कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राजदूत शेर्पा अस्ट्रेलियामा

नारायण खडका

अस्ट्रेलिया — आफ्नै पूर्व कर्मचारीबाट रकम लिएर अस्ट्रेलिया ल्याएको आरोप लागेपछि अनुसन्धानका लागि नेपाल बोलाइएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा अस्ट्रेलिया फर्किएकी छन् ।

राजदूत शेर्पा अस्ट्रेलियामा

दुईदिनअघि अस्ट्रेलिया फर्किएपनि उनी आफ्नो कार्यभार सम्हाल्न दूतावास पुगेकी छैनन् । राजदूत शेर्पाको अनुपस्थितिमा कार्यभार सम्हालेकी उपनियोग प्रमुख दु्रपदा सापकोटाले नै अहिले पनि कार्यवाहकको जिम्मेवारी सम्हालिरहेकी छन् ।


राजदूत शेर्पाले आफूलाई सन्चो नभएको र केही दिन आराम गर्ने बताएपछि कूटनीतिक मर्यादा अनुरूप अस्ट्रेलियास्थित परराष्ट्र मन्त्रालय (डिफ्याट) लाई उनी आएको औपचारिक जानकारी नदिइएको स्रोतले कान्तिपुरलाई बतायो । दूतावासका कर्मचारीहरूले पनि राजदूत शेर्पा कहिले कार्यालय फर्किने बारेमा अनभिज्ञता प्रकट गरे ।


दूतावासका पूर्व कर्मचारी बाङछु शेर्पाले उनलाई आफूसँग पैसा लिएर अस्ट्रेलिया ल्याएको लगायतका आरोपहरू लगाएपछि उनलाई परराष्ट्र मन्त्रालयले अनुसन्धानका लागि करिब १ महिनाअघि फिर्ता बोलाइएको थियो ।


मन्त्रालयमा बोलाइएपछि अनुसन्धान समिति नै बनाएर छानबिन गरिएको सार्वजनिक भए पनि त्यसको निष्कर्ष अहिलेसम्म बाहिर ल्याइएको छैन । राजदूत शेर्पामाथि भइरहेको छानबिनका बारेमा विभिन्न सञ्चारमाध्यमहरूमा यसपहिले फरक फरक समाचारहरू आएपनि उनलाई राजदूतकै रूपमा सरकारले अस्ट्रेलिया फर्काएको हो वा होइन भन्ने बारेमा खुल्न सकेको छैन । प्रतिक्रियाका लागि राजदूत शेर्पालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।


राजदूत शेर्पाले आफूमाथि लागेको आरोपको पटक पटक खण्डन गर्दै आएकी छन् । उनले वाङछु शेर्पाले लगाएको सबै आरोप निराधार र झुटो रहेको दाबी गर्दै आएकी छन् ।


सरकारबाट राजदूतप्रति भएको छानबिनको औपचारिक निर्णय सार्वजनिक नभएको र मन्त्रीहरूबाट फरक फरक धारणाहरू आइरहेको सन्दर्भमा राजदूतको फिर्तीलाई यहाँका नेपालीहरूले चासोका साथ हेरेका छन् ।

प्रकाशित : माघ ३, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?