आर्थिक वर्ष सकिनै लाग्दा कुन मन्त्रालयले कति गरे पुँजीगत खर्च ?

काठमाडौँ — चालु आर्थिक वर्ष सकिन दुई साता मात्रै बाँकी छँदा अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर देखिएको छ । एक दर्जन मन्त्रालयले पुँजीगत खर्च ४० प्रतिशत पनि कटाएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित २२ वटा मन्त्रालयमध्ये १२ वटाले ४० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नै असार १५ सम्म कुल विनियोजित पुँजीगत खर्चमा ३८.०२ प्रतिशत मात्र खर्च गरेको छ । उक्त कार्यालयले विनियोजित ८६ करोड ९५ लाख रुपैयाँमध्ये ३३ करोड ६ लाख रुपैयाँ मात्र खर्च गरेको छ । त्यस्तै ४ वटा मन्त्रालयले ४० र ३ वटा मन्त्रालयले ५० प्रतिशत खर्च पुर्याएका छन् । २ वटा मन्त्रालयले ६० र एउटा मन्त्रालयले मात्र ९० प्रतिशत खर्च पुर्याएको छ ।
मन्त्रालयहरूको पुँजीगत खर्च कम हुनुमा निर्वाचनको प्रभाव पनि रहेको पूर्वअर्थ सचिव शिशिरकुमार ढुंगाना बताउँछन् । गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो । ‘बिनातयारी ठेक्का गरिएका आयोजनाका कारण पनि खर्च कम भएको हुन सक्छ,’ ढुंगानाले भने । उनका अनुसार प्रायः वैदेशिक सहायतामा सञ्चालन हुने आयोजनामा पुँजीगत खर्च कम हुने गरेको छ ।
वैदेशिक सहायतामा सञ्चालन हुने आयोजनामा ठूलो बजेट छुट्याइएको हुन्छ । ‘निर्माण व्यवसायीले समयमै भुक्तानी नभएर पनि पुँजीगत खर्च कम देखिएको हुन सक्छ,’ ढुंगानाले थपे । विकास निर्माणको जिम्मेवारी पाएका मन्त्रालयहरुको पनि पुँजीगत खर्च कमजोर देखिएको छ । विकास निर्माणको बढी जिम्मेवारी पाएका भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालयको पनि खर्च कम रहेको छ ।
मन्त्रालयगत विनियोजित र पुँजीगत खर्च विवरण :
मन्त्रालय | विनियोजित पुँजीगत बजेट | पुँजीगत खर्च | पुँजीगत खर्च प्रतिशत |
महिला बालबालिका तथा जेष्ठ नागरिक | ३७ करोड २२ लाख | ३ करोड ७५ लाख | १०.०९ |
अर्थ | १० अर्ब ६२ करोड १८ लाख | १ अर्ब ३२ करोड ४४ लाख | १२.४७ |
उद्योग,वाणिज्य तथा आपूर्ति | ५ अर्ब ३४ करोड ९९ लाख | ७३ करोड ९१ लाख | १३.८२ |
परराष्ट्र | ५९ करोड | १० करोड १२ लाख | १७.१६ |
युवा तथा खेलकुद | ८८ करोड २८ लाख | १६ करोड ११ लाख | १८.२५ |
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण | १ अर्ब ४९ करोड १० लाख | ३८ करोड ५९ लाख | २५.८९ |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा | १३ करोड ८ लाख | ३ करोड ७६ लाख | २८.७९ |
सञ्चार तथा सूचना प्रविधि | ३ अर्ब १९ करोड ६३ लाख | १ अर्ब १ करोड ७२ लाख | ३१.८३ |
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन | ३ अर्ब ८१ करोड ८ लाख | १ अर्ब ३० करोड ४० लाख | ३४.२२ |
कृषि तथा पशुपन्छी विकास | ४ अर्ब ३ करोड ९७ लाख | १ अर्ब ३९ करोड २ लाख | ३४.४१ |
सहरी विकास | ५५ अर्ब ८७ करोड २५ लाख | २० अर्ब ३७ करोड ९० लाख | ३६.४७ |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय | ८६ करोड ९५ लाख | ३३ करोड ६ लाख | ३८.०२ |
खानेपानी | २१ अर्ब ३१ करोड ७ लाख | ८ अर्ब १८ करोड ४० लाख | ४३.१० |
शिक्षा, विज्ञान तथा प्रविधि | ९ अर्ब ७२ करोड २० लाख | ४ अर्ब २३ करोड ५ लाख | ४३.५२ |
गृह | ११ अर्ब ३२ करोड ७८ लाख | ५ अर्ब ३१ करोड ९६ लाख | ४६.९६ |
भौतिक पूर्वाधार तथा यातायात | १ खर्ब ५८ अर्ब ४५ करोड | ७६ अर्ब ३ करोड ७९ लाख | ४७.९९ |
स्वास्थ्य तथा जनसंख्या | १८ अर्ब ६३ करोड ९४ लाख | ९ अर्ब ७९ करोड ६४ लाख | ५२.५६ |
वन तथा वातावरण | ४ अर्ब ८६ करोड | २ अर्ब ५९ करोड ५८ लाख | ५३.४० |
कानुन, न्याय तथा संसदीय मामिला | २ करोड २५ लाख | १ करोड २९ लाख | ५७.२१ |
रक्षा | ८ अर्ब २१ करोड ५८ लाख | ५ अर्ब ७ करोड ६८ लाख | ६१.७९ |
ऊर्जा, जलस्रोत तथा सिँचाइ | ३७ अर्ब ४५ करोड ९५ लाख | २३ अर्ब ६३ करोड ३५ लाख | ६५.७६ |
संघीय मामिला तथा सामान्य प्रशासन | ७३ करोड ३८ लाख | ६६ करोड ६७ लाख | ९०.८६ |