गान्तोकमा ग्लोबल फिल्म फेस्टिबल हुने

मनोज बोगटी

दार्जिलिङ — सिक्किमको राजधानी गान्तोकमा पहिलोपल्ट तीनदिवसीय चलचित्र महोत्सव (ग्लोबल फिल्म फेस्टिबल) हुने भएको छ। सिक्किम चलचित्र कोअपरेटिभ सोसाइटीले फिल्म फेडरेसन अफ् इण्डियासितको सहकार्यमा महोत्सव गर्ने भएको हो।

मनन केन्द्रमा २८ फरवरीदेखि १ मार्चसम्म हुने महोत्सवमा ४० राष्ट्रीय तथा अन्तराष्ट्रीय चलचित्र प्रदर्शन हुनेछ। जसमा नेपाललगायत भारतको निकटवर्ती राष्ट्रका चलचित्रहरू हुनेछन्। महोत्सवमा आफ्ना चलचित्र प्रदर्शनी गर्न चाहनेहरूले फेडरेसनको वेबसाइटमार्फत २५ जनवरीसम्ममा चलचित्र पठाउन सक्नेछन्।

महोत्सवमा बलिउडका चर्चित कलाकार र चलचित्र निर्माताहरूहरूको विशेष सहभागिता हुनेछ,महोत्सवका संयोजक चुनिलाल घिमिरेले भने, अहिलेसम्म सुवास घई, आशा पारेख, रनवीर कपुर, राहुल रावेललगायतका कलाकार, निर्देशकहरू आउने निर्णय भइसक्यो। महोत्सवमा स्थानीय चलचित्र, वृत्तचित्र प्रदर्शनीको पनि व्यवस्था गरिएको छ।

प्रकाशित : माघ ५, २०७६ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्यारासाइट : सहर, सपना र आक्रोश

६ वटा विधामा ‌ओस्कर मनोनित कोरियन फिल्मको समीक्षा

काठमाडौँ — फिल्मविज्ञ ग्लेन हृवीपले ‘एलए टाइम्स’मा लेखेका थिए– यो वर्ष ‘प्यारासाइट’ले सबै ओस्कार अवार्ड जित्नुपर्छ तर एउटै नजित्न पनि सक्छ ।’

सबै त होइन तर केही अवार्डचाहिँ जित्ने सम्भावना बढेको छ । वा, ग्लेनले भनेजस्तै कुनै नजित्न पनि सक्छ । मनोनयनमै सही, रेकर्ड भने राखेको छ । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको ओस्कार मनोनयनमा पर्ने यो पहिलो कोरियन फिल्म हो । यीसँगै ६ विधामा मनोनित छ । निर्देशक हुन्, वोङ जो हु ।

ओस्कार मनोनयनअगावै ‘प्यारासाइट’ले व्यापार र अवार्डमा अनेक उपलब्धि हासिल गरेको थियो । जस्तो ः ११ मिलियन बजेटको यस फिल्मले १ सय ३७ मिलियन व्यापार गर्‍यो । कान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भयो र कानमा पाम डि’अर (सर्वोकृष्ट फिल्म)को अवार्ड जित्ने पहिलो कोरियन फिल्म बन्यो । गोल्डन ग्लोबको ७२ औं संस्करणमा उत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भयो । ओस्कार यात्रापछि यसको डिजिटल राइट्सको भाउ आकासिदै छ ।

हामीकहाँ एउटा सोच व्याप्त छ– अवार्ड/फेस्टिभलमा जाने फिल्मले पैसा कमाउँदैनन् । अर्थात, बक्सअफिसमा हिट फिल्म फेस्टिभल पुग्दैनन् । तर ‘प्यारासाइट’ले यसलाई गलत सावित गर्‍यो । कोरियन भाषामै बनेर संसारकै फिल्म समीक्षक, शुभेच्छूकको मन जित्यो, अमेरिका, क्यानडा र युरोपका सिनेमा हलमै चल्यो, लामो समय । नेपालमा चाहिँ रिलिज भएन ।

आखिर के छ ‘प्यारासाइट’मा जसले यसलाई नाम र दामको धनी बनायो ? फिल्म पण्डितहरु भन्छन्– यो ‘आर्ट’ र ‘कमर्स’को गज्जबको समीश्रण हो । पात्र, तिनीहरुको उकुसमुकुस, विभेदकारी संरचनाजस्ता समाजका यावत् कठोर नियतिको सशक्त चित्रण छ । जहाँ कमेडी छ, लभ छ । र, सस्पेन्स पनि । एकपछि अर्को दृश्यको पर्दा उघार्दै अब के होला भन्ने प्रश्नले दर्शकलाई बाँध्दै लान्छ ।

फिल्मको केन्द्रमा छ– वर्गीय अन्तरले निम्त्याउने आक्रोश ।

‘प्यारासाइट’ दुई परिवार किम र पार्कको कथा हो । किमको परिवार गरिब छ, खानलाउनै धौ–धौ । पार्कचाहिँ सम्पन्न । किमको छोराले पार्ककी छोरीलाई घरमै अंग्रेजी पढाउने काम पाउँछ । घरभित्रको वैभवले उसलाई मोहित पार्छ । पार्कको चकचके छोराको ‘आर्ट थेरापिस्ट’ बन्छिन्, किमकी छोरी । त्यसपछि किम आफैं पार्कको ड्राइभर बन्छन्, उनकी पत्निचाहिँ घरेलु सहयोगी । उनीहरु एकअर्कालाई नचिनेझैं गरेर योजनाबद्ध ढंगले पार्कको घर छिरेका हुन्छन् । यहाँसम्म कथा सरल बाटोमै हिँड्छ ।


पार्कको परिवारै घुम्न निस्केको बेला त्यही घरकी पहिलेकी कामदारको आगमनपछि भने रहस्य थपिदै र खुल्दै जान्छ । घरभित्रको बंकर खुलेपछि चाहिँ शान्त तलाउमा ढुंगा हानेझैं हुन्छ । यहीबेला पार्कको परिवार एक्कासी घर फर्कन्छ । यो परिस्थितीलाई निर्देशकले रोचक र अर्थपूर्ण शैलीमा सुरक्षित अवतरण गरेका छन् । यही कारण हुनुपर्छ, फिल्म सकिएपछि दिमागमा अनेक सवाल सल्बलाउँछन् ।

सहर उही भए पनि फरक आर्थिक हैसियतमा बाँचिरहेका पात्रको आनीबानी र मनोविज्ञान फरक छ । सम्पन्नताले देखावटी नै सही व्यक्तिलाई संस्कारी बनाएको छ, पारिवारिक प्रेम छ । अभावले चाहिँ किमको परिवारभित्रै झैंझगडा जन्माउँछ । तर, उनीहरुमा पनि टन्न पैसा कमाउने सपना छ । त्यसैले आपसी हेलमेलमै चातुर्यपूर्वक पार्कको सम्पत्तिमाथि आँखा लगाउँछन् । किमको परिवारले पार्कको घरमा पार्टी गरेको दृश्य गरिबीभित्रको कुन्ठाको प्रतिबिम्ब हो । विपन्नताले नचाहँदा–नचाहँदै गलत कर्मतिर डोर्‍याउँने विवशताको विश्वसनीय चित्रण फिल्मको सशक्त पाटो हो । निर्देशकले पात्रको मनोविज्ञान र चालढाललाई हास्यशैलीमै व्यक्त गर्छन्, तर यसको संवदेनशीलता मर्न दिँदैनन् ।

उत्तर कोरियासँगको युद्धले आक्रान्त भएपछि दक्षिण कोरियाका धनीमनीले लुक्नका लागि घरमुनी बंकर बनाएका थिए । आज पनि ती बंकरहरु अस्तित्वमा छन् । वर्गीय विभेदको यो कथाको मेरुदण्डझैं लाग्छ, बंकर अनि त्यसपछि जन्मने घटनाक्रम । घरमुलीलाई थाहै नदिई सहयोगी महिलाले आफ्नो पति बंकरभित्र लुकाउनु परेको छ किनभने उनले चर्को ब्याजदरमा लिएको ऋण चुक्ता गर्न सकेका छैनन् । अर्थात्, युद्धबाट बच्न धनीले बनाएका बंकरहरुमा आज गरिबहरु लुक्दैछन् । तर स्वयः घरमुलीलाई यसको पत्तो हुन्न । बंकरभित्र हत्या भइरहँदा बाहिर जन्मदिनको भव्य उत्सव हुँदैछ । यसरी निर्देशकले अनेक कोणबाट गरिबी र त्यसले जन्माउने विष्मयमाथि कटाक्ष गरेका छन् ।

आलिसान महलमा बसे पनि पार्ककी छोरीलाई एक्लोपनले सताएझैं लाग्छ, उनी छिट्टै आफ््नो शिक्षकसँग प्रेममा पर्छिन् । जसले उनको मन हैन, धनमा आँखा लगाएको छ । पार्ककी पत्नीलाई स–साना समस्याले पनि धेरै सताउँछ ।
सानो छोरासमेत बेचैन छ । प्रकृति फरक भए पनि किमको परिवार पनि छटपटाइरहेको छ । बंकरभित्र लुक्नेको पीडा त अथाहा छ । कोरियन समाजको व्यथा भए पनि यी पात्रहरु विश्वव्यापी हुन् । त्यस्तै, दैनिक जीवनमा हुन नसक्ने मनग्ये घटनाहरु छन्, फिल्ममा । तर त्यसको निर्माण, प्रस्तुति र कलाकारको जीवन्त अभिनयले पूरापूर विश्वसनीय बनाइदिएको छ । पात्रको पीडालाई आत्मसात् गर्न सकिन्छ । सिनेमाको खुबी भनेकै यही हो । मूलधारका नाम चलेका कलाकारबाट निकै जीवन्त अभिनय गराएकाले पनि निर्देशक हुले अतिरिक्त प्रसंशा कमाएका हुन् ।

रातभरको वर्षाले भाडाको कोठा भरिएपछि किम र उनको छोराको बिचल्ली हुन्छ । त्यहीबेला पार्कले छोरालाई भन्छन्, ‘योजना कहिल्यै बनाउनुहुन्न । योजना भएन भने केही नराम्रो हुँदैन, भइहाल्यो भने पनि केही फरक पर्दैन ।’
धनी हुने योजना/सपनाकै कारण किमको परिवारमा ठूलो विपत्ती आइलाग्छ । तर पनि हराएको बुबालाई सम्झदै धनी हुने सपना बुनिरहन्छ, छोरा । आखिर, गरिबले देख्ने भनेकै सपना हो । र, सपनाले नै हो, मान्छेलाई बाँच्न प्रेरित गरिरहने । यो मानवीय स्वभावलाई दृश्यमार्फत अभिव्यक्त गर्नु निर्देशक वोङको सबभन्दा ठूलो खुबी हो ।

प्रकाशित : माघ ५, २०७६ १९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×