कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारतीय पर्यटक आकर्षित गर्न दिल्लीमा कार्यक्रम 

राजेश मिश्र

नयाँ दिल्ली — भारतस्थित नेपाली दूतावासले नेपालमा भारतीय पर्यटकलाई आकर्षित गर्न आइतबार नयाँ दिल्लीमा यहाँका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया गरेको छ । दूतावासले नेपाल र भारत दुई तिरकै पर्यटन व्यवसायीहरुलाई पर्यटन प्रवर्द्धनमा सहकार्यका लागि आग्रह समेत गरेको छ ।  

भारतीय पर्यटक आकर्षित गर्न दिल्लीमा कार्यक्रम 

भारतीय पर्यटकका लागि नजिकको गन्त्व्य हो– नेपाल । भेषभुषा, खानपान पनि मिल्ने भिसारहित यात्रा हुने भएकाले भारतीय नागरिकका लागि घुमफिरको गन्तव्यमा नेपाल आकर्षणको केन्द्र बन्दै गएको छ ।

वर्ष २०२३ मा १० लाख १५ हजार पर्यटक नेपाल आएकामध्ये सबैभन्दा उल्लेख्य संख्या भारतीय पर्यटकको रहेको छ । तथ्यांक अनुसार गतवर्ष नेपाल आएका कुल पर्यटकमध्ये ३ लाख १९ हजार ९ सय ३६ जना भारतीय पर्यटक थिए । उक्त संख्या हवाई मार्गबाट नेपाल आएका भारतीय पर्यटकहरुको मात्र हो ।

कोभिड पछाडि नेपालको पर्यटन क्षेत्र तंग्रिदै गएको छ । त्यसबाट उत्साहित सरकारले यसवर्ष २०२४ मा गतवर्षको भन्दा दोब्बर अर्थात २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । उक्त लक्ष्यपूर्तिका लागि भारतीय पर्यटकको संख्यापनि दोब्बर पुग्नुपर्ने देखिन्छ । दूतावासले त्यसलाई ध्यानमा राखेर पर्यटन क्षेत्रका व्यवसायीहरुसँग अन्तर्क्रिया गरेको हो ।

दूतावासका ईकोनोमिक मिनिस्टर तारानाथ अधिकारीले नेपाल र भारतबीच पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्य र पर्यटन प्रवर्द्धनका सम्भावनाहरुका विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए । उनले दुई देशबीचको पर्यटन सम्बन्धी अन्तर आवद्धतालाई बढाएर धरैभन्दा धेरै भारतीय पर्यटकलाई नेपाल जान अकर्षित गर्नुपर्ने विषयलाई ध्यानमा राखेर दूतावासले भारतमा पर्यटन प्रवर्द्धनको कार्यक्रमलाई जोड दिएको बताए ।

दूतावासले भारतीय पर्वतारोहण फाउन्डेसनसँग मिलेर गरेको अन्तर्क्रियामा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले दुवै देशका पर्यटन व्यवसायीबीच द्विपक्षीय सहकार्यको आवश्यकतामा जोड दिए । उनले पर्यटन क्षेत्रका नयाँ ठाउँ र सम्भावनाहरुलाई युवा माझ प्रचार प्रचार गरिनुपर्ने उल्लेख गरेका थिए । उनले हरेक उमेर समूहका मानिसका लागि हरेक मौसममा नेपाल भ्रमण गर्न सकिने प्रशस्तै ठाउँहरु रहेको चर्चा गरे ।

कार्यक्रममा इकोनोमिक मिनिस्टर अधिकारीले नेपालमा पर्यटन व्यवसायको सम्भावना, अवसर र घुम्ने ठाउँहरु बारे जानकारी दिएका थिए । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाले विश्वको सबैभन्दा उँचो शिखर सगरमाथा मात्रै होइन, पर्वतारोहणका सौखिन युवाहरका लागि ६ हजार मिटर माथिका सयौं शिखरहरु नेपालमा रहेको बताए ।

भारतीय पर्वतारोहण फाउन्डेसनका अध्यक्ष विजय सिंहले ट्राभेल टुर व्यसायमा संलग्नहरुबीच भ्रमणको आदान प्रदान गराएर पर्यटकीय गन्तव्यहरुलाई प्रचारमा ल्याउनुपर्नेमा जोड दिए । उनले बिग्रँदै गरेको पर्यावरणको नकारात्मक प्रभाव र फोहरको थुप्रोबाट हिमालय क्षेत्रलाई बचाउन पनि सहयकार्यमा जोड दिए । कार्यक्रममा दुवैतिरका पर्यटन व्यवसायीहरुले आफ्ना अनुभव र देखिएका समस्याहरु चर्चा गरे ।

प्रकाशित : फाल्गुन १३, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?