कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुटवलमा ३७ करोड लागतमा ढुवानी ग्राम बनाइँदै

बजार क्षेत्र र सडकआसपासको व्यवसाय एकै ठाउँमा केन्द्रित
अमृता अनमोल

बुटवल — व्यापारिक केन्द्र बुटवलबाट बाहिरिने र बुटवल आउने ढुवानीका सामान धेरै हुन्छन् । बजार क्षेत्र र सडकमा छरिएर रहेका ढुवानीका साधन र व्यवसायलाई व्यवस्थित बनाउन यहाँ ढुवानी ग्राम निर्माण थालिएको हो । बुटवल उपमहानगरपालिकाले गुरुयोजना बनाएर गत वर्षदेखि बुटवल–१२ नयाँगाउँमा ग्राम निर्माण थालेको हो । जहाँ बुटवलबाट ढुवानी गर्ने र ढुवानी भएर आएका सामान एवं यातायात साधन राखिनेछ ।

बुटवलमा ३७ करोड लागतमा ढुवानी ग्राम बनाइँदै

३७ करोड रुपैयाँ लागतमा निर्माण थालिएको ढुवानी ग्राम २ बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको छ । यसमा व्यवसायका लागि ४९ वटा सेड निर्माणाधीन छन् । एउटा सेड १ हजार ५ सय ५० वर्गफुट क्षेत्रफलका बनाइएका छन् । गाडी राख्न पार्किङ स्थल, मर्मतसम्भारका लागि टायर मर्मत केन्द्र, चालक बस्ने र खाने सुविधासहितको लज, स्वास्थ्य सुरक्षाका लागि नर्ससहितको प्राथमिक उपचार केन्द्र र शान्ति सुरक्षाका लागि प्रहरी बिटलगायत निर्माण थालिएको छ ।

तारबार, पानी, विद्युतीकरणलगायत अहिलेसम्म करिब ७० प्रतिशत काम भएको छ । वैशाखसम्ममा निर्माणका सबै काम सकेर ग्राम सुरु गर्ने उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए । ‘ढुवानी ग्राम सञ्चालनपछि देशका विभिन्न स्थानबाट बुटवल आउने खुद्रा टान्सफोर्टका सामान ग्राममा आउनेछन् । बाहिर जाने खुद्रा टान्सपोर्टका सामान पनि यहीँबाट जानेछन्,’ उनले भने, ‘यसले बजारमा हुने ढुवानीका साधन र व्यवसायको भीड रोकिनेछ ।’ ढुवानी ग्राममा सेड निर्माण र सञ्चालनको जिम्मा रूपन्देही परिवहन प्रालिले लिएको छ । यसका लागि सार्वजनिक निजी साझेदारी मोडलमा उपमहानगरपालिका र प्रालिबीच गत वर्ष पुसमा सम्झौता भएको थियो । आउँदो माघ मसान्तसम्म तोकिएका सेड निर्माण गर्ने सम्झौता छ । अहिलेसम्म २२ वटा सेड निर्माण सकिएको र अन्य बनाउने प्रक्रियामा रहेको प्रालिका व्यवस्थापक रामप्रसाद गैरेले जानकारी दिए । ‘डेढ महिनाभित्र सेड निर्माणको सबै काम सकिनेछ,’ उनले भने ।

सेड निर्माणका लागि प्रालिले १३ करोड रुपैयाँ लगाएको छ । माघ मसान्तसम्म निर्माणको म्याद पाएको कम्पनीले कोरोना संक्रमणका बीच पनि धमाधम काम अगाडि बढाएको उनले बताए । उपमहानगरले ढुवानी ग्राम सुरक्षाका लागि पर्खाल लगाउने काम गरिरहेको छ । एसियाटिक इन्जिनियर्स एन्ड बिल्डर्स प्रालिले बिजुली र खानेपानी, नुहाउने सुविधासहितका शौचालयलगायत संरचना निर्माण गरिरहेको उपमहानगरका इन्जिनियर रुक्मागद बस्यालको भनाइ छ । यसलगत्तै चालक बस्ने र खाने सुविधासहितको लज, स्वास्थ्य सुरक्षाका लागि नर्ससहितको प्राथमिक उपचार केन्द्र र शान्ति सुरक्षाका लागि प्रहरी बिट, सुरक्षा गार्ड भवनलगायत निर्माण गर्ने उनले बताए । ढुवानी ग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली खन्न थालेको छ । एक लेनको सडकलाई दुई लेनको बनाउने र खाल्डाखुल्डी पुरेर ग्राभेल गर्ने इन्जिनियर बस्यालको भनाइ छ ।

रूपन्देही परिवहन प्रालिले ढुवानी पार्क सञ्चालनपछि प्रतिसेडको मासिक बहाल प्रतिवर्गफुट दुई रुपैयाँका दरले ३ हजार १ सय रुपैयाँ बुझाउनुपर्नेछ । बहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुनेछ । १५ वर्षपछि उक्त ढुवानी ग्राम उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता छ ।

प्रकाशित : पुस १५, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?