कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बिहेको सिजनमा सुन अभाव

प्रतिदिन माग ५० किलो, आयात १० किलो मात्रै

गहना व्यवसायी भन्छन्– ‘काँचो सुन नहुँदा गहनाको अर्डर लिन सकेनौं, ग्राहक फर्काउनुपरेको छ, राष्ट्र बैंकले वैकल्पिक व्यवस्था गरिदिनुपर्‍यो ’
राजु चौधरी, सीमा तामाङ

काठमाडौँ — दसैं–तिहारलगत्तै प्रायः वर्षमा सुनका गरगहना देखाउन व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो । तर यस पटक त्यति धेरै चहलपहल छैन । ग्राहक नआएका पनि होइनन् । बरु व्यवसायी पछिल्लो एक सातायता पसल कुर्नेभन्दा पनि नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यालयमा धाउन व्यस्त छन् ।

प्रतिदिन माग ५० किलो, आयात १० किलो मात्रै

उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघका कार्यालयमा दिनहुँ धाइरहन्छन् । कारण हो, सुन अभाव । बिहेको सिजन सुरु भएसँगै सुनको प्रतिदिन माग ५० किलो छ । तर राष्ट्र बैंकले आयात गर्न पाउने कोटा १० किलो मात्रै तोकिदिएको छ । जसले गर्दा बजारमा चरम अभाव देखिएको व्यवसायी बताउँछन् । ‘मुलुकभर सुन अभाव छ । उपत्यकासँगै रूपन्देही, चितवन, इटहरीलगायतका व्यवसायी महासंघमा सधैं डेलिगेसन आइरहेका छन्,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘व्यवसायीको माग सुनको कोटा बढाइदिनुपर्‍यो भन्ने नै हो । तर सरकारले सुन्दैन ।’

अभावकै कारण पर्याप्त अर्डरसमेत लिन नसकिएको महासंघको दाबी छ । व्यवसायीका अनुसार कोभिडलगायतका कारण गत वर्ष चहलपहल कम थियो । गहनाको माग कमै थियो । त्यति बेला राष्ट्र बैंकले दैनिक कोटा २५ किलो तोकेको थियो । ‘कोभिडपछि चहलपहल बढ्दो क्रममा छ, सर्वसाधारण धुमाधामसाथ बिहे गर्ने तयारीमा छन्,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘जसले गर्दा सुनको माग बढ्दो छ । विडम्बना, अर्डर लिन नसकेर ग्राहक फर्काउनुपर्ने बाध्यता छ ।’

कतिपय व्यवसायीले भने ग्राहकअनुसार व्यवहार गर्ने गरेका छन् । चिनेकालाई दिन्छन्, नचिनेकालाई छैन भन्छन् । ‘बिहेकै लागि चुरा, सिक्री, औंठी, नेकलेस, तिलहरीसहित १०/१२ तोला चाहिन्छ । तर बजारमा सुन छैन,’ काठमाडौंको न्युरोडस्थित तेजमिन ज्वेलर्सका सञ्चालकसमेत रहेका पूर्वअध्यक्ष शाक्यले भने, ‘रेडिमेड गहनाका लागि पसलमा सर्वसाधारणको भीड देखिए पनि नयाँ गहनाको अर्डर लिन सकेका छैनौं ।’

असोज, कात्तिक र मंसिर सुनचाँदी कारोबारका लागि मुख्य सिजन मानिन्छ । यी तीन महिनामा दसैं, तिहार, छठजस्ता पर्व पर्ने र बिहेको सिजनसमेत सुरु हुने भएकाले गहनाको अर्डर आउने मुख्य सिजन मानिन्छ । तर यही बेला सुन अभाव भएको जेजे ज्वेलर्सका सञ्चालक पवनकुमार सोमानीले बताए । गत वर्षकै हाराहारीमा कोटा निर्धारण भए व्यवसायी, सरकार र उपभोक्तालाई केही राहत मिल्ने उनको भनाइ छ । ‘मागअनुसार कोटा नदिए पनि गत वर्षकै हाराहारीमा कोटा थपिदिए व्यवस्थापन गर्न केही सहज हुन्थ्यो,’ सोमानीले भने, ‘अहिले त डाँमाडोल छ । उपभोक्ताबाट फिर्ता आएको पुराना गहनाबाट मात्रै काम चलाउनुपरेको छ ।’

बजारमा सुन अभाव भएपछि देशभरका सुनचाँदी व्यवसायीले महासंघको ध्यानाकर्षण गराएका छन् । महासंघका प्रतिनिधिले पनि सरकारी निकायका अधिकारीसँग भेटी ज्ञापनपत्र बुझाइरहेका छन् । तर विदेशी विनिमय सञ्चितिमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति बढाउन चाहेको छैन । ‘जिल्लाका साथीहरू पकटपटक डेलिगेसन आइरहेका छन् । महासंघका तर्फबाट पनि पहल गरिरहेका छौं,’ महासंघका उपाध्यक्षसमेत रहेका सोमानीले भने, ‘सरकारबाट आश्वासन पाए पनि कोटा बढेको छैन । राष्ट्र बैंकले मुद्रा सञ्चितिको अवस्था देखाउँदै कोटा बढाइदिएको छैन ।’ नेपालमा विशेष गरी दुबई, स्विट्जरल्यान्ड, टर्की, अस्ट्रेलियालगायत मुलुकबाट सुन आयात हुन्छ । वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्था छ । केही वर्षयता सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कार्यविधि बनाएर कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ । सिजनका बेला आयात कोटा बढाउने चलन भए पनि यस वर्ष मुद्रा सञ्चिति अवस्था देखाउँदै आयात कोटा बढाइएको छैन । जानकारका अनुसार चाडपर्वका हिसाबले दैनिक ५ किलो कोटा थप्दा ५ लाख डलरभन्दा बढी बिदेसिने देखिन्छ, जसले गर्दा सरकार र राष्ट्र बैंकले कोटा बढाउन चासो नदिएका हुन् ।

पूर्वअध्यक्ष शाक्य भने वाणिज्य बैंकले समयमै सुन नल्याउँदा थप समस्या भएको दाबी गर्छन् । ‘एक त बजारमा सुन अभाव छ । तिहारको एक साता वाणिज्य बैंकले सुन नै आयात गरिदिएनन् । निर्देशन नै ढिला ल्याऊ भनेर पनि हुन सक्छ,’ उनले भने । न्युरोड क्षेत्रमा रेडिमेट गहना किन्न भीड देखिए पनि अर्डरको समस्या भएको उनले बताए । शाक्यको भनाइजस्तै शुक्रबार न्युरोड क्षेत्रका गहना पसलमा भीडभाड नै थियो । सुन पसलेहरू तयारी गहना देखाउनमा व्यस्त देखिन्थे । समृद्धि ज्वेलर्सकी कर्मचारी बबिता बस्नेत पसलमा आएका उपभोक्तालाई तयारी गहना देखाउन व्यस्त थिइन् । सुन बेच्नेभन्दा किन्ने ग्राहक धेरै आइरहेको उनले बताइन् । गहना पसलमै भेटिएकी काभ्रेकी एलिसा सत्याल अर्डर गरेको गहना लिन न्युरोड आएको बताइन् । उनले मंसिरका लागि कात्तिकमै सुनको अर्डर गरेकी थिइन् । ‘लगनमा हतारहतार र भीडभाड पनि उत्तिकै हुन्छ, त्यही भएर कात्तिकमै अर्डर दिएकी थिएँ,’ उनले भनिन् । बाजुराकी कविता रावल पनि अर्डर गरेको सुन लिन न्युरोड आएकी थिइन् । ‘लगन मंसिर दोस्रो साता छ, नयाँ डिजाइन अनुसार सुन बनाउन केही दिन लााग्छ,’ उनले भनिन्, ‘दसैंअगावै अर्डर दिएकी थिएँ । अब गाउँ जाने तयारीमा छु ।’

सुन पसलले बेवास्ता गरेको भन्दै साँखुकी कमला श्रेष्ठ निराश थिइन् । बिहेका लागि तयारी गहना हेर्न न्युरोड आएकी श्रेष्ठले पसलमा गहनासमेत राम्रोसँग नदेखाएको गुनासो गरिन् । जय माता दी गोल्ड प्यालेसकी सुमित्रा बोहराले काँचो सुनबाहेक अन्य गरगहना बनाउन भने सुन रहेको बताइन् । ‘हामी काँचो सुन बेच्दैनौं । अरू गहना अर्डर ५ देखि ७ दिनभित्र तयार गर्छौं,’ उनले भनिन् ।

अभाव भएपछि तस्करीको केही सुन बजारमा देखिएको छ । यस्तो सुन विशेषगरी भारतबाट आउने पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । गत वर्षको तुलनामा अहिले विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा कमी आए पनि अपेक्षाकृत सुधार हुन नसकेकाले आयात घटाउन यसअघि गरिएको सुन आयात कोटा घटाउनेलगायत नीतिगत व्यवस्था कायमै राखिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जनाए ।

प्रकाशित : कार्तिक २९, २०७९ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?