बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय- प्रवास - कान्तिपुर समाचार

बेलायतमा फस्टाउँदै नेपाली व्यवसाय

नवीन पोखरेल

लन्डन — लन्डनका सफल व्यवसायी कुल आचार्यले अघिल्लो सोमबार दक्षिण पश्चिम लन्डनको पटनीमा नयाँ रेस्टुराँ खोले । बेलायतमा ‘होली काउ’ समूहको यो नवौं तथा पहिलो सिट इन हो । यसअघि आचार्यका सबै रेस्टुराँ ‘टेक अवे’ थिए । नयाँ रेस्टुराँमा करिब सय सिट छन्, दर्जन बढी कामदार ।

बीबीसीका भूतपूर्व कार्यक्रम प्रस्तोता तथा सेलेब्रिटी सेफ एन्सले ह्यारियटले उद्‌घाटन गर्दै बेलायतमा नेपाली व्यवसायी बढेकामा खुसी व्यक्त गरे । होली काउ समूहका निर्देशक आचार्यले २० वर्ष पहिले बेलायत आएपछि किचन पोर्टर, तन्दुरी सेफ, सेफ हुँदै २००६ मा ‘होली काउ’ खोलेको स्मरण गरे ।


‘व्यवसायमा चुनौती छन् तर सबैको माया र साथले सफल भइरहेको छु,’ आचार्यले भने । उता, तीन साताअघि ५ जना नेपाली मुछेत्र गुरुङ, अनिल प्रधान, राजेन्द्र प्रधान, कमल गुरुङ र राजु घलेको साझेदारीमा बेलायतको अल्डरसटमा ‘चाइना ओरियन्टल सुपर मार्केट’ खुल्यो । ८ करोड रुपैयाँ लगानीमा खुलेको सुपरमार्केटमा १२ जना नेपालीले रोजगारी पाएका छन् ।

लगानीकर्ता कमल गुरुङका अनुसार पसलमा नेपाली, चिनियाँ, कोरियन तथा भियतनामी सामान उपलब्ध छन् । ‘ज्येष्ठ नागरिकले नेपाली खाना रुचाउने र नयाँ पुस्तामा अन्य खानाको लत बसेकाले सबै वर्गको माग पूरा गर्न सुपर मार्केट खोल्यौं,’ गुरुङले भने ।


आठ वर्षदेखि इटालियन रेस्टुराँ ‘ओजी’ (टुडे) सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाले बेलायतको लेस्टरमै अर्को रेस्टुराँ खोले । उनका अनुसार मिडल्यान्डमा मात्र नेपालीका करिब सय रेस्टुराँ सञ्चालनमा छन् । ‘कामदार अभाव समस्याले अझ हामीले शुद्ध नेपाली खाना दिन सकेका छैनौं,’ उनले कान्तिपुरसँग भने ।


रेस्टुराँ व्यवसायमा आएको संकटपछि लन्डनका युवा व्यवसायी दीपेन्द्र कार्कीको ठूलो रकम डुब्यो तर निरन्तरको प्रयासले तंग्रिएका उनका हाल आधा दर्जन रेस्टुराँ सञ्चालनमा छन् । ‘आत्मबल, मिहिनेत र लगावले हरेक क्षेत्रमा सफलता पाउन सकिने रहेछ,’ उनले भने ।


हाल महिनैपिच्छे नेपालीका कुनै न कुनै व्यवसाय खुल्ने क्रम जारी छ । विशेष गरी बेलायती सेनाका अधिकृतहरूको प्रशिक्षणका लागि प्रख्यात ‘रोयल मिलिट्री एकेडेमी स्यान्डहर्स्ट’ आसपासको अल्डरसट टाउनमा नेपाली व्यवसाय बढी खुलेका छन् । यहाँ नेपाली ग्राहक लक्षित गरेर ब्याङक्युटिङ हलदेखि ग्रोसरी, ब्युटी पार्लर, रेस्टुराँ, पब, ककटेल बार, दोहोरी साँझ, सुनचाँदी पसल, प्रोपर्टी, बुटिक, टेलर्स, मोर्गेज, ट्राभल्स एन्ड टुर, क्लिनिङ आदि व्यवसायमा नेपालीको लगानी छ ।


अल्डरसटमा गोर्खा राजदूत रेस्टुराँ पहिलो नेपाली व्यवसाय मानिन्छ तर अहिले त्यहाँ मात्र नेपालीका करिब ६० व्यवसाय पुगेको स्थानीय पत्रकार पूर्ण गुरुङले जानकारी दिए । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बीएनसीसी) ले बेलायतमा नेपाली व्यवसाय बढ्नु निकै खुसीको कुरा भएको जनाएको छ । ‘रोजगारी त छँदै छ, यसले बेलायत नेपाल सम्बन्ध अझ प्रगाढ बनाउन पनि भूमिका खेलेको हाम्रो बुझाइ छ,’ बीएनसीसी उपाध्यक्ष एवं पर्यटन व्यवसायी विराज भट्ट भन्छन् ।

प्रकाशित : पुस २२, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्

सुलेमानीको शवयात्रामा मानवसागर

एजेन्सी

वासिंगटन/तेहरान — अमेरिकी सेनाको आक्रमणमा इराकमा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको पार्थिव शरीर इरान पुर्‍याइएपछि आयोजित शवयात्रामा लाखौं मानिस सहभागी भएका छन् ।


सुलेमानीको तस्बिर बोकेका शोकाकुलको मानव सागर इरानको दक्षिण–पश्चिमी सहर अहवाजमा श्रद्धाञ्जलीका लागि जम्मा भएको थियो । त्यहाँबाट उनको पार्थिव शरीरलाई मसहद लगिएको थियो ।

सुलेमानीको पार्थिव शरीर नजिकै प्रार्थना गर्ने क्रममा इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसहित वरिष्ठ अधिकारीहरू रोएका थिए । खामेनी सार्वजनिक रूपमै रोएको यो सम्भवतः पहिलो घटना हो । सुलेमानीको अन्त्येष्टि मंगलबार उनको गृहनगर केर्मानमा गर्ने जनाइको छ ।

सुलेमानी इरानको इस्लामिक रेभलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अन्तर्गतको विशेष सैन्य फौज ‘कुड्स’ का प्रमुख थिए । मध्यपूर्वमा उनको नेतृत्वमा इरानी सैन्य गतिविधिहरू सञ्चालनमा थिए । सुलेमानीका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट खेदाउने चेतावनी दिएका छन् ।

‘सहिद सुलेमानीको बाटामा हामी उस्तै जोस जाँगरसहित हिंड्ने बाचा गर्छौं...र हाम्रा लागि उनको मृत्युको क्षतिपूर्ति अमेरिकालाई यस क्षेत्रबाट हटाउनु हो,’ कुड्स प्रमुख इस्माइल कानीले भनेका छन् ।
‘परमाणु सम्झौता मान्दैनौं’
गत शुक्रबार अमेरिकी सेनाले इराकको राजधानी बग्दादमा इरानी वरिष्ठ सैनिक कमान्डर कासिम सुलेमानीलाई मारेपछि मध्यपूर्वमा तनाव चर्केको हो । इरानले आफ्ना प्रभावशाली सैनिक अधिकारीको हत्याको अमेरिकासँग बदला लिने चेतावनी दिइसकेको छ । अमेरिकासँगको तनाव चर्किंदै गएका बेला इरानले सन् २०१५ मा भएको अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने घोषणा गरेको छ । इरानले एक वक्तव्य जारी गर्दै उक्त सम्झौतामा तोकिएको युरेनियम प्रवर्द्धनको सीमा अस्वीकार गर्ने जनाएको हो ।

सन् २०१५ मा भएको सम्झौतामा इरानको युरेनियम प्रवर्द्धन कार्यक्रमलाई सीमित गर्ने उल्लेख गरिएको छ । तेहरानमा बसेको मन्त्रिपरिषद् बैठकपछि इरानले ‘परमाणु सम्झौतामा व्यवस्था भएअनुसार युरेनियम भण्डारण र प्रवर्द्धनका लागि तोकिएको सीमा’ को बेवास्ता गर्ने जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उक्त परमाणु सम्झौताबाट अमेरिका बाहिरिने निर्णय गरेका थिए । त्यसपछि अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्ध कडा पारेको थियो ।

सन् २०१५ को परमाणु सम्झौताका पक्षराष्ट्र जर्मनी, फ्रान्स र बेलायतले संयुक्त वक्तव्य जारी गर्दै इरानलाई सम्झौताको मर्मविपरीतका कदम नचाल्न आग्रह गरेका छन् । चीन र रूस पनि सम्झौताका पक्षराष्ट्र हुन् ।

‘अमेरिकी सेना हटाइए इराकविरुद्ध कडा प्रतिबन्ध’
इराकी संसद्ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘इराकविरुद्ध कडा प्रतिबन्ध लगाउने’ चेतावनी दिएका छन् । ‘हाम्रो त्यहाँ निकै असामान्य महँगो हवाई अखडा छ । त्यो निर्माण गर्न हामीलाई अर्बौं डलर लाग्यो । हामीलाई त्यसको लागत नतिरेसम्म हामी इराक छाड्दैनौं,’ ट्रम्पले संवाददाताहरूसँग भने ।
राष्ट्रपतिको विमानमा सञ्चार माध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई अमित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए । ‘...हामी उनीहरूले यसअघि कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिन्छौं । त्यसले इरानविरुद्धको नाकाबन्दीसमेत फिक्का लाग्नेछ,’ उनले भने ।

इस्लामिक स्टेट लडाकुविरुद्ध लड्न बनाइएको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत हाल इराकमा ५ हजार अमेरिकी सेना छन् । गठबन्धनले आइतबार तत्कालका लागि आईएसविरुद्धको कारबाही स्थगित गरिएको जनाएको थियो । इराकको संसद्ले विदेशी सेनालाई देश छोड्न आह्वान गर्दै एउटा प्रस्ताव पारित गर्‍यो ।

प्रस्ताव बाध्यकारी नभए पनि प्रधानमन्त्री अदेल अब्दुल महदीले आफू इराकबाट अमेरिकी फौजलाई हटाउने पक्षमा रहेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले भने इराकी संसद्ले आफ्नो देशबाट अमेरिकी सैन्यबल हट्नुपर्ने भनी पारित गरेको संकल्प प्रस्तावप्रति निराशा व्यक्त गरेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : पुस २२, २०७६ ०७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×