अस्ट्रेलिया — न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको मृत्यु भएको छ । चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययनरत विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेका थिए ।
दोलखा — पत्नी हत्या आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका एक युवकले बुधवार बिहान आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका—५ लापिलाङका २२ वर्षीय च्याङा शेर्पाले कारागारभित्रको शौचालयमा आत्महत्या गरेका हुन् ।
दोलखा जिल्ला अदालतले पुर्पक्षमा पठाएको राति नै शौचालयभित्रको झ्यालमा जुत्ताको तुनाको पासो लाएर आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।
गत पुस २० गते २७ वर्षीया पत्नी लक्की शेर्पाको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धान सकेर हत्या अभियोगमा अदालत पेस गरिएका च्याङालाई मङ्गलवार थुनामा पठाइएको थियो ।
दुई वर्षीया र ६ महिनाको काखको छोरी रहेको च्याङाले कोठामा नै श्रीमती लक्कीलाई सलको पासो लगाई हत्या गरेको आरोप छ । कपडा सिलाउने र ब्युटि पार्लर व्यवसाय गर्ने लक्कीको मृत्युको विषयलाई च्याङाको परिवारले भने आत्महत्या दाबी गर्दै आएको छ ।
च्याङाका दाजु छिरिङ शेर्पाले भाइ च्याङाको कारागारभित्र आत्महत्या भनिएको विषयप्रति आशंका व्यक्त गरे । मिडियाले कारागारभित्रको निरीक्षण गरेर यथार्थ बाहिर ल्याउन उनले आग्रह गरेका छन् ।
प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले च्याङाको आत्महत्या खबर पाउने बित्तिकै सञ्चारकर्मी र उनका परिवारलाई जानकारी दिएका थिए । छिरिङ सहितको उपस्थितिमा मुचुल्का गरी च्याङाको शव चरिकोट अस्पतालस्थित शवगृहमा लगिएको छ ।