कोरियामा पाँचथरका युवाले आत्महत्या गरे- प्रवास - कान्तिपुर समाचार

कोरियामा पाँचथरका युवाले आत्महत्या गरे

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीले आत्महत्या गरेका छन् । २१ महिनाअघि कोरिया आएका पाँचथर लालीखर्कका विवेक राईले शनिबार राति आत्महत्या गरेका हुन् ।

कोरियाको दक्षिणी भाग छाङ उमसीमा बंगुरको फार्ममा काम गर्दै आएका राई केही महिनाअघि मात्रै नेपाल पुगेर आएको पाँचथर सेवा समाज दक्षिण कोरियाका अध्यक्ष राज चाम्लिङले जानकारी दिए ।


‘कम्पनीमा सँगै काम गर्ने नेपाली हुनुहुँदो रहेछ । बेलुकीको खाना खाएर एउटै कोठामा सुतेको मान्छे बिहान देखिएन । खोजी गर्दा कम्पनीभित्रै झुन्डिएको अवस्थामा भेटेछन्,’ उनले भने ।


आत्महत्याको कारण नखुलेको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।


ईपीएस सुरु भएदेखि अहिलेसम्म ४९ जना नेपालीले कोरियामा आत्महत्या गरेका छन् । सन् २०१८ मा ६ जना र गतवर्ष ३ जनाले आत्महत्या गरेका थिए । यो संख्या अघिल्ला वर्षको तुलनामा घटेको हो ।

प्रकाशित : पुस २७, २०७६ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार बंगलादेश प्रस्थान गरेका छन् । बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा ७ सदस्यीय टोलीको नेतृत्व गर्दै थापा चारदिने भ्रमणका लागि गएका हुन् । सेनाको टोली आफ्नै एम–२८ स्काईट्रक विमानबाट बंगलादेश गएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिट तथा ऐतिहासिक स्थलहरूको भ्रमण र उच्चस्तरीय पदाधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र बंगलादेशी सेनाबीच आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउने सेनाले जनाएको छ ।

बंगलादेशी सेना र नेपाली सेनाबीच संयुक्त अध्ययन र तालिम हुँदै आएका छन् । नेपाली सेनाले मुस्ताङमा सञ्चालन गरेको ‘हाई अल्टिच्युड एन्ड माउन्टेन वारफेयर स्कुल’ तालिममा बंगलादेशी सेनाले पनि सहभागिता जनाउँदै आएको छ ।

शिवपुरीस्थित आर्मी कमान्ड एन्ड स्टाफ कलेजमा पनि बंगलादेशबाट अध्ययन गर्न आउँछन् । सन् २०१० बाट विदेशी सेनालाई पढ्न खुला गरिएको कलेजमा हालसम्म १० जना बंगलादेशी सैनिकले अध्ययन गरिसकेका छन् ।

प्रकाशित : पुस २७, २०७६ २१:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×