सिड्नीमा दुई नेपाली विद्यार्थीको मृत्यु- प्रवास - कान्तिपुर समाचार

सिड्नीमा दुई नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

काठमाडौँ — अस्ट्रेलियाको सिड्नीमा दुई नेपाली विद्यार्थीको डुबेर मृत्यु भएको छ । एकजनाको उपचार भइरहेको छ । एनआरन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार स्थानीय निकुञ्जमा क्याम्पिङ गएका उनीहरुको पौडी खेल्ने क्रममा दलदलमा डुबेर मृत्यु भएको हो ।

सिड्नीबाट उत्तरी क्षेत्रको बेरोरा राष्ट्रिय निकुञ्जमा बार्बिक्युको लागि गएका विद्यार्थीमध्ये धादिङका २३ वर्षीय रोशन छत्कुली र चितवनका २६ वर्षीय विशाल सेढाईंको मृत्यु भएको हो । अस्पतालमा चिन्ताजनक अवस्थामा रहेका प्रदिप पाण्डेको ठेगाना खुलेको छैन । उनको वेष्टमेड अस्पतालमा उपचार भइरहेको पोखरेलले बताए । साथीहरु मिलेर छुट्टीको समयमा गएका उनीहरुमध्ये सेढाईं स्थानीय विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन सकेका थिए ।


क्यान्बेरास्थित नेपाली राजदुत महेशराज दाहालले घटना दु:खद भएको र पीडित परिवारलाई आवश्यक सहयोग पुर्याइरहेको जानकारी दिए ।


मृतकहरूको पार्थिव शरीर सिड्नीकै लिडकम्बमा राखिएको छ । उनीहरूको पार्थीव शरीरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

प्रकाशित : पुस १९, २०७६ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

बेलुकाबाट मौसम सुधार हुँदै जाने

रासस

काठमाडौँ — पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकाबाट क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । 'आज मध्याह्नसम्म देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुनेछ ', मौसमविद् मानन्धरले भनिन्, 'बेलुकापखबाट मौसम क्रमिक सुधार भई जाने जनाएको छ ।'

राति देशको मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने साथै मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू–भागमा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पूर्वी भू–भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । सोमबार देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र अधिकतम तापक्रम नौ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

प्रकाशित : पुस १९, २०७६ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×