गाडीको ठक्करबाट न्युयोर्कमा एक नेपाली बालकको मृत्यु

न्युयोर्क — अमेरिकाको न्युयोर्कमा मंगलबार बिहान भएको सडक दुर्घटनामा नेपाली मूलका बालकको मृत्यु भएको छ । 
विद्यालय जाने क्रममा बिहान सात बजे आमासँगै बाटो पार गर्दा, न्युयोर्क सिटीको फोहोर उठाउने ‘गार्बेज ट्रक’ले दश वर्षीय श्रीजल पन्थीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट न्युयोर्कमा एक नेपाली बालकको मृत्यु

दुर्घटनालगत्तै घटनास्थलमा पुगेका पूर्व नेपाली बक्सिङ प्रशिक्षक प्रकाशधर तुलाधरले कान्तिपुरसँग भने, ‘एम्बुलेन्स आउनुअघि दुई महिलाले घाइतेहरुलाई प्राथमिक उपचार गरिरहेको देखेँ । हतार हतार गएर, सोधपुछ गर्दा थाहा भयो कि घाइतेहरु नेपाली रहेछन् ।’ प्रहरीले लगत्तै घाइतेकै फोनबाट आफन्तलाई फोन गरेपछि परिवारले घटनाबारे खबर पाएको उनले बताए । ट्रकको अघिल्लो भागले ठक्कर दिएपछि पाँच कक्षामा अध्ययनरत बालकको छातीमा चोट लागेको थियो ।


स्थानीय एल्महस्ट अस्पतालमा उपचारका क्रममा श्रीजलको मृत्यु भएको हो । नेपाली आप्रवासीहरुको उल्लेखनीय बसोबास रहेको क्वीन्स काउन्टीको लेफ्राक सिटी अपार्टमेन्ट नजिकै दुर्घटना भएको हो । ९७ स्ट्रिट र ५७ एभेन्युमा भएको दुर्घटनामा मृतक बालककी ४० वर्षीया आमा मिना पन्थी पनि घाइते भएकी छिन् । उनी अहिले अस्पतालमा उपचाररत छिन् ।


नेपाली समुदायमा सक्रिय बुटवल घर भएका पुरुषोत्तम पन्थीका छोराको निधनले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध भएको छ । घटनाबारे छानबिन भइरहे पनि चालकमाथि अहिलेसम्म कारबाही नभएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


प्रकाशित : पुस २३, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?