२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विदेशमा सीप, स्वदेशमा उद्यम

बराह होजियारी मोजा उद्योगमार्फत उद्यमी एकराजले मुलुकका सातै प्रदेश र विदेशमा समेत मोजा निर्यात गर्दै आएका छन्
मनोज पौडेल

कपिलवस्तु — भारतको लुधियानास्थित धागो कारखानामा २० वर्ष काम गरे । त्यहाँ उनी कपासबाट धागो बनाउने क्वालिटी कन्ट्रोलरको भूमिकामा थिए । मेसिनसँग नजिकिए । मेसिन मर्मतदेखि सेटिङसम्म आफैं गर्न थाले । मेसिन सञ्चालनको विज्ञ बने । मेसिनबारे भरपूर जानकारी भएपछि कम्पनीले उनलाई नयाँ प्लान्ट जडान गर्न अजरबैजानको राजधानी बाकु पठायो ।

विदेशमा सीप, स्वदेशमा उद्यम

त्यहाँ पनि झन्डै अढाई वर्ष काम गरे । राम्रो कमाइ थियो । तर, कति विदेशी भूमिमा पसिना बगाउने स्वदेशमै केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि आफूले जानेको सीप प्रयोग गर्दै अहिले बराह होजियारी मोजा उद्योग सञ्चालन गरेका छन् । परिवारकै ८ जनालाई रोजगारी दिँदै मुलुकका ७ प्रदेश र विदेशमा समेत मोजा निर्यात गर्दै आएका छन् । उनी हुन्, वाणगंगा नगरपालिका–४ दरखास्तका ५३ वर्षे एकराज अधिकारी ।

उनले मोजा उद्योग चलाएर परिवारका ८ जनालाई रोजगारी दिएका छन् । एकराज आफू मेसिन हेर्छन् । भाइ खेमलाल मार्केटिङ र अर्का भाइ मोजा प्याकिङ गर्छन् । आमालाई पनि रोजगारी दिएका छन् । परिवारका ४ छोराछोरी पनि उद्योगमै काम गर्छन् । छरछिमेकका र अन्य थप १८ जनालाई पनि रोजगारी दिएका छन् । चीनबाट अत्याधुनिक निटिङ सक्स मेसिन आयात गरेर ७ वर्षदेखि उद्योग थालेका हुन् । अहिलेको सबैभन्दा चलेको कम्प्युटराइज्ड मेसिनबाट मोजा बनाउँछन् । सुरुमा तीनवटा मेसिन ल्याए । त्यसपछि ८ वटा र अहिले १६ बनाएका छन् ।

यी मेसिनबाट महिनाको ३ हजार ५ सय दर्जन मोजा उत्पादन गर्छन् । माग बढ्यो भने अझ बढाउन सकिने क्षमता मेसिनको छ । शिशु, सानादेखि ठूला, सेना, प्रहरी, विद्यार्थी र फुटबल खेलाडीले लगाउने बनाउँछन् । त्यस्तै बालिका र युवतीले लगाउने स्ल्याक्स (लामो मोजा), ट्र्याकिङ र स्पोटर््स मोजा पनि उत्पादन गर्छन् । उद्योगले ५२ देखि ५६ किसिमका मोजा उत्पादन गरेको छ । मेसिनले लामो मोजा एक मिनेटमा एक जोडा सिउँछ । सानो मोजा ५ मिनेटमा एक जोर सिउँछ । उनीहरूको आफ्नै ब्रान्ड छ । बीएचयू (बराह होजियारी उद्योग) ब्रान्डमा उत्पादन गर्छन् ।

पसलको अर्डरअनुसार जस्तोसुकै डिजाइनमा पनि मोजा उत्पादन गरेर दिने क्षमता भएको सञ्चालक खेमलालले बताए । ‘डिजाइन देखाइदिए हुन्छ,’ उनले भने, ‘हुबहु बनाएर दिन्छौं । त्यसबाहेक पनि अहिले चलेका डिजाइन इन्टरनेटमा हेरेर विश्व बजारमा पाइने डिजाइनमा उत्पादन गरिरहेका छौं ।’ ग्राहकको रोजाइमा ध्यान दिएर सस्तोदेखि महँगा मोजा उत्पादन गरिरहेको सञ्चालक एकराजले बताए ।

सामान्यतया कटन ६० र पोलिस्टर ४० प्रतिशत धागो प्रयोग गरेर बनाइन्छ । मोजा उत्पादन भएपछि त्यसलाई नाइलनले सिलाइन्छ । सस्तोको माग भयो भने पोलिस्टर बढी प्रयोग गरिन्छ । लेग्रा स्पेन्डेक्स प्रयोग गरेर मोजा बनाउँदा खुट्टालाई च्याप्प समात्छ, स्ट्रेन्थ आउँछ । सुरुमा नसिलाएको मोजाको कपडा मेसिनले तयार गरेर फाल्छ । त्यसपछि नाइलनले सिलाएर मोजाको रूप दिइन्छ । त्यसपछि मोजालाई आइरन गरिन्छ । त्यसपछि ह्याङ्गर र क्लिप लगाएर ट्याग लगाइन्छ । अनि प्याकिङ गरेर बजार पठाउन तयार गरिन्छ ।

मोजालाई चाहिने ९० प्रतिशत कच्चापदार्थ भारत र चीनबाट आयात हुने गरेको छ । लेबल (ट्याग) बाहेक प्याकिङमा प्रयोग हुने पानी कागज, ह्यांगर र क्लिप सबै भारतबाट आउँछ । यी समानको भन्सार ६० प्रतिशत तिर्नुपर्छ । ‘तयारी मोजाको आयात हुँदा ३० प्रतिशत भन्सार लाग्छ,’ उनले भने, ‘प्याकिङ मेटरियलमा ६० प्रतिशत भन्सार छ । सरकारको नीति व्यावहारिक नहुँदा समस्या परेको छ ।’

०४८ मा भारत गएका एकराजले ०७१ सालमा फर्केर बजार अध्ययन गरे । ०७३ मा उद्योग दर्ता गरेर ०७४ बाट उत्पादन सुरु गरेका हुन् । कोरोना संक्रमणअघि २४ घण्टा उद्योग चल्ने राम्रो बजार रहेको उनले बताए । अहिले १२ घण्टा एक सिफ्ट मात्रै चल्छ । सुरुमा ३/४ जना मेसिन चलाउने भारतीय कामदार थिए । अहिले सबै स्थानीय जनशक्ति तयार भएका छन् । मोजाको बजार भने ४० बढी जिल्ला बनाएका छन् । स्थानीय बजारमा भने आफ्नै गाडीबाट पुर्‍याउँछन् । अहिले उनले डेनमार्कमा पनि मोजा निर्यात गर्न थालेका छन् । यसअघि दुबई, कतार र साउदी पनि पठाएको एकराजको भनाइ छ ।

लुम्बिनी प्रदेशमै पहिलो अत्याधुनिक मेसिन ल्याएर उत्पादन थालेपछि अहिले बुटवल आसपास ४/५ वटा उद्योग खुलेका छन् । प्रतिस्पर्धात्मक बजार भए पनि गुणस्तरीय उत्पादन र कसिलो सम्पर्क समन्वयले व्यापार राम्रै रहेको एकराजले जनाए । मुलुकभर रहेका मेसिन पूर्ण क्षमतामा चलाउन सके मोजा उत्पादनमा मुलुक आत्मनिर्भर हुने उनले बताए । सुरुमा दुई करोड ५० लाख लागतमा उद्योग स्थापना गरेका थिए । कमाउँदै लगानी बढाउँदै गर्दा अहिले साढे ३ करोड पुर्‍याएका छन् । बर्सेनि दुई करोड आसपास कारोबार हुने गरेको एकराजको भनाइ छ । डेढ करोड ऋणको मासिक ब्याज भुक्तानी गर्नुपर्ने र सबै खर्च कटाएर वर्षमा २०/२२ लाख बचत भइरहेको एकराजले जनाए ।

प्रकाशित : वैशाख ९, २०८१ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमालेको राष्ट्रिय महिला भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भएकोबारे तपाईंको बुझाई के छ ?