बेलायतमा नेपाली महिलाको हत्या

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले चिनिने ३२ वर्षीया शुभेक्षा बुराथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

पोस्टमार्टम रिपोर्टमा उनलाई धेरै पटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएको छ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थवल्म्यू स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा फातिमाको घटनास्थलमै मृत्यु भइसकेको थियो ।

इष्ट मिडल्याण्ड स्पेशनल अपरेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले केही सूचना भए उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।

प्रकाशित : आश्विन २४, २०७६ १३:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कलाकार र साहित्यकारको अनुभव : त्यो दसैं, यो दसैं

कान्तिपुर संवाददाता

काठमाडौँ — सामाजिक सञ्जालले गर्दा अहिले प्रत्यक्ष भेटघाटको रौनक घटाइदिएको छ ।

‘खुल्छ काठमाडौं’
मोमिला जोशी, साहित्यकार
सुनसान भए पनि दसैंको बेलाको काठमाडौंको सौन्दर्य भिन्न हुन्छ । धुलो कम, शरद यामको रमाइलो मौसम । यस्तैमा केही मन्दिरहरू घुमें । घरमै बसें, यसपटक खानपिनमा निकै सचेत रहें । पहिले पहिले मासुको परिकारमा अलमस्त भइन्थ्यो । यसपटक भेज–ननभेज मिलाएर खायौं । कात्तिक १ गतेदेखि पाँच दिन नेपाल कला साहित्य डटकम प्रतिष्ठानमार्फत् साहित्यकारहरूको एउटा टोलीलाई रारा लिएर जाँदै छौं, धेरैजसो समय यही यात्राको तयारी क्रममा बित्यो । यसबाहेक युवराज नयाँघरेको निबन्धकृति ‘तनक्खा’ पढिभ्याएँ । नयाँघरेले बर्माको सचित्रवर्णन गर्नुभएको छ यो कृतिमा । बर्मा बुझ्नुछ भने यो किताब पढ्दा राम्रो । त्यहाँको नेपाली समाज, संस्कृतिदेखि भाषा साहित्यसम्मको मोह लोभलाग्दो रूपमा पुस्तकमा प्रस्तुत छ ।

टीकाको दिन भीमसेन गोलास्थित ठुल्दाइ (ईश्वर जोशी) को घरमा गएँ । बुबापछिको उहाँ हुनुहुन्छ हाम्रो अभिभावक । टीका राख्दै उहाँले ‘अझै धेरै साहित्य लेखनमा लाग्नू’ भन्नुभयो । भाउजू र परिवारसँग बसेर दसैं मनाएँ । हरेक दसैंको बेला मलाई धनकुटा बजारलाई मिस गर्छु । ३१ वर्ष भएछ धनकुटा बजार छोडेको । हुलाकटोल छेउमै थियो त्रिवेणी स्कुल । बुबाले नाम जुराउनुभएको यो स्कुलको चौरमा दसैंको बेला रोटे पिङ र लिंगे पिङको रौनक एकदमै भिन्न हुन्थ्यो । हामी साथीभाइ मिलेर पिङ मच्चाउँथ्यौं । गाउँघर घुम्दै रमाउँथ्यौ । अब त्यो समय रहेन । सहरमा रोटे पिङको के मज्जा हुन्छ र ?

‘पहिलो दक्षिणा २० रुपैयाँ’
राजनराज शिवाकोटी, संगीतकार
दसैं भन्नेबित्तिकै सानो छँदाको सम्झनाहरू नै आउने रहेछ । नयाँ लुगा, पिङ, मामाघर, टीका अनि दक्षिणा । पैसा जम्मा गर्ने त्यो बेलाको जस्तो रमाइलो अहिले कहाँ हुनु ? दोलखामा बाल्यकालमा मनाएको दसैं र अहिले सहरमा मनाएको दसैंमा धेरै फरक अनुभूति हुन्छ । पहिले दसैं आउनुअघि नै कपडा सिलाउने चटारो हुन्थ्यो । सबैको पालो कुर्दाकुर्दा आफ्नो पालो आउँदा त एक साता नै बित्थ्यो । दौरासुरुवाल सिलाउँदा तुना हालेदेखि नै कहिले सकिएला भन्दै कुरेको त्यो क्षण साह्रृै याद आउँछ । मार हान्ने दिनको छुट्टै उत्साह हुन्थ्यो ।

दक्षिणा भने छोरामान्छेलाई दिने चलन थिएन । दक्षिणाकै लागि मामाघर जानलाई तँछाडमछाड हुन्थ्यो । मामाले पहिलोपल्ट सबैभन्दा धेरै २० रुपैयाँ दक्षिणा दिनुभएको बेला एकदमै खुसी भएको क्षण अझै सम्झना छ । एकचोटि दसैंमा पिङ खेल्नकै लागि साथीसँग झगडा गर्दा साथी र म झन्डै भीरबाट खसेका थियों । छेवैको रूखमा अल्झेर बाँचियौं । करिब पाँच वर्षपछि यसपालि दिल खोलेर यता भक्तपुरतिरै दसैं मनाएँ । २०७२ देखि गीतसंगीत सिर्जनामा व्यस्त थिएँ । दर्शकश्रोतालाई कसरी राम्रो सिर्जना दिन सकिन्छ भन्ने चिन्तनमै बित्थ्यो दसैं । यो वर्ष समीक्षाजस्तै भएको छ । बुबाको हातबाट टीका थापें । आशीर्वाद लिएँ । आफन्तजन कहाँ गएर टीका र आशीर्वाद थाप्ने क्रम जारी नै छ । माछामासुमा त्यति रुचि छैन । बलि दिने कुरा अलिक मन पर्दैन । तास पनि खेलिँदैन । केटाकेटीसँगै बसेर दसैंमा रमाइलो गरियो ।

‘यसपालि दुइटा’
केकी अधिकारी, अभिनेत्री
पहिले पहिले विराटनगरमा गएर दसैं मनाउथ्यौं । केही वर्ष यता काठमाडौंमै मनाइन्छ । जतिसुकै रम्न खोजे पनि सानो बेलाको जस्तो रमाइलो कहाँ हुन्छ र ?
सानो बेलामा पिङ र चंगा खेलेर मनाएको दसैंको बेग्लै रमाइलो थियो । सबैजना सँगै बसेर मनाए पनि सानोबेलाको दसैं एकदमै मिस गर्छु । त्योबेला घरमा पूजा गर्न बनाइने अस्थायी मूर्तिहरू देखेर खुब रमाइलो लाग्थ्यो ।
कसरी यति दुरुस्तै बनाएको होला भन्दै कल्पिन्थें । पूजा गर्दाको धुपको बास्ना अझै याद आउँछ ।

सानो छँदा दसैंको टीका भन्नेबित्तिकै खाममा राखेको पैसातिर पहिले चासो हुन्थ्यो । कतिखेर टीका लगाऊँ र खाम खोलेर हेऔं जस्तो काउकुति हुन्थ्यो । अहिले त्यो उत्साह र बच्चपनको रमाइलो छैन । तैपनि अरू बेलाको दसैंभन्दा यो वर्षको दसैं मेरा लागि विशेष छ । टीकाको दिन बुबाको हातबाट टीका थापें ।

मामाघर नि यतै भएकाले सजिलो भयो । यो वर्ष मैले दुइटा दसैं मनाउँदै छु । एउटा बडादसैंको विजयादशमी, अनि अर्कोचाहिँ फिल्म ‘छ माया छपक्कै’ ।
दसैंको रमझमभन्दा पनि यही फिल्मप्रतिको उत्सुकताले म केही नर्भस भएकी छु । कस्तो प्रतिक्रिया आउँछ होला, दर्शकको रेस्पोन्स के होला भन्ने लागिरहेको छ ।

‘मासु–चिउरामा स्वादै छैन’
बुद्धि तामाङ, अभिनेता
फिल्मको चटारोबीच पनि यसपटक दसैं मनाउन गाउँ (काभ्रे) गएँ । तामाङ समुदायमा सेतो टीका राख्ने चलन छ । दसैं पनि म्हेनिङ भन्छौं । सायद यो दसैंभन्दा फरक पर्व पनि हो कि जस्तो लाग्छ । तर, एउटै समयमा पर्ने भएकाले दसैं र म्हेनिङ एउटैजस्तो बन्न पुगेको छ । यही बेला हाम्रो कुलपूजा गर्ने पनि परम्परा छ । एक्लो छोरा भएकाले यसपालि पूजामा बुबाको सहयोगी भएर पनि काम गरें । टीका राख्न मामाघर पनि गएँ ।

तास खेल्ने बानी छैन । माछा–मासुचाहिँ टन्न खाइन्छ । पहिलो पिङ खेलेर रमाइलो गरिन्थ्यो, यसपालि आमाबुबालाई समय दिएर रमाइलो गरियो । कामको व्यस्तताले आमाबुबासँग भेट हुने समय भनेको यस्तै चाड पर्व बनेको छ । घरमा बस्नुको आनान्द नै भिन्नै हुन्छ । सानो छँदा पिङ बनाउन बाबियो खोज्दै पाखाबारी डुलेको याद आउँछ । बाबियो बटुलेर मिलीजुली पिङ बाट्थ्यौं, खेल्दाचाहिँ खुब होहल्ला गर्थ्यौं ।

अहिले त सबै कुराको स्वाद बदलिएको जस्तै लाग्छ । रेडिमेड पिङ पाए पनि त्यो बेलाको पिङको मज्जा नै भिन्नै । त्यो बेलाको चिउरा–मासुको स्वाद र अहिलेको स्वाद पनि फरक लाग्छ । पहिले नयाँ लुगा लगाउन दसैं नै कुर्नुपथ्यो अहिले त्यस्तो छैन । तर पनि दसैंमा किनेको नयाँ कपडाको छुट्टै महत्व हुन्थ्यो । बुबाले दसैंमा नयाँ लुगा ल्याउँदा पहिले खुसी लाग्थ्यो भने अहिले आफूले लैजाँदा उहाँहरू खुसीले हाँस्दा मनमा आनन्द लाग्छ ।

‘फेसबुक–ट्वीटरले रमाइलो कम’
लुनिभा तुलाधर, अभिनेत्री
काठमाडौंभन्दा बाहिरको दसैं रमाइलो हुन्छ भनेको सुनिन्छ तर मलाई यतैको रमाइलो लाग्छ । दसैंको बेलामा हुने सुनसान सडक र बस्तीले मलाई सानो छँदा देखेको काठमाडौंको याद दिलाउँछ ।
दसैंकै बेला हाम्रो नेवार समुदायमा आफन्तजनलाई पालैपालो बोलाएर भोज खुवाउने चलन छ । यस्तो भोजदलाई नख्तिया भनिन्छ । हामी बौद्धमार्गी भएकोले रातो अक्षेता टीकाको सट्टा पहेँलो, सुन्तला रंग र नवदुर्गाको रुपमा कालो रंगको टीका लगाउँछौं । यस्तो टिकाको आ–आफ्नै सांस्कृतिक व्याख्या छन् ।

भेटघाटमा पहिलेको जस्तो रमाइलो एक कम हुन्छ । तैपनि पुरानो सम्झनाको भने खुब रमाइलो लाग्छ । मामाघर हाम्रो भन्दा ठूलो भएकोले सानोमा दसैंमा गएर भर्‍याङमा कुदाकुद गरेको सम्झँदा अहिले पनि रमाइलो लाग्छ ।

दसैंमा पाकेको खानेकुरा किस्तीमा राखेर मामाघर लगेर फर्किने क्रममा किस्तीमा जसको घरबाट बढी पैसा आउँछ त्यतैतिर जान हाम्रो हानथाप चल्थ्यो । तर अहिले बिस्तारै यो सबै परम्परा हट्दै गएको छ । सामान्यत: दसैंमा घरमा महिलालाई कामको भार धेरै पर्ने भएकोले खासै रमाइलो लाग्दैन । यताउति हिँड्दाहिँड्दै दसैंमा थाकिन्छ ।

‘रातभरि पिङ बाट्थ्यौं’
जितु नेपाल, अभिनेता
हाम्रो परिवार अलिक ठूलो छ । एक–अर्काको घरमा जमघट गरेरै दसैं बित्छ । कहिले आफ्नो घर, कहिले काका–ठूलाबाको घर त कहिले दाजुभाइ घर । पालैपालो जम्मा हुने, खानपिन अनि रमाइलो गर्ने । टीकाटालो पनि यसरी नै चल्छ । छुट्टा छुट्टै भए पनि एक हिसाबले हाम्रो दसैं सामूहिकजस्तै हुन्छ । सायद दसैंको महत्त्व पनि यही नै होला ।

पहिले गाउँ (सिन्धुपाल्चोक) को दसैं अभावको हुन्थ्यो, अहिले त्यो अवस्था छैन । पहिलेको दसैंमा रमाइलो लिन्थ्यौं अहिले जिम्मेवारीले थिचेर होला, रमाइलो अरूलाई दिनुपर्छ । बच्चाबच्चीको रमाइलोसितै अभिभावकको रमाइलो जोडिएको हुँदो रहेछ । अहिले सोच्दा त दसैं खासमा केटाकेटीको लागि मात्र रहेछजस्तो लाग्छ । सानुबेलाको टीकामा आशिर्वाद भन्दा पनि दक्षिणातिर बढि ध्याउन्न हुन्थ्यो ।

अहिले दक्षिणाभन्दा आशीर्वाद ठूलो लाग्छ । यसपटक आमाको हातबाट दसैंको टीका थापियो । फुपूसासू र दीपकराज गिरी दाइको घरमा गएर टीका राखियो, आशीर्वाद लिइयो । पुरानो दसैंको रमाइलो खुब मिस गर्छु ।

त्यो बेला रातभरि पिङ बाटेर बित्थ्यो । लिंगे पिङका लागि साथीभाइ मिलेर बाँस बटुलेको याद ताजै छ । सहरको पिङ त पिक्का लाग्छ । अहिले ससुराली फर्पिङ जाँदा यसो पिङ खेलेको जस्तो मात्र गरिन्छ ।

प्रस्तुति : सुशीला तामाङ

प्रकाशित : आश्विन २४, २०७६ १३:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×