कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ब्रोकरले लगानीकर्तालाई सेयर खरिद कर्जा दिन सकेनन्

आधारभूत पूर्वाधार पनि नभएको, ब्रोकरको माग सम्बोधन नभएकोलगायत कारण मार्जिन व्यवस्था कार्यान्वयनमा जटिलता
यज्ञ बञ्जाडे

काठमाडौँ — लगानीकर्तालाई मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधा दिन धितोपत्र ब्रोकरलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले निर्देशन दिए पनि कार्यान्वयन हुन सकेको छैन । उक्त व्यवस्था कार्यान्वयन नहुँदा लगानीकर्ताले ब्रोकरबाट सेयर खरिद कर्जा लिन पाएका छैनन् । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले सेयर कर्जामा कडाइ गरेको अवस्थामा ब्रोकरमार्फत पनि सेयर खरिद कर्जा पाइने भएपछि लगानीकर्तालाई केही राहत हुने अपेक्षा थियो । तर पछिल्लो पटक नेप्सेले निर्देशन जारी गरेको एक महिनासम्म पनि काम सुरु नहुँदा उक्त व्यवस्था कार्यान्वयनमै आशंका देखिएको हो ।

ब्रोकरले लगानीकर्तालाई सेयर खरिद कर्जा दिन सकेनन्

मार्जिन कारोबार सुरु गर्न निर्देशन जारी भए पनि नेप्सेले कारोबार प्रणालीमा गर्नैपर्ने सुधार नगर्दा काम सुरु गर्न नसकिएको ब्रोकरहरूको भनाइ छ । ‘मार्जिन कारोबार सुविधाका लागि लगानीकर्ताले ब्रोकर कार्यालयमा छुट्टै खाता (ग्राहक पहिचान –केवाईसी) खोल्नुपर्छ । अहिलेको सिस्टमले एक व्यक्तिले एउटै ब्रोकरमा दुईवटा खाता खोल्न मिल्दैन ।

यो समस्या समाधानका लागि नेप्सेलाई भनेका छौं । नेप्सेले पनि सिस्टम मर्मतसम्भार गर्ने कम्पनी वाइकोलाई निर्देशन दिएको भनिएको छ । तर अझै काम भएको छैन,’ स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले भने, ‘इन्ट्री प्वाइन्टमै समस्या आएकाले काम सुरु गर्न नसकिएको हो ।’ मार्जिन सुविधा दिएपछि धितोमा रहेको सेयर ब्रोकरको मातहतमा सुरक्षित हुनुपर्ने भए पनि अहिलेकै अवस्थामा त्यो पूर्णरूपमा नभएको पनि उनले बताए । नेप्सेले कारोबार प्रणालीमा सुधार गरेर उल्लिखित पक्षमा सुधार गरेपछि मार्जिन कारोबार सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

‘हाम्रो सुरुदेखिको मुख्य माग स्रोतको सुनिश्चितता हो । त्यो विषय अझै सम्बोधन भएको छैन,’ उनले भने, ‘संशोधित व्यवस्थाले लगानीकर्तालाई केही प्रोत्साहन त गर्ला । तर दीर्घकालमा फेरि स्रोतमै समस्या आउने देखिन्छ ।’ मार्जिन कारोबार निर्देशनमार्फत ल्याएको रकम लगानीकर्ताले १०/१० प्रतिशतको पोर्टफोलियो बनाउनुपर्ने सीमा सम्बोधन भएकाले केही सहज भएको उनले बताए । धितोपत्र ब्रोकरले लगानीकर्तालाई प्रदान गर्ने मार्जिन कारोबार (सेयर खरिद कर्जा) सुविधासम्बन्धी नीतिगत व्यवस्थामा संशोधन भए पनि नीतिगत र व्यावहारिक जटिलता कायमै रहेकाले सुरु हुन नसकेको जानकारहरूको भनाइ छ । ब्रोकरका स्रोतको सुनिश्चिततालगायत केही माग सम्बोधन नभएको, मार्जिन कारोबारका लागि आधारभूत पूर्वाधार पनि नभएकोलगायत कारण यो व्यवस्था अझै प्रभावकारी कार्यान्वयन हुन नसक्ने उनीहरूको दाबी छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत वैशाख १४ देखि मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन) २०७७ लागू गर्न निर्देशन दिएको छ । जब कि एक वर्षअघि २०७८ जेठ ११ मै उक्त कार्यविधि संशोधन भएको थियो । तर त्यसलाई नेप्सेले करिब एक वर्षपछि मात्र लागू गरेको थियो ।

‘मार्जिन कारोबार सुविधा लिएका र नलिएका लगानीकर्ताको कारोबारको विवरण ब्रोकरले छुट्टाछुट्टै राख्नुपर्छ । अहिलेको कारोबार प्रणालीले ती विषय छुट्याउन सक्दैन,’ अर्का एक ब्रोकरले भने, ‘कारोबार प्रणाली नै नभएको अवस्थामा मार्जिन सुविधा कार्यान्वयन गर्न सकिन्न ।’ नेप्सेले भौतिक रूपमा भए पनि नीति कार्यान्वयनका लागि आग्रह गरिरहेको उनले बताए । ‘ब्रोकरले मार्जिन कारोबार सुविधा दिएनन् भनेर आरोप लगाएर मात्र पनि भएन । बजारमा त्यसको माग छ, छैन भनेर हेर्नुपर्‍यो,’ उनले थपे, ‘साँच्चै भन्दा अहिले लगानीकर्ताले मार्जिन सुविधा चाहेकै छैनन् । ब्रोकरले दिने कर्जाको ब्याज बैंकको भन्दा महँगो हुन्छ । घटिरहेको बजारमा महँगो ब्याजदरमा लगानीकर्ताले कर्जा लिन चाहँदैनन् ।’

ब्रोकरले भनेअनुसार कारोबार प्रणालीमा सुधार गर्न लागिएको नेप्सेले जनाएको छ । तीन/चार वर्षअघि कार्यविधि बने पनि कार्यान्वयन हुन नसकिरहेको अवस्था रहेकाले कमसे कम सुरुवात होस् भन्ने उद्देश्यले ब्रोकरहरूलाई निर्देशन दिइएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले बताए ।

‘अहिलेलाई म्यानुअल भए पनि काम सुरु गर्ने र बिस्तारै सिस्टमलाई पनि सोहीअनुसार सुधार गर्ने सहमति ब्रोकरहरूसँग भएको हो,’ उनले भने, ‘२/४ वटा ब्रोकरले काम सुरु गर्छौं भनेकाले पनि उक्त निर्देशन जारी भएको हो । सहमतिअनुसार ब्रोकरले काम सुरु गर्दै होलान् ।’ काम सुरु भएपछि कार्यान्वयनका क्रममा आउने समस्या क्रमिक रूपमा सुधार गरिँदै लैजाने उनले बताए ।

पछिल्लो समयमा नेप्सेले ब्रोकरहरूले आफैं आफ्नो कारोबार प्रणाली बनाउनुपर्ने निर्देशन जारी गरेको छ । त्यसमा मार्जिन कारोबारसम्बन्धी विशेषता पनि जडान गर्न सकिने भएकाले निकट भविष्यमा नियमित रूपमा मार्जिन कारोबार पनि निरन्तर अघि बढ्ने जानकारहरूको दाबी छ ।

मार्जिन कारोबारसम्बन्धी कार्यविधिमा अब ब्रोकरले सेयर धितो राखेर लगानीकर्तालाई ७० प्रतिशतसम्म कर्जा दिन सक्छन् । यसअघि ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था थियो । लगानीकर्ताले धितोका रूपमा राख्ने सेयर मूल्यांकन गर्दा १ सय २० दिनको औसत कारोबार मूल्य वा बजारमा कायम अन्तिम मूल्यमध्ये जुन कम छ, त्यसका आधारमा कर्जा दिन पाउने भएका छन् । यसअघि एक सय ८० दिनको औसत मूल्य राखिएको थियो ।

मार्जिन सुविधामार्फत लिएको कर्जा रकमबाट सेयर किन्दा एउटा कम्पनीमा बढीमा १० प्रतिशतसम्म मात्र लगानी गर्नुपर्ने सीमा हटेको छ । अब लगानीकर्ताले मार्जिन कर्जाबापतको रकम एकमुष्ट रूपमा एउटै कम्पनीमा वा बढीमा लगानी गर्ने भन्ने छुट पाएका छन् । लगानीकर्ताले पाउने रकमबाट एकभन्दा बढी कम्पनीमै लगानी गर्न ब्रोकरहरूले प्रोत्साहन गर्नुपर्ने व्यवस्था संशोधित कार्यविधिमा छ ।

नयाँ व्यवस्थाअनुसार अब मार्जिन कारोबार सुविधाका लागि सम्भार मार्जिन (मेन्टिनेन्स मार्जिन) २० प्रतिशत हुनेछ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशतभन्दा कम हुन आए सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ । मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबारयोग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नुपर्नेछ ।

धितोपत्र ब्रोकरबाट ऋण लिएर लगानीकर्ताले सेयरमा लगानी गर्न सकून् भन्ने उद्देश्यले नियामक निकाय धितोपत्र बोर्डले ०७५ जेठमा यससम्बन्धी कार्यविधि जारी गरेको थियो । ‘मार्जिन कारोबार सुविधा कार्यविधि, २०७४’ नाम दिइएको उक्त कार्यविधि जारी भएको पनि ३ वर्षभन्दा बढी भइसकेको छ । अन्य राष्ट्रमा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई सेयर खरिद कर्जा दिने व्यवस्था छैन । लगानीकर्ताले ब्रोकरमार्फत यस्तो कर्जा लिन पाउँछन् । तर नेपालमा भने लगानीकर्ताले सीधै बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिद कर्जा लिन पाउँछन् । यही कारण पनि मार्जिन कारोबारमा कम आकर्षण देखिएको जानकारहरू बताउँछन् ।

...

सेयर बजारको अपत्यारिलो छलाङ

सेयर बजारले आइतबार अपत्यारिलो छलाङ मार्‍यो । बजारको परिसूचक नेप्से एकै दिन ९४.९ अंक अर्थात् ५.१ प्रतिशत बढेर १९५६ अंकमा पुग्यो । सरदर दैनिक १ अर्ब रुपैयाँको कारोबार हुने गरेकामा आइतबार २ अर्ब १९ करोड पुग्यो । सबै कम्पनी र सबै उपसमूहका सूचक बढे । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बिमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बिमा ३६२, अन्य ९६ र व्यापार उपसमूह १२१ अंक बढे । झन्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । तर यो वृद्धिदर टिक्ने आधार भने कमजोर देखिन्छन् ।

एकातिर कर चुक्ता गर्नुपर्ने महिना र अर्कोतिर सेयर धितोमा लिएको बढी ऋणलाई असार मसान्तसम्म ४–१२ करोडको सीमाभित्र ल्याउनुपर्ने बाध्यात्मक अवस्था छ । त्यस्तै बजारलाई प्रतिकूल प्रभाव पार्ने ब्याजदर, तरलता संकट जस्ता समस्या पनि उस्तै छन् । यावत् समस्याका बाबजुद बजारको बृद्धिलाई अपत्यारिलो ठानिएको छ । यसअघि पनि पटकपटक बढेका बजार टिक्न सकेनन् । क्षणिक बृद्धिदर टिक्न नसकेकै कारण बिहीबार (असार ९ गते) परिसूचक १८४८ अंकसम्म झरेको थियो । त्यही अंकलाई न्यूनतम बिन्दु (बटम प्वाइन्ट) बनाएर नेप्से माथि जान सकेमा लगानीकर्तालाई केही राहत पुग्नेछ ।

उच्च बिन्दुबाट बजार धेरै नै घटिसकेको छ । ०७८ भदौ २ मा नेप्से परिसूचकले ३१९८ को उच्च रेकर्ड बनाएको थियो । भदौ ३ मा कारोबार भइहँदा ३२ सय अंक नाघेर बजार ओर्लिन थालेको हो । उच्चतम अंकलाई आइतबारसँग तुलना गर्दा ३८ प्रतिशत नेप्से घटिसकेको छ । यस अवधिमा बजारको पुँजीकरण ४४ खर्ब ६८ अर्बबाट २७ खर्ब ९० अर्बमा झरेको छ ।

प्रकाशित : असार १३, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?