२:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×