कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान

अन्तर्राष्ट्रिय उडान अझै अनिश्चित

पोखरा — एटीआर–७२ जहाजमा यात्रु चढिसकेपछि एयर होस्टेसले सिटको पेटी बाँध्न भनिन् । साविकको विमानस्थलबाट यती एयरलाइन्सको जहाज खचाखच यात्रु बोकेर बिहीबार दिउँसो उडान भर्‍यो । पाँच मिनेट आकाशमा फेरो लगायो । एयर होस्टेसले अबको केही मिनेटमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइन् । जहाजले विमानस्थलको भुइँ छोयो । यात्रुले ताली बजाएर खुसी मनाए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतीको परीक्षण उडान

पुस १७ (सन् २०२३ जनवरी १) बाट सञ्चालनमा आउने विमानस्थलमा बिहीबार यती एयरलाइन्स र बुद्ध एयरले परीक्षण उडान भरेका हुन् । नागरिक उड्डयन प्राधिकरणको समन्वयमा साविकको विमानस्थलबाट नजिकै रहेको नयाँ विमानस्थलमा यती र बुद्धका जहाजले पोखराका यात्रु बोकेर उडान भरे । बुद्ध एयरको विमानबाट नयाँ विमानस्थलमा ओर्लिएका पोखरा महानगरका मेयर धनराज आचार्यले ऐतिहासिक क्षणको संज्ञा दिए । ‘पाँच दशकदेखिको पोखरेलीको सपना साकार हुँदै छ,’ उनले भने । विमानस्थलको अवरोधका रूपमा रहेको ल्यान्डफिल साइट हटाउन सुरु भइसकेको उनले बताए । ‘रिट्ठेपानी डाँडा कटानबाट निस्किएको माटो ल्याएर पुर्न सुरु गरिएको छ,’ उनले भने, ‘अब विभिन्न वडाका ६ स्थानमा अल्पकालीन रूपमा फोहोर व्यवस्थापन हुन्छ । दीर्घकालीन रूपमा ट्रिटमेन्ट प्लान्ट राखेर फोहोर प्रशोधन गर्छौं ।’ परीक्षण उडान सफल भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित बने ।

दुवै वायु सेवा कम्पनीले प्राधिकरणमा ‘डेमोन्सट्रेसन’ तथा ‘फेमिलिअराइजेसन’ उडानको प्रतिवेदन बुझाउने छन् । प्राधिकरणले नयाँ विमानस्थलबाट एयर ट्राफिक सेवा पनि सञ्चालन गरिसकेको छ । यी दुवै उडानको सफलतापछि ६५ वर्ष लेकसाइड नजिकै रहेको पुरानो पोखरा विमानस्थललाई तीन किलोमिटर पूर्वमा ३७ सय रोपनीमा फैलिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले प्रतिस्थापन गर्ने छ । साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट भने केही समय साविकको विमानस्थलबाटै उड्ने छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीका लागि विमानस्थल सञ्चालनमा आउनु ठूलो खुसीको कुरा हुने बताए । ‘डेमो फ्लाइटले हामी व्यवसायीमाझ निकै उत्साह पैदा गरेको छ,’ उनले भने, ‘अब अन्तर्राष्ट्रिय उडानको पर्खाइ छ ।’ बिहीबारको उडानमा दुवै टावरबाट एयर ट्राफिक कन्ट्रोलरले जहाजलाई दिशानिर्देश गरेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । ‘अब यो विमानस्थल तयार भयो है भन्ने सन्देश डेमोन्सट्रेसन तथा फेमिलिअराइजेसन उडानले दिएको छ,’ उनले भने, ‘जनवरी १ मा बिनाकुनै कमजोरी उडान होस् भनेर लागेका छौं ।’ त्यसका लागि आवश्यक कागजी प्रक्रिया, यन्त्र, उपकरण, मानव संसाधन, सुरक्षा व्यवस्थाको तयारी अन्तिम चरणमा रहेको उनले सुनाए ।

‘नेपाल आउनेमध्ये ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भनिन्छ । त्यसलाई अझै बढाउन सक्यौं भने यो विमानस्थलको पूरा सदुपयोग गर्न सकिन्छ । यहाँको अर्थतन्त्रमा अझै बढोत्तरी हुन्छ र मुलुककै अर्थतन्त्रमा प्रभाव पार्छ,’ उनले भने । विमानस्थलमा थाई स्माइल, अल जजिरा, फ्लाई दुबई, कतार एयरवेज, हिमालय एयरलाइन्सलगायतले चासो देखाएको उनको भनाइ थियो । पोखराबाट दिल्ली, दोहा, ढाका, हङकङमा सिधा उडान हुने प्राधिकरणको अपेक्षा छ । यद्यपि, अन्तर्राष्ट्रिय उडानको टुंगो भने अझै लागिसकेको छैन । बुद्ध एयरले जनवरी १ मा पहिलो अन्तर्राष्ट्रिय उडान पोखराबाट भारतको बनारस गर्न प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत दिल्लीमा पत्राचार गरिसकेको छ । तर भारतका तर्फबाट अनुमति प्राप्त भइसकेको छैन । अनुमति पाएको खण्डमा उक्त उडान पनि बुद्धको ‘डेमोन्स्ट्रेसन’ उडान नै हुनेछ । नियमित उडान भने मार्च १ बाट गर्ने बुद्धको योजना छ ।

बुद्ध एयरका मार्केटिङ निर्देशक रूपेश जोशीले दुई महिनाको समयमा बजार व्यवस्थापनको आन्तरिक तयारी गर्ने बताए । ‘पोखरा–बनारसलाई रुटको समस्या हुँदैन तर पोखराबाट दिल्ली र देहरादुनका लागि रुटको समस्या हुनेछ,’ उनले भने, ‘यो समस्या सुल्झाउन प्राधिकरणलाई पनि भनेका छौं ।’ जनवरी १ बाट दिउँसो मात्रै उडान हुन्छ । फेब्रुअरी २२ देखि राति पनि उडान अनुमति दिने प्राधिकरणको तयारी छ । त्यसपछि भने बुद्धले पोखरा–काठमाडौं बिहान ७ देखि राति ९ बजेसम्म १५ वटा उडान भर्ने बताएको छ । पोखराबाट भैरहवा, नेपालगन्ज, भरतपुर उडान भइरहेकामा भद्रपुरमा पनि उडान सुरु गर्ने जोशीले बताए । उनका अनुसार ४ देखि ५ वटा बुद्धका जहाज राति पोखरामै बास बस्ने छन् । बुद्ध एयरले पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान भर्न आतुर रहेको विज्ञप्तिमार्फत जनाएको छ ।

ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्डअनुसार ‘फोर डी’ श्रेणीमा विमानस्थल बनिरहेको छ । निर्माण पूरा भएपछि १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सोसरहका जहाज आउजाउ गर्न सक्छन् । ‘फोर डी’ श्रेणीको भएकाले यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ ।

विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिंगल अप्रोच’ बाट हुनेछ । पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय जहाजले उडान र अवतरण गर्नेछन् । आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्छ ।

प्रकाशित : पुस ८, २०७९ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?