कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिनाकै ३ अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?

काठमाडौँ — ९ महिनाअघि भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नेपाल आयल निगमले तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गए पनि सोअनुसार नेपालमा मूल्य समायोजन नगरी, उपभोक्तालाई मूल्यमा भार पारेर नाफा कमाउँदै गएको निगमले अन्ततः ९ महिनामै आईओसीको सबै बक्यौता चुक्ता गरेको छ ।

महिनाकै ३ अर्ब नाफा असुल्ने निगमले कहिले घटाउँछ इन्धनको मूल्य ?

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ, मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमा समेत निगम प्रतिसिलिण्डर ७ रुपैयाँ नाफामा छ ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार सबै इन्धनबाट गरी आगामी पाक्षिक अवधिमा १ अर्ब ६० करोड नाफा हुनेछ । अर्थात् १ महिनामा निगमको नाफा ३ अर्बभन्दा बढी हुनेछ । ‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं’ उनले भने ।

यसअघि आईओसीको ‘बक्यौता’लाई कारण देखाउँदै नेपालमा मूल्य नघटाएको निगमले अब कहिले घटाउँछ मूल्य ? इन्धन बेच्न एकाधिकार पाएको सरकारी स्वामित्वको यो कम्पनीले इन्धनको मूल्य समायोजन गरी उपभोक्तालाई ठूलो राहत दिन सक्छ । इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँसम्म निगम व्यवस्थापनले नै घटाउने वा बढाउने निर्णय गर्न सक्छ तर सोभन्दा माथि घटबढ गर्नुपर्ने अवस्थामा सञ्चालक समितिले नै निर्णय गर्नुपर्छ । निगमले मूल्य घटाउने गृहकार्य गरेको प्रवक्ता ठाकुरले जानकारी दिए । सञ्चालक समिति स्रोतका अनुसार आजभोलि नै मूल्य घटाउनेगरी बैठक बस्ने तयारी छ ।

निगमले नेपाल सरकारबाट लिएको ऋण रकम पनि किस्ताबन्दीमा चुक्ता गर्दै आएको छ । सरकारलाई तिर्नुपर्ने निगमको ऋण रकम हाल ६ अर्ब ३० करोड रुपैयाँ रहेको ठाकुरले जानकारी दिए । ‘सरकारको ऋण रकम किस्ता किस्तामा भुक्तानी गर्दै आएका छौं’ उनले भने ‘५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएका थियौं, सो अनुसार नै तिर्दै जानेछौं ।’


प्रकाशित : असार १८, २०८० १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?